बिर्तामोड नगर अस्पतालको नयाँ भवन शिलान्यास


३२ जेष्ठ २०८०, बिहीबार २०:१० मा प्रकाशित

झापा- बिर्तामोड नगर अस्पतालको हाताभित्र अर्काे अत्याधुनिक भवन निर्माण हुने भएको छ । अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने गरी नयाँ भवन बनाउन लागिएको हो ।

Advertisement

भौतिक पूर्वाधार व्यवस्थापन भएपछि मात्रै नगर अस्पतालको सेवा विस्तार गर्न सकिने भएकाले सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बताइन् ।

मेयर प्रसाईले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर नगरले काम गरिरहेको जनाउँदै नगर अस्पतालको सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाइँदै लैजाने बताइन् ।

बिहीवार बिहान अस्पताल परिसरमा आयोजित कार्यक्रमका बीच नगर अस्पतालको नयाँ भवन शिलान्यास गरिएको छ । भवनको नगर प्रमुख प्रसाईले शिलान्यास गरेकी हुन् ।

प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेका अनुसार संघीय सरकारले उपलब्ध गराएको १५ करोड रुपैयाँको लागतमा नगर अस्पतालको नयाँ भवन निर्माण हुन लागेको हो ।

विभाष इन्टरनेशनल काठमाडौँले २०८१ फागुन २६ मा पूरा गर्ने गरी भवन निर्माणको ठेक्का लिएको छ । यसअघि गत फागुन २० गते सभामुख देवराज घिमिरेले नगर अस्पतालको एउटा भवन उद्घाटन गरेका थिए ।

नगरबासीको सुविधाका लागि निर्माण भएको नगर अस्पतालमा हरेक दिन दुई सयको हाराहारीमा सर्वसाधारण उपचारका लागि आउने गरेका छन् । नगर अस्पतालमा डाइलोसिस सेवा पनि उपलब्ध छ ।

आगामी दिनमा नगर अस्पतालको सेवालाई विस्तार गर्ने उद्देश्य राखेर पूर्वाधार निर्माणमा जोड दिइएको उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए ।

वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा शिलान्यास समारोह भएको हो । तीन तले अस्पताल भवन २८ हजार ९६१ स्क्वायर फिटको हुने नगरका इञ्जिनियर नरेन्द्र श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here