कमरेड माधव नेपाललाई हरिरामको प्रश्न–सन्देश : व्यंग्यनारान पाँडे


१ आश्विन २०७९, शनिबार ११:२४ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल केही दिनयता जतातत्तै ‘हाम्रो पार्टीले समानुपातिकतर्फ बीस लाख भोट ल्याउँछ’ भनेर भाषण डुक्रिँदै हिँडेको सबैले सामाजिक सञ्जालतिर हेरे–सुनेकै हुनपर्छ । यो कुरो हरिराम बाजेलाई पनि अरूहरू अधिकांशलाई जस्तै ‘हावादारी फुँइकी’ भन्ने लागेछ कि कसैले ‘भाडा दिएर’ त्यस्तो विचार बेच्न बाटो–गल्लीतिर ‘काजमा’ खटाएका पो हुन् कि ! उनी पनि केही दिनयता हरेक बिहानैदेखि बाटामा निस्किने अनि जो भेट्यो त्यसलाई ‘तपईसित एछिन् कुरा छ’ भन्दै रोकेर माधव नेपालको भाषणको प्रसंगमा गन्गनाउँछन् अरे भन्ने छिमेकाहरूले भन्ने गरेको मैले यी दिनहरूमा बाक्लै सुन्दै आएको थिएँ ।

Advertisement

कैलु बिहारीले ‘चाए दुकान’ को सानो साइनबोर्ड भित्र बेच्ने गरेको ‘मान्छेको पेट्रोल’ हालेर हरिराम आज मेरो घरमै सशरीर आइपुगे र के–के हो के–के फत्फताउनसम्म फत्फताए ।

उत्ति ठेगानमा नटेकिइरहेका खुट्टा र थाम्न गाह्रो भएको स्पष्ट भान हुने किसिमबाट शरीरका अवयवहरू सम्हाल्दै सिँढी चढेर मेरो ठीक अगाडि बस्न आइपुगेका उनले माधव नेपालकै कुरा गर्छन् होला भन्ने मैले अनुमान गरेकै थिएँ । नभन्दै मेरो अनुमान ठीक सावित भयो ।

उनले एकाएक भने ‘हन तपईं एसो बाइरफेरो गाम–घर कैलै टुरिङ–उरिङ गर्दै गरदौन हओ पाँडेजी ? देशका जनता रइती खोल्ला फिरी हिन्डुल गरून्, कौनै डर–तरास नराखुन्, जे खान मुन लाग्छ तो खाउन्, कसैले डिस्टप गरो भने तिँका तिँही भाटाले थला बसाउन पनि पाउन् भन्रभनेदेखुन् एत्रो फिरी हुन पाइँने सङ्घीए लोक्तान्त्रिक गनतन्त्र इन्ड्याका डिल्ली बेहारतिराड लेराइदिया तपईंलाई मालुमै नाइँ कि के हो एस्तो चालामाला ? म जैसो रानीतिकको पोल्टिस्यान पर्साेनालिटिले माधौ नेपाललाई उत्राबिदि कोइसिनहेरु सोद्दा पनि एउडेैको एन्सरिङ नगर्दा नि तपईंहेरू गाम–छिमेकका मान्छेले एसो हइखइ गर्नु पर्थ्यो कि पर्थेन हँ ? क्या हो घर्काे घरै ? थुक्क एस्ता लोइताँगे छिमेकी ! त्यसै त थाङ्ने, त्यसमाथि खोयाबिर्के दनक लार थुइँक्क ! तर, कुरा सुनेर जति नै कन्पारो रन्के पनि सोह्र श्राध्द लागेको पहिलो दिन घर आको बाहुन मान्छे, गलहत्याएर लगार्न संस्कारले मनको कान समायो र मैले गह्रौ हुँदै भने ‘के भन्नुभयो र भूतपूर्व प्रधानमन्त्री माधव नेपालले तपाईंलाई ? कि के अन्याय गर्नुभयो ?’

उनले प्याट्ट हात बजाएर भने ‘अनि घरि पनि घरि पनि हमेरको नेपका एक्किकिर्त समासबाधी पाटीलाई आउँदो अगामी एलेक्सिनको भोटमा सामानु कि कोनि के पातिकतिराड बीस लाख भोट आउँछ भनिराख्या छैनन् त अन्तखेरी ?’

मैले भनें ‘त्यसो भन्दा तपाईंको टाउको चाहिँ किन दुख्यो नि ? कोरियन मुन माताबाट सहयोग स्वरूप आउन पनि किन सक्तैनन् त सय–पचास रुपैपाँ गोटाका त्यति भोट ?’

