नेकपा स्थापना दिवस : यस्तो छ एकता र विभाजनको शृङ्खला


९ बैशाख २०८३, बुधबार ०९:५१ मा प्रकाशित

बैशाख ९, काठमाडौं ।। टुटफुटबाट गुज्रिंदै आएका नेपालका कम्युनिष्ट पार्टीहरुले स्थापना दिवस मनाउँदै छन् । ७७ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेताहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ । यद्यपि यो पार्टी स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझीलगायत नेताहरु पनि जोडिएका थिए ।

नेपालमा जहानियाँ राणाशासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले सामन्तवाद, दलाल–नोकरशाही पूँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो ।

कम्युनिष्ट पार्टीका दोस्रो महासचिव मनमोहन अधिकारी बने भने तेस्रो महासचिव तुलसीलाल अमात्य । यसबीचमा कांग्रेस नेतृत्वमा रहेको सरकारले २०११ सालमा नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध समेत लगाएको थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिष्ट पार्टीले चार सिट जितेको थियो ।

तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर पञ्चायती व्यवस्था लागू गरेपछि नेपाल कम्युनिष्ट पार्टी पुन: प्रतिबन्धित भयो । त्यसक्रममा केशरजंग रायमाझी पक्षले पञ्चायती व्यवस्थाको समर्थन गरेपछि कम्युनिष्ट पार्टी विभाजन भयो ।

विभाजनका बीच झापामा तत्कालीन झापाली क्रान्तिकारीले ‘वर्गशत्रु सफाया’ अभियान चलाउँदै झापा क्रान्तिमार्फत नेकपा माले र हालको एमालेको रुप लिए । पुष्पलाल, मनमोहनहरुको समूह अन्तत: एमालेको धारमा २०४७ पछि एकीकृत भयो ।

मोहनविक्रम सिंह, निर्मल लामाहरुले नेतृत्व गरेका विभिन्न समूह नेकपा चौम, नेकपा मोटो मशाल, नेकपा पातलो मसाल, नेकपा एकताकेन्द्र हुँदै हालको माओवादी धार बन्यो । यद्यपि मोहनविक्रम सिंह भने अहिले पनि पातलो मसालको नेतृत्व गरिरहेका छन् ।

नेपालका कम्युनिष्ट पार्टीका संस्थापक नेताहरु

२०१५ सालमा चार सिट जितेर अस्तित्वमा आएको नेपाल कम्युनिष्ट पार्टी पञ्चायतकालमा विभिन्न चिरामा विभाजित भएको थियो । २०४६ सालको जनआन्दोलनपछि तत्कालीन माले र मार्क्सवादी मिलेर बनेको एमाले संसदमा ६९ सिटसहित सशक्त प्रतिपक्ष बनेको थियो भने तत्कालीन जनमोर्चा र हालको माओवादी ९ सिटसहित तेस्रो दल बन्यो ।

२०५२ सालमा माओवादीले जनयुद्ध शुरु गरेपछि उसले संसदीय राजनीति परित्याग गर्यो । माओवादीले २०५१ सालमा आम निर्वाचन बहिष्कार गर्दा एमाले ८८ सिटसहित पहिलो पार्टी बनेर दक्षिण एशियामै पहिलो कम्युनिष्ट एकल सरकार गठन गरेको थियो ।

२०५४ सालमा एमाले विभाजित भएपछि २०५६ सालको आमनिर्वाचनमा ७० सिटसहित एमाले पुन: दोस्रो दल बन्यो । ऐतिहासिक जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी प्रत्यक्षतर्फ बहुमतसहित सबैभन्दा ठूलो दल बन्यो ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो दल बने । यसबीचमा नेपाल कम्युनिष्ट पार्टीबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओली प्रधानमन्त्री बने ।

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर लडेका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीले करीब दुई तिहाइ बहुमत सिट जित्न सफल भए । यो नेपाल कम्युनिष्ट पार्टी स्थापनाको करीब ७० वर्षकै इतिहासमै सबैभन्दा ठूलो सफलता थियो ।

चुनावी गठबन्धनपछि २०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो । नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले यी दुई पार्टीबीचको एकता बदर गरिदिएपछि अहिले एमाले र माओवादी पुरानै अवस्थामा फर्किए । त्यतिबेला सरकारको नेतृत्व गर्दै आएको नेकपा एमाले पनि विभाजित भयो ।

एमालेबाट अलग भएर माधव कुमार नेपालले आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गरे । उनले आफूसहित २८ जना केन्द्रीय सदस्यहरुलाई समेटेर २०७८ साल भदौ २ गते निर्वाचन आयोगमा एकीकृत समाजवादी पार्टी दर्ता गराए ।

गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि नेपालको राजनीतिमा आएको उल्लेख्य परिवर्तनसँगै नेपालका कम्युनिष्ट पार्टीहरुमा एकता र ध्रुवीकरण देखापर्‍यो ।

२०८२ कात्तिक १९ गते प्रचण्ड नेतृत्वको नेकपा माओवादी र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसहित १० कम्युनिष्ट घटक एकताबद्ध भएर ‘नेपाली कम्युनिष्ट पार्टी’ घोषणा गरे । पार्टीको संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल भए । पछि यस पार्टीमा करिब एक दर्जन साना समूहहरु मिसिए ।

तर २१ फागुनको प्रतिनिधि सभा निर्वाचनमा नयाँ दल रास्वपा एक्लैले १८२ सिट जित्यो । नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ गरी १७ सिट मात्र जित्यो । नेकपा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ सिट मात्र जित्यो ।

निर्वाचन लगत्तै गठन भएको बालेन नेतृत्वको नयाँ सरकारले जेनजी आन्दोलनमा दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै पक्राउ गर्यो । अहिले प्रचण्डसहितका शीर्ष नेताहरु सम्पत्ति शुद्धीकरण लगायतका अनुसन्धानको राडारमा छन् ।

चुनावमा खस्किँदो परिणाम र शीर्ष नेताहरु विवादित काण्डका कारण कम्युनिष्ट पार्टीहरु अस्तित्व रक्षाको चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् ।

त्यसैले कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले नेपालको समग्र कम्युनिष्ट आन्दोलन नै पुनर्गठन आवश्यक रहेकोमा जोड दिएका छन् र त्यसका लागि आह्वान समेत गरेका छन् ।

आन्तरिक विवादले कम्युनिष्ट पार्टीहरु टुक्राटुक्रामा विभाजित हुँदा र एकताका प्रयासले परिणाम नदिँदा नेता–कार्यकर्ताहरु निराश छन् । अर्कोतर्फ नेताहरुमा कम्युनिष्ट आचरण र व्यवहार नहुँदा आम जनमानसमा उनीहरुप्रति वितृष्णा बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here