नेपाली राजनीतिको वैचारिक साख प्रदिप गिरी


६ भाद्र २०७९, सोमबार १२:५६ मा प्रकाशित

किशोर ढुङ्गेल ।

Advertisement

शनिबार राती करीव ९ः४५ तिर नेपाली काङ्ग्रेसका धरोहर प्रदिप गिरीको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भयो । समाजवादी चिन्तक गिरी केही समय देखि क्यान्सरबाट पिडित थिए । भारतको मुम्बाईमा करीव एक वर्षको लामो उपचारपछि स्वदेश फर्किनुभएको गिरी पुनः स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । गिरीको निधनमा हाम्रो देशको संघर्षपूर्ण इतिहास बोकेको वैचारिक र समाजवादी युगको अन्त्य भएको छ साथै उहाँको निधनसँगै लोतान्त्रिक समाजवादको एउटा विश्वविद्यालय सदाका बन्द भएको छ । मृत्युलाई शाश्वत सत्यका रुपमा स्वीकार गरेका गिरीमा क्यान्सरको अन्तिम चरणमा समेत तिक्ष्ण स्मरण शक्ति र सेन्स अफ ह्युमर रहेको उहाँसँग भेट गर्नेहरुको टिप्पणी छ ।

एकदमै अध्यानशील स्वाभावका गिरी नेपाली बौद्धिक जगतमा एकदम लोकप्रिय व्यक्तित्वको रुपमा स्थापित थिए । कतिपयका नजरमा अराजक भएपनि गिरी जस्ता प्राज्ञिक एवम् बौद्धिक व्यक्तित्व नेपाली राजनितीमा बिरलै पाइन्छ । लोकतन्त्रवादी र समाजवादी मात्रै नभएर माक्र्सवादी दर्शनमा पनि उनी समान जानकार नेताहरु कमै छन् ।

आफ्नो विचार र अडानमा सधै स्पष्ट र दृढ नेता गिरी पार्टी र सत्ताको सधै बिरोधी एवम् फरक कित्तामा रहनु भयो । अर्थात् उहाँ स्थाई प्रतिपक्षको रुपमा रहनु भयो । गिरीले कहिल्यै पनि दलको हुइप मान्नु भएन, उहाँ आफैमा सार्वभौम र दलीय व्यवस्थाका लागि अराजक हुनुहुन्थ्यो । हुन त सबै व्यक्ति आफैमा सार्वभौम हुन्छ सायद हामीले बुझेको सार्वभौमिक्ता र उहाँको सार्वभौमिक्ता बीच फरक थियोे कि ? भनाइ पनि छ जहाँबाट गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको अन्त्य हुन्छ त्यहाँबाट प्रदिप गिरी सुरुवात हुन्छन् ।

विकृत राजनीतिबाट वाक्क हाम्रो पुस्ताले के बुझ्नु पर्दछ भने पद र शक्ति नै राजनीतिको अन्तिम लक्ष्य बनाएको हालको राजनितीमा पद र शक्ति नचाहिने नेताका रुपमा गणेशमान सिहं पछि प्रदिप गिरी कै नाम आउँछ । उनलाई पद कहिल्यै चाहिएन । गिरी को एउटा भनाइ छ “कसैलाई बदनाम गराउनु छ भने उसलाई मन्त्री बनाइदिनु पर्छ ।” गिरीकै कुरा गर्दा पटक–पटक मन्त्रीको अफर आउँदा पनि उनले कहिल्यै मन्त्री पदको लोभ गरेनन् । नेपाली राजनीतिमा प्रदिप गिरी बारे निकै किस्सा छन् । संसद हुने तर मन्त्री नबन्ने पार्टीको केन्द्रीय सदस्य बन्ने तर पदाधिकारी नचाहिने उनको अजिव स्वभावका कारण संसद पद पनि दैनिकी गुजार्न मात्रै बनेको भनेर कहिले काँही मिडियामै व्याङग्य पनि चल्ने गर्थे ।

केपी ओलीको पहिलो कार्यकालमा उनले प्रजातन्त्र भनेको संसद्को अंकगणित मात्रै नभएर राजनीतिक नैतिकता पनि हो भनेर संसदमै ट्युसन पढाएका थिए । उनले कोरोनाकालमा संकटको समयमा सरकार जनताप्रति उत्तरदायी नभएको भन्दै रक्सि को मात खाए पछि, पैसाको मात पाए पछि र सत्ताको मात गए पछि लाग्छ भनेर सत्ताको लडाइमा लागेका कम्युनिष्टहरुलाई सुझाब पनि दिएका थिए । मन्त्री बन्दै गर्दा घनश्याम भुसाललाई अभिमन्यु चक्रव्यूहमा फसेको टिप्पणी पनि उनले गरेका थिए ।

