धुलाबारी–खयरडाँगी ‘सडक क्लियर’ नहुँदा निमार्ण अवरुद्ध


२२ भाद्र २०७९, बुधबार १९:३१ मा प्रकाशित

।। गगन ढकाल ।।

Advertisement

धुलाबारी । मेचीनगर–१० धुलाबारी चौकबाट चन्द्रगडी जोड्ने सडक निमार्णमा समस्या सिर्जना भएको छ । चौकबाट खयरडाँगीसम्म करीब १ किलोमिटर सडक खण्ड कालोपत्रे गर्ने काममा समस्या सिर्जना भएको हो ।

चौकदेखि खयरडाँगीसम्मको करीब १ कि.मि सडक छेउछाउको भाग क्लियर हुन नसक्दा काममा समस्या सिर्जना भएको ठेकेदार भिम चन्द्र भट्टराईले जानकारी दिए । नौ मिटरभन्दा बाहिर ड्रेन सहितको सडक निमार्ण गर्नुपर्ने हुन्छ । उनले भने ‘सडका दुबै तर्फ रहेका बिजुलीको पोल, अस्तब्यस्त रहेका केबल र टेलिकमको तार अनि मध्यभागको जमिन मुनी बिछ्याइएको खानेपानीको पाइपमा कारण सडक निमार्णमा समस्या भएको छ ।’

बुधबार मेचीनगर नगरपालिकाको कार्यालयमा त्यहाँ देखिएका समस्याको समाधानको सन्दर्भमा छलफल भएको छ । छलफलमा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सडक विभाग, खानेपानी विद्युत प्रधिकरण र टेलिकमसँग समन्वय गरेर काम अगाडि बढाउँनुपर्ने बताए । उनले बिकास निमार्णमा सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिदै त्यहाँ देखिएका समस्या समाधानमा आफू लागि पर्ने बताए ।

छलफलमा धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अजय घिमिरेले सडक निमार्णमा सहयोग रहने बताए । उनले भने ‘समितिसँग सिमित रकम हुन्छ, खयरडाँगीदेखि दक्षिण भेगमा पनि आफ्नै खर्चमा पाइप लाइन सारेर निमार्णमा सहयोग गरेका थियौं । ड्रेन सहितको सडक बनाउने हो भने सडकको दायाँ–बायाँ पाइप लाइन राख्नुपर्ने हुन्छ ।’

सडक बिस्तारका क्रममा अवरुद्ध गर्ने बिजुलीको पोलहरु सार्नका लागि प्राधिकरणमा कुनै पनि रकमको व्यवस्था नभएको नेपाल विद्युत प्राधिकरण धुलाबारीका प्रमुख सुनिल महतोले बताए । उनले भने ‘विभागले खर्च ब्यहोर्ने हो भने प्राविधिक सहयोग गर्न तयार रहेका छौँ ।’

छलफल कार्यक्रममा मेचीनगर नगरपालिकाका वडा नं. १० का वडाध्यक्ष नारायण खनाल, पूर्वाधार बिकास कार्यालयका अधिकृत किरण बिष्ट, नेकपा माओवादी केन्द्रका नगर सह–इन्चार्ज प्रकाश खड्का, नेकपा एमाले मेचीनगर–१० का अध्यक्ष बलराम चिमरिया, नेपाली काङ्ग्रेस मेचीनगर–१० का सभापती चन्द्र बहादुर तिवारी, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना लगायतको उपस्थिती रहेको थियो । मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुडाथोकीको अध्यक्षतामा सम्पन्न छलफलले समस्या उत्पन्न स्थानको स्थलगत अनुगमन गरी समस्याको चाडैं समाधान निकाल्ने निर्णय गरेको छ ।

धुलाबारी मोडदेखि दक्षिण भद्रपुर नगरपालिकाको सीमाना हडिया पुलसम्मको साडे ८ कि.मि सडकमा करीब ४ कि.मि सडक कालोपत्रे भइसकेको छ । वि.सं. २०८० असार मसान्तसम्ममा सडक निमार्ण सम्पन्न गरिसक्नु पर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here