बिर्तामोड नगर अस्पताल सुविधा सम्पन्न हुँदै


३२ जेष्ठ २०८०, बिहीबार २०:०८ मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगर अस्पतालका लागि नयाँ भवन निर्माण हुने भएको छ । भवनको बिहीवार एक कार्यक्रमका बिच नगर प्रमख पवित्रा महतारा प्रसाईले विधिवतरुपमा शिलान्यास गरेकी छन् । अहिले सञ्चालनमा रहेको नगर अस्पतालकै छेउमा निर्माण हुन लागेको ३ तले भवन सुविधा सम्पन्न हुने जनाइएको छ ।

Advertisement

भवन निर्माणको जिम्मा विभाष इन्टरनेश्नल कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि काठमाण्डौले पाएको छ । विभाषले १५ करोड ३४ हजार ३ सय ३६ रुपैँयामा ठेक्का पारेको हो । गत बैशाख ८ गते नै सम्झौता गरेर प्रक्रिया अघि बढाएको ठेकेदार कम्पनीले २०८१ फागुन २६ गते काम सम्पन्न गर्नुपर्ने छ । भवन निर्माण सम्पन्न भएपछि बिर्तामोड नगर अस्पताल १५ शैयाबाट २५ शैयाको हुने छ ।

भवनमा निर्माणसँगै नगरअस्पतालको कम्पाउण्ड भित्र वेस्टम्यानेजमेण्ट विल्डिङ, पोष्टमार्टमा व्लक, क्यान्टिन ब्लक, एटीएम हाउस, गार्ड हाउस र फार्मेसी व्लक र वरीपरी घेराबारा र भुइमा पेवर्स लगाइने छ ।
नयाँ अत्याधुनिक भवनभित्र आकस्मिक कक्ष, उपचार कक्ष, प्रतिक्षालय, सोधपुछ कक्ष, मेडीकल उपकरण भण्डारण कक्ष, घरेलु यौन तथा हिंसाबाट पीडितहरु राखेर उपचार गरिने ओसीएमसी वार्ड, आर्थिक तथा प्रशासनिक कक्ष, क्याविन, डेडिभरी कक्ष, व्लड बैंक, मल्टिपर्पोज हल लगायतका सुविधा रहने नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगर अस्पतालबाट दिने सेवालाई स्तरोन्नती गर्नका लागि नयाँ भवनको शिलान्यास गरिएको बताइन् । भवन समयमै सम्पन्न गरेर सरल, सहज र गुणस्तरीय सेवा प्रदान गरिने उनले बताइन् । उनले प्रर्याप्त बजेटको अभावमा सोचे जति काम गर्न नसके पनि आगामी दिनमा यसलाई अझै व्यवस्थित गर्दै लैजाने प्रतिवद्वता व्यक्त गरिन् ।

नगर प्रमुख प्रसाईले मानिस स्वस्थ भएन भने कुनै पनि काम गर्न नसक्ने भन्दै पहिलो प्राथमिकता स्वास्थ्यलाई दिएको बताइन् । बिर्तामोडलाई राम्रो नगरपालिका बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा उनको जोड थियो ।
यस्तै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सार्वजनिक चासाको रुपमा रहेको यस हस्पिटललाई व्यवस्थापन समितिले अत्यन्त रेखदेख गर्नुपर्ने बताए । उनले हस्पिटलको एउटै उद्देश्य सर्वसुलभ ढंगले जनतालाइ सेवा दिनु रहेकोले कर्मचारीहरुले मुस्कान सहितको सेवा दिनुपर्ने बताएका छन् ।

यस्तै, नगरका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले १८ करोड ८५ लाख रुपैयाँका स्टमेट भएपनि १५ करोड ३४ हजार ३ सय ३६ रुपैँयामा ठेक्का लागेको जानकारी दिए । उनले भवन निर्माण पश्चात जनताले पाउनु पर्ने आधारभुत स्वास्थ्य सेवा सजहरुपमा पाउने बताए । अहिले सञ्चालनमा रहेको भवन सानो रहेकोले दुखले कार्यक्रमहरु अघि बढाइरहेको उनको भनाई थियो ।

यसअघि ५ करोड ५० लाख ७ हजार ७६० रुपैयाँको लागतमा निर्माण भएको १५ शैयाको भवन सभामुख देवराज घिमिरेले गत फागुन २० गते उद्घाटन गरेपश्चात नगरअस्पताल सञ्चालनमा आएको छ । नगर अस्पतालमा अहिले एक जना एमडीजीपी, ३ जना एमवीवीएस डाक्टर सहितको सेवा उपलव्ध छ । यहाँबाट दैनिक २ सय भन्दा बढी बिरामीले सेवा लिइरहेका छन् ।

वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा आयोजित भवन शिलान्यास कार्यक्रमको सञ्चालन नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले गरेका थिए । कार्यक्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य,नगर अस्पताल व्यवस्थापन समितिका सदस्य, कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here