हाम्रो पुस्ताको लागि प्रदिप गिरी किन पनि महत्वपूर्ण छन् भने सार्वजनिकरुपमा वैचारिक साख गुमाइसकेको राजनीतिका लागि उनी वैचारिक साख थिए । कतिसम्म भने कम्युनिस्ट कार्यकर्तालाई माक्र्सवाद को औपचारिक शिक्षा दिने ल्याकत कोही राख्थ्यो भने ऊ प्रदिप गिरी थियो । उनी लोकतन्त्रवादी हौँ भन्ने नेताहरूलाई लोकतन्त्र र संख्यातन्त्रको फरक दर्शाउँदै लोकतन्त्रको कखरा पढाउँथे । पार्टीहरुमा विचारको खडेरी पर्दै गएको यस समयमा गिरी जस्तो निर्भिक र तर्कशील पात्र पाउन कठिन छ । नेपाली काङ्ग्रेसमा मात्रै नभएर समकालीन सबै राजनीतिक दलमा वैचारिक खडेरी छ । गिरीमा रहेको बेजोड प्रस्तुति क्षमता, दार्शनिक र चिन्तनको पक्ष अहिलेको युवा पुस्ताको लागि अनुसन्धान को विषय नै हो । हामीले दर्शन र चिन्तनको स्रोतको रुपमा सदैब स्मरण गरिरहनुपर्ने एक बिराट प्रतिभा हुन् प्रदिप गिरी ।

युवा पुस्तामा रहेको कुनै व्यक्ति केन्द्रित आक्रमण र आत्मकेन्द्रित दाउपेचको राजनीति मा “हामी र हाम्रो” भन्ने भावना विलिन हुँदै गइरहेको छ । राजनीति योग्यताको छलफल भन्दा पर अस्वाथ्य शारीरिक घृणा र अमानवीयताले व्यप्त छ । हालको युवा पुस्ता र राजनीतिमा रहेको भिषण वैचारिक खडेरी र उदेश्य भुलेर बहकिएको राजनीतिलाई सहीमार्गमा ल्याउन प्रदिप गिरीको आवश्यकता खट्कि रहिरहने छ ।

आदर्श र निष्ठाको राजनीतिबाट कहिल्यै विचलित नभएका गिरी सिंहदरबारको कुर्सीमा कहिल्यै नबसे पनि जनताको मनबाट कहिल्यै हटेनन् । समाजवादका अविश्रान्त साधक गिरीले राजनीतिमा अझ धेरै कुरा सिकाउन बाँकी थियो, उहाँको महाप्रस्थान हुनु पर्ने समयभन्दा अघि नै भयो । राजनीतिमा गिरीले गहन वैचारिक र त्यागको जुन मानक छाड्नु भएको छ त्यो आँउदो पुस्ताको लागि एउटा कोसेढुङ्गा बन्ने छ । राजनीतिमा अझ धेरै कुरा सिकाउन बाँकी छाडेर राजनीतिका जिवन्त चिन्तक गिरीले मेडिसिटी अस्पतालमा उहाँले एक्लै हार्नुभएन यो देशले हार्यो, समाजवादी चिन्तनले हार्यो । एउटा तेजिलो नक्षत्र यो देशले गुमायो ।

आजको दासत्वउन्मुख युवा पुस्ताको राजनीतिमा आलोचनात्मक चेत भएका सार्वभौम नागरिक जन्माउन र हुर्काउन पनि गिरी अझै अलिक वर्ष बाच्नु पथ्र्याे । गिरीको निधन सँग नेपाली राजनीतिमा विचारको पनि मृत्यु भएको अनुभूति हुन्छ । एक्काइसौँ सताब्दीको नयाँ खाल्को क्रान्तिको खोजी गर्ने र राजनीतिमा कहिल्यै पनि इमान सँग सम्झौता नगरेका र मृत्युलाई शाश्वत सत्यको रुपमा बुझेका नेता र वक्ता गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली !
(लेखक मेची बहुमुखी क्याम्पसमा स्नातम दोस्रो वर्षमा अध्ययनरत छन् ।)

2 COMMENTS

  1. unko kura kati lagu vayo ra? gyan matrai diyera maatrai vayena . katiko arule implement garna sakxan vanne bujera dida hunthiyo. aja suno voli udayo xa unko kura arulai .

  2. unko kura kati lagu vayo ra? gyan matrai diyera maatrai vayena . katiko arule implement garna sakxan vanne bujera dida hunthiyo. aja suno voli udayo xa unko kura arulai .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here