गरिबी किन हुन्छ ? पूँजिवादले कसरी गरिबी बढाउँछ?


२७ श्रावण २०७८, बुधबार ११:१० मा प्रकाशित

बिडम्बना के छ भने युवावर्गका लागि पर्याप्त रोजगारी छैन। जबकि पाँच वर्षदेखि १४ वर्षसम्मका २०करोड बालबच्चाहरूले भने मजदुरी गर्नु परिरहेको छ। २० करोडमध्ये धेरैले फुल टाइम काम गर्ने गर्छन्। जसका कारण ती बालबालिकाहरू स्कुल जानसमेत पाउँदैनन् अथवा आफ्नो बाल्यकालकको मज्जा लिन पाउँदैनन्। स्कुल जान नपाउनुको अर्थ हो, गरिबीको यो कहालिलाग्दो दुस्चक्रबाट कहिल्यै निस्कन नपाउनु।

Advertisement

हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो गरिबी। आजका दिनमा करोडौँ मान्छेहरूले स्रोत साधन, अवसर पाएका छैनन्। जसका कारण उनीहरू बहिस्करणमा परेका छन्, उनीहरूको सामाजिक तथा व्यक्तिगत तन्दुरुस्तीमा त्यसले गम्भीर समस्या खडा गरेको छ। र, अहिले तिब्र रूपमा धनी र गरीबबीचको दुरी बढ्दो छ। त्यसको मारमा खासगरी युवा र महिलाहरू बढी परेका छन्। अचेल गरिबी प्रायः अदृश्य हुन्छ। फ्याट्टै देखिन्न।

किनकि जो गरिबीमा बाँचिरहेका छन्, उनीहरू यसबारेमा कुरा गर्न रुचाउँदैनन्। जसका कारणले गर्दा गरिबहरूको आवाज सुनिने सम्भावना एकदमै कम हुन्छ। तर सत्य कुरा के हो भने गरिबी गरिबले निर्माण गरेका होइनन्। गरिबीका लागि कुनै एक व्यक्तिलाई दोसी ठहराउन मिल्दैन। पूँजिवादी संरचनाको संरक्षक मूल रूपमा धनी र