नेकपा(माओवादी केन्द्र) बैठक : नलेखिएको प्रतिवेदन पेश गर्दै प्रचण्डले सुनाए आफ्नै कथाव्यथा


१८ श्रावण २०८०, बिहीबार ०९:०७ मा प्रकाशित

१७ साउन, काठमाडौं । कम्युनिस्टहरु लामा बैठक गर्छन् । उनीहरुसँग राजनीतिक, सांगठनिक प्रतिवेदन हुने गर्छ । सम्पूर्ण वाद विवाद तिनै प्रतिवेदनको वरिपरि घुमिरहन्छ । तर डेढ वर्षपछि केन्द्रीय समिति बस्दा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुनै राजनीतिक प्रतिवेदन थिएन । केवल निर्माणाधीन दस्तावेजको काँचो मस्यौदा थियो । अनि थिए, आफ्नै कथाव्यथाहरु । जस्तो कि, प्रचण्ड विगतका बैठकमा जस्तै आज बुधबार पनि भनिरहेथे, ‘कि पार्टी बनाउँ, नत्र विघटन गरौं ।’

Advertisement

माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको डेढ वर्षपछि राजधानीमा यो बैठक बसेको हो । प्रचण्डले पार्टी अहिले पनि पुनर्निर्माण र विघटनको दोसाँधमा रहेको बताए । उनले नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सहभागी करिब आठ सयजना केन्द्रीयस्तरका नेताहरूलाई फकाए, नरम भाषामा थर्काए, अनि पछिल्लो अवस्थाबारे बुझाउन खोजे ।

बैठक हलमा प्रचण्डले बोकेको प्रतिवेदनको मस्यौदा र आफ्नो हातमा भएको स्टेसनरी ब्यागले धेरैलाई उद्वेलित बनायो । तर पनि प्रचण्डले आफ्नो नलेखिएको प्रतिवेदन मौखिक रूपमा पेस गर्नुपूर्व बैठक हललाई सम्झाउने प्रयास गरे ।

‘यसलाई मेरो प्रतिवेदन भन्ने भन्दा पनि सिंगो पदाधिकारीको प्रस्तावका रूपमा म यहाँहरू समक्ष पेस गर्न गइरहेको छु,’ प्रतिवेदन पेस गर्न हातमा टिपोट बोकेका प्रचण्डले बैठक हलमा भने, ‘यसलाई आज प्राविधिक कारण तपाईंहरू सबैको हातमा पुर्‍याउन सकिएको छैन, भोलिसम्म आइपुग्ने छ । हामी वितरण गर्छौं, तर विषयवस्तु सबै मैले अहिले यहाँ राख्न गइरहेको छु ।’

उपस्थित केन्द्रीय सदस्यहरुको हातमा पार्टीले बैठकका लागि उपलब्ध गराएको स्टेसनरी ब्याग र त्यसभित्र आठौं महाधिवेशनले पारित गरेको दस्तावेजसँगै एउटा डायरी राखिएको थियो । यत्तिको भरमा उनीहरु पार्टी बैठकमा डटे ।

बुधबारदेखि काठमाडौंको प्रज्ञा भवनमा सुरु पार्टी केन्द्रीय समिति बैठकमा सहभागी धेरैलाई लागेको थियो, पदाधिकारी सहितको संलग्नतामा लेखिएका राजनीतिक र सांगठनिक प्रतिवेदन अक्षरश: पढ्न पाइने छ र त्यहीअनुसार छलफलमा भाग लिइनेछ ।

माओवादी पंक्तिभित्र यतिबेला पछिल्लो आम निर्वाचनको परिणाम, ओरालो लाग्दै गइरहेको पार्टी संगठन, त्यसको प्रभाव र नयाँ उदायका शक्तिले लिएको पार्टीको स्थानलाई लिएर चिन्ता बढ्दो क्रममा छ । अध्यक्षको निर्देशनविना सिन्को पनि नभाच्ने मानसिकता बोकेको पार्टी वृत्तले उत्पन्न संकटको मोचन गर्ने उपाय पनि उनै प्रचण्डले गर्नेछन् भनेर भर पर्नु अस्वाभाविक पनि थिएन ।