उनले क्याच्च मुख बिगारेर निधार चाउरी पार्दै भने ‘लु हेर त इनको बुद्दि ! थुक्क ! हन तेसो गर्न हामेरले दस बर्ख लाएर लेख्या सम्बिदानले दिन्छ त लाटा ? कि सम्बिदान– उम्बिदान मारो गोली भन्छौ तपईं ? अलिक क्यारलेस गरेर बाल्नु हए हामेरका समच्छे बोल्दाहुँदी क्या, क्यारलेस नगरी प्याच्च–प्याच्च बोल्दा भट्खालमा जाक्क्यौला नि, मैले भन्दिया छु नि ! यो मेरो वार्लिङ पनि हो !……. लु खा त !

उनलाई निकै रीस उठेको बुझिनेगरि चाँम बाँधेको देखेपछि म अलिक सतर्क हुन बाध्य भएँ । हिजोआज पार्टीका भट्मासे, झोले, भालुभुत्तेहरूकै रगरगी र दाँइ चलिरहेको छ र त्यस्ता पार्टी–पालित टट्टुहरूलाई बिच्काउँदा तिनका पालक नेता नामक कमाउकान्तेहरू चिढिन्छन् र यस्ता ल्याङ्ठाको दग्धी झन बढ्छ भन्ने मलाई राम्रै थाहा थियो ।

मैले मनमनै त्यस्तो सम्झेर अलिक मिठाइते स्वरमा भने ‘मैले भन्या जस्तो होइन भने मैले माफ मागेँ ल, भइगो । बरु तपाईंले माधव नेपालको उस्तो भाषण सुनेपछि के प्रश्न कसलाई सोध्नुभएको थियो, त्यो चाहिँ बताउनोस् न बाजे !’

एकछिन मेरो अनुहारमा हेरेपछि र एकछिन आँगनतिर टोलाएपछि उनले भने ‘मै त रछु नि जैल्यै चाइया ट्याममा दर्बिलो पश्न तेर्छाएर कोइसिन गर्ने बिचारा, होइन त ? तपई सिरेस्ली भएर ध्यानदिस्टि लाएर चाइँनेकेरे मेरा कुरा एता सुन । मैले माधौ नेपालकाँ डाइरेक पुग्नेगरी मेरै मोबिलको इन्टरन्याटबड सो–उक्त कोइसिन फेसुक गरेर के सोदेको थेँ भन्ने इ यो कागतले नै किल्लेरसिल बोल्छ ।’

बोल्दाबोल्दै उनले कमिजको भित्री गोजीबाट एउटा तीन ठाउँ पट्टिएर थोत्रिएको कपी निकाले अनि थरथर कामेका ओैंलामा थुक लाउँदै पल्टाएर मेरा हातमा थमाउँदै भने ‘इ एइ मैसेच मैले फेसुकबड पठाको हुँ । एत्ति गर्ने आँट र खेम्ता न त पर्दानमन्त्री खाइराख्या शेर्बादुर देउपासित छ, न त भूतपूर्बक प्दानमन्त्री र उप्पपर्दानमन्त्रीका भत्ता लपलप खाँदै अनेक सुविदा चागिराख्या परचन्न दाल, झलानात खँदाल, बाउराम भट्राइ, उप्यान् जादौ, राजेन् मतो, हामेरकै किस्न सिटउलाहेरूमा छ ! तपइँ नै यो पढिबाँच र भन त ?’

उनले मेरा हातमा थमाएका पन्नामा, उनले माधव नेपालकहाँ फेसबुक मार्फत डाइरेक्ट पुग्नेगरी पठाएँ भनेका, प्रश्न–सन्देश सरासर यस्तो रहेछ ः– ‘तो बीस लाख भोट आउँदो अगामी मुङसिर चार गतेसम्म मात्तै तपइँहेरूको पाटीको बाक्सामा हुन्छ कि तेसपछि पनि हओ नेपालजिउ ? अथ्बा, तो बीस लाख भोटलाई मुङसिर चार गते आइतबार एक्कादशी तिथिका भोलिपल्ट कतिले भागा गरेर चाइँनेकेरे एकाउन्ट्यान गर्नुपर्छ ? आठलाई शून्ने अस्सी किन ?’


(यो हास्यव्यङ्ग्य अग्रज पत्रकार नकुल काजीको फेसबुक वालबाट साभार गरिएको हो ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here