मेचीपुलमा सिटी रिक्सा र पोके तस्कारीको जामः यात्रुलाई सास्ती


२८ भाद्र २०७९, मंगलवार १३:४३ मा प्रकाशित

काँकडभिट्टा । पूर्वी नेपाल र भारत पश्चिम बंगाल जोड्ने मेचीपुल सिटी रिक्सा र पोके तस्कारीको कारण जाम हुने गरेको छ । आवश्यकता र क्षमता भन्दा बढी रिक्सा चलाउन अनुमति दिनु र पोके तस्करीको सामान भण्डारण गर्ने स्थलको रुपमा मेची पुललाई प्रयोग गरिदाँ पुलमा हुने जामको कारण यात्रुहरुले शास्ती खेप्नु परेको छ ।

Advertisement

पूर्वी नेपालको मुख्य नाकाको रुपमा रहेको मेची पुल नेपाल भारत मात्र होइन भुटान, बंगलादेश म्यानमार जस्ता देशहरुमा जोड्ने मुख्य राजमार्ग अन्तरगत रहेको पुल हो । यही पुलबाट उपचारार्थ भारत जाने विरामी, पर्यटक, व्यवसायी, विद्यार्थी तथा विभिन्न गन्तव्यको लागि मानिसहरु आवत जावत गर्ने गर्दछन् । अन्तर्राष्ट्रिय महत्वको यो पुल केही समय देखि सिटी रिक्सा र पोके व्यापारीहरुको कप्जामा नै छ । विभिन्न कामको शिलशिलामा यस पुललाई प्रयोग गरेर आवत जावत गर्ने यात्रुहरुलाई यतिबेला सास्ती नै सास्ती छ । नेपालको काँकरभिट्टाबाट भारतको उक्त २ किलोमिटर यात्रा गर्न मेची पुलमा २ पटक सम्म रिक्सा परिवर्तन गर्नुपर्ने वाध्यता एकातिर छ भने, अर्कोतर्फ पैदल यात्रा गर्दा कतिखेर सिटि रिक्साको कारण दुर्घटनामा परिने हो भन्ने डर रहन्छ । जम्मा ५ सय ८३ मिटर दुरी रहेको मेची पुल पार गर्न झण्डै १ घण्टा खर्चनुपर्ने वाध्यता छ ।

एसियन हाइवे अन्तरर्गत मेची पुलको उत्तरपट्टि ६ लेनको नयाँ पुलको निर्माण सम्पन्न भएको २ वर्ष वितिसक्दा पनि सर्वसाधारणको लागि खुल्ला गरिएको छैन् जसका कारण पनि थप समस्या बलिझएको छ । एसियन हाईवे अन्तरगत बनेको उक्त पुलमा मेची भन्सारमा प्रवेश गर्ने मालवहाक सवारी तथा सरकारी नम्बर प्लेटका सवारी बाहेकलाई सञ्चालन अनुमति नै दिइएको छैन् । उता प्राइभेट नम्बर प्लेटका साना गाडीहरुमा सिटि रिक्साको जामको कारण गाडि कोरिने तथा दुर्घटनाको जोखिम रहेको पाइएको छ । दुर्घटना न्युनिकरण र ट्राफिक व्यवस्थापनमा प्रहरीले चासो दिनुपर्ने र नयाँ पुल सम्पन्न भइसकेकोले सर्वसाधारणको लागि सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको जनप्रतिनिधिहरुको भनाईरहेको छ ।

सिमामा सुरक्षा तथा सुव्यवस्था कायम गर्ने निकाय भने यस विषयमा त्यती गम्भिर देखिदैन । व्यवस्थापन गर्नको साटो प्रहरी र प्रशासन नयाँ पुल कहिले सञ्चान हुन्छ भनेर पर्खिरहेको छ ।

नेपालको पूर्वी प्रवेश द्वार नै अस्तव्यस्त हुनु र त्यसमा सरोकारवालाहरुले चासो नदिनुले राम्रो सन्देश दिदैन । सिटि रिक्साको व्यवस्थापन र व्यपारीहरुसँग समन्वय गरी मेची पुलमा हुने जाम र सम्भावित दुर्घटनालाई हटाउनु र नयाँ बनिएको ६ लेनको पुललाई पूर्ण सञ्चालनमा ल्याउन जरुरी छ । – खबरमञ्च

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here