महत्वपूर्ण भनिएको यसपटकको केन्द्रीय समिति बैठकमा राजनीतिक र सांगठिनक प्रतिवेदन पनि लिखित रूपमा आउन सकेन । यसलाई अध्यक्ष प्रचण्डको आफूले नभ्याउने र अरूलाई गर्ने अविश्वास कारण रहेको अधिकांश नेताहरूको बुझाइ छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आफ्नो कार्यव्यस्ततालाई मध्यनजर गर्दै साउन पहिलो साता आफू इटलीतर्फ प्रस्थान गर्नुपूर्व पार्टीका पदाधिकारीलाई बैठक बस्न निर्देशन दिए । प्रचण्डले निर्देशन दिएपछि कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १० साउनमा उपलब्ध पदाधिकारीको बैठक बस्यो ।

संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन इटली पुगेका प्रचण्ड १२ साउनमा स्वदेश फिर्ता भएको भोलिपल्टै र केन्द्रीय समितिको एक दिनअगाडि १५ साउनमा पनि पुनः पदाधिकारी बैठक दोहोर्‍याएरै बस्यो । यसरी पटकपटक पार्टी पदाधिकारीको बैठक बस्नुको एउटै उदेश्य थियो, बुधबारदेखि सुरु केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक तथा सांगठिन प्रतिवेदन र एजेन्डा तय गर्ने ।

तर बुधबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीले उपलब्ध गराएको लिखित टिपोटकै भरमा राजनीतिक र सांगठनिक प्रतिवेदनको सारलाई भाषण गरे । बैठकमा सहभागी केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न विभाग र आयोगका पदाधिकारी गरी करिब आठसय जनाले अध्यक्ष प्रचण्डको उक्त भाषणकै भरमा छलफल सुरु गरेका छन् ।

बैठक हलमा सहभागीलाई प्रचण्डले भाषण सुरु गर्नुपूर्व नै त्यसलाई आफ्नो प्रतिवेदन भन्दा पनि पदाधिकारीको प्रस्ताव भनेर अलमल्याए । जबकी करिब एक दर्जन पदाधिकारीले लामो समयदेखि छलफल गरेर तयार पारेको प्रतिवेदन साँच्चिकै पार्टी रुपान्तरणको नयाँ दस्तावेज हुने अपेक्षा धेरैलाई थियो । यसअघि महाधिवेशन र बैठकका प्रतिवेदन मात्रै होइन, निर्वाचनका घोषणापत्र समेत आफैं लेख्ने प्रचण्डले यसपटक पदाधिकारीलाई समेत सहभागी गराएका थिए ।

राजनीतिक प्रतिवेदनका लागि उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटा तथा उपमहासचिव वर्षमान पुनले तयारी गरेका थिए । यस्तै सांगठनिक प्रतिवेदका लागि महासचिव देव गुरुङ र उपमहासचिव तथा पार्टी संगठन विभाग प्रमुख जनार्दन शर्माले तयारी गरेर केही दिनअघि नै प्रचण्डलाई बुझाइ सकेका थिए ।

बैठकको बेलासम्म पनि प्रतिवेदनलाई अन्तिम रूप दिन नसकेपछि प्रचण्डले बैठकलाई फकाएका छन्, ‘पार्टी तथा केन्द्रीय आयोग र विभागका पदाधिकारीले उठाउनु भएका धेरै प्रस्तावलाई समेटेर भोलिसम्म यसको अन्तिम रूप दिइनेछ ।’

 प्रचण्डको मौखिक प्रतिवेदनको सार

प्रस्तुत प्रतिवेदनमा सांगोपांगो पुरानै विषयलाई उठाइएको छ ।  पदाधिकारी बैठकले पार्टीका सबै कमिटीको संख्यालाई घटाउने र व्यवस्थित गर्ने भनिए पनि महाधिवेशनमा २९९ बाट सुरु भएर पछिल्लो समय ३८५ जना पुगेको केन्द्रीय समितिलाई ४०९ जना पुर्‍याउने प्रस्ताव अघि सारिएको छ । उक्त प्रस्ताव विधान संसोधनमार्फत बैठकले बुधबार नै पारित समेत गरिसकेको छ । कुल केन्द्रीय समिति सदस्यको ३५ प्रतिशत पुर्‍याउनका लागि २४ जना महिला सदस्य थप गर्ने प्रस्ताव गरिएको छ ।

सांगठनिक प्रतिवेदनमा उनले ७ लाख ५२ हजार ९५६ जना माओवादी कार्यकर्ता रहेको उल्लेख गरेका छन् ।

प्रतिवेदनअनुसार बागमतीमा १ लाख ४७ हजार ५५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, कर्णालीमा ८५ हजार ७७४, सुदूरपश्चिममा ८० हजार ४८२, सम्पर्क समितिहरूमा १९ हजार ३१२, उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना कार्यकर्ता रहेका छन् ।

यसलाई बढाउनका लािग पार्टीले ‘जनतासँग पार्टी अभियान’ तीन महिनासम्म सञ्चालन गर्ने प्रस्ताव अगाडि सारेको छ । जसअन्तर्गत वडालाई मूल आधार बनाएर ६,७४३ वटा कमिटी तयार गर्ने, अनुशासनसँग आयोगले सम्बन्धित उजुरीहरूको तत्काल छानबिन गर्ने र सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको १० प्रतिशत लाई संगठित गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

साथै, सबै कमिटीलाई डिजिटल बनाउने, जनमत बढाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने प्रस्ताव पनि बैठकमा आएको छ ।

जिम्मेवारी बाँडफाँट अव्यवस्थित भएको गुनासो बढिरहेको बेला पार्टी केन्द्रका सचिवले प्रदेशको र सबै केन्द्रीय सदस्यले वडाको जिम्मेवारी लिएर संगठन निर्माणमा लाग्ने प्रस्ताव बैठकमा गरिएको छ ।

साथै, विचार मिल्नेसँग पार्टी एकता र ध्रुविकरणको अभियानलाई अगाडि बढाउने, समाजवादी मोर्चाको कामलाई निर्देशनअनुसार कार्यन्वयनमा लैजाने विषय पनि प्रचण्डको मौखिक प्रतिवदेनमा छ ।

माओवादी सचिव चन्द्रपकाश खनाल बलदेव अध्यक्ष प्रचण्डको यो प्रस्तावलाई पार्टी पंक्तिलाई सक्रिय बनाउनका लागि आएको बताउँछन् । ‘अहिले दशैं र चाडपर्वको समय आएको हुँदा सबै नेता कार्यकर्तालाई संगठन विस्तारको अवसरका रूपमा लिएर सक्रिय गराउन सकिन्छ भन्ने उद्देश्य छ,’ सचिव खनाल भन्छन्, ‘हामीले मंसिरमा पार्टीको विधान महाधिवेशन गर्ने भनेका छौं । त्यसपछि विधानले नै सबै नेता कार्यकर्तालाई जिम्मेवार बनाउने र योजना कार्यान्वयनमा लिन्छ भन्ने हाम्रो विश्वास हो ।’

पार्टी उपमहासचिव वर्षमान पुनले प्रतिवेदनमा गरिएको प्रस्तावअनुसार पार्टीका सबै केन्द्रीय सदस्यहरू ६ हजार ७४३ वडामै पुग्ने बताए । उनले सरकारबाट भएका कामहरू देखाएर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन जनतामाझ जान लागेको बताए ।

‘अहिले जनताहरू निराश छन् । स्थापित दलहरूबाट हुँदैन, कसैले पनि गर्दैन, सबै उस्तै हुन् कि भन्ने खालको बनेको छ । तर अहिले सरकारले, नेतृत्वले केही काम गर्छ भन्ने संकेत देखिएका छन्’ उनले भने, ‘सकिन्छ, सम्भव छ, दलहरू सच्चिएर परीक्षणमा बस्न तयार छन्, माओवादी केन्द्र तयार छ भन्ने सन्देश लिएर जनताका आलोचना र सुझावहरू सुन्छौं ।’

यसका लागि बैठकमा, प्रशिक्षणमा, कार्यक्रममा पुग्ने गरी केन्द्रीय सदस्य परिचालन गर्ने र सबै तहका पार्टीका नेता कार्यकर्तालाई कार्यतालिका दिएरै सक्रिय गराउने उनको भनाइ छ ।

प्रचण्ड स्वयंले पनि बैठकलाई सम्बोधन गर्ने क्रममा माओवादी केन्द्र पार्टी जस्तै नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘हामीसँग नेता कार्यकर्ताको विशाल पङ्क्ति त छ, तर पार्टी चाहिं पार्टीजस्तो भइराखेको छैन,’ प्रचण्डले भने, ‘हामीले कम्युनिस्ट पार्टीको पुनर्निर्माणको अभियान यो बैठकबाट थाल्नु छ । मलाई विश्वास छ, केन्द्रीय समितिका सबैले गम्भीरताका साथ, जिम्मेवारीका साथ र अनुशासित रूपले रचनात्मक बहस, छलफल गरी पार्टी पुनर्निर्माणको अभियानको ऐतिहासिक थालनी गर्न सहयोग पुर्याउनुहुनेछ ।’

प्रचण्डको परोक्ष आलोचना

प्रचण्डले पेस गरेको मौखिक प्रतिवेदनमाथि सहभागीले बोल्ने क्रम बुधबारदेखि नै सुरु भएको छ । सबैलाई बोल्न दिने र बोल्ने हरेक एक जनालाई पाँच मिनेटको समय छुट्याएको हुँदा ढिलो गरी सुरु भएको बैठकमा पहिलो दिनै १८ जनाले धारणा राख्ने अवसर पाएका छन् । सहभागीमध्ये ७४ जनाले नाम टिपाएका थिए ।

बैठकको पहिलो दिन बोल्नेमध्ये केही असाध्यै आलोचनात्मक ढंगले प्रस्तुत भएका छन् भने केहीले प्रतिवेदनको प्रशंसा पनि गरेका छन् ।

प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले माओवादी रुपान्तरण हुनुभन्दा पहिला अध्यक्ष प्रचण्ड आफैं रुपान्तरण हुनुपर्ने र परिवारवादबाट बाहिर आउनुपर्ने बताए ।

‘अध्यक्ष आफैं रुपान्तरण नभई माओवादी पार्टी बन्दैन । अध्यक्ष र वरिष्ठ उपाध्यक्षले आफ्ना छोरी र भतिजालाई लुटको आतंक मच्चाउन र लेनदेनको हिसाब मिलाउनका लागि सचिवालयमा राखेका छन्’ उनले प्रश्न गरे, ‘यस्तो होइन भने माओवादीमा धेरै नेता कार्यकर्ता छन । किन प्रमुख स्वकीय सचिव बनाउनु हुन्न ?’

उनले नेतृत्व नसच्चिएसम्म विधान महाधिवेशन र विशेष महाधिवेशनले गरेर मात्रै कुनै फरक नपर्ने बताए ।

यस्तै अर्का केन्द्रीय सदस्य ओम शर्माले यस्तै अवस्थामा माओवादी पार्टीको आयु पाँच हजार वर्ष तोके पनि समाजवाद ल्याउन नसक्ने धारणा राखे । उनले विधान महाधिवेशन र विशेष महाधिवेशन हुन्छ भन्ने विश्वास आफूलाई नरहेको भनेर समेत प्रस्ताव कार्यान्वयनमाथि प्रश्न उठाए ।

अर्का नेता कृष्णकुमार चौधरीले कुनै समय आफूलाई माओवादी हुँदा गर्व लाग्ने गरेको भए पनि अहिले आफैंमा त्यो उत्साह बाँकी नरहेको धारणा राखे । ‘पार्टीमा गणेश प्रवृत्ति हावी भएको छ । यसको अन्त्य नभए पार्टी सुदृढ बन्दैन’ उनले भने । उनले आफ्नो टाउकोमा आफैं आगो लगाउनुपर्ने समय आएको बताए ।

केन्द्रीय सदस्य रवीन्द्र श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयबाट आफ्नो फोन समेत नउठेको भन्दै आलोचना गरे । ‘प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले फोन समेत उठाउनु हुन्न ।  आफैं ठूलो हुने कसैलाई मान्छे नगन्ने व्यवहार देखाएर कहीं पनि पुगिंदैन’, उनले भने ।

उनले वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी नेता र कार्यकर्ताभन्दा व्यापारी र बिचौलियालाई महत्त्व दिने गरेको भन्दै आक्रोश पोखे ।

यस्तै केन्द्रीय सदस्यले पार्टीभित्र आत्मालोचना र आलोचनाको संस्कृतिलाई निषेध गरिएको भन्दै त्यसले सबैमा अहमता बढाएको बताए ।

केन्द्रीय सदस्य टीका बुढाथोकीले कर्णालीका नागरिक कालापहाड गएर भारी बोक्न नचाहिरेको भन्दै सरकारमा रहेको आफ्नो पार्टीले मुलुकमा रोजगारको व्यवस्था गर्नुपर्ने र त्यसका लागि पार्टी पंक्तिलाई खटाउनुपर्ने बताए ।

बैठकको दोस्रो दिन बिहीबार नाम टिपाएका बाँकी केन्द्रीय सदस्य र अन्य सहभागीले बोल्ने कार्यसूची रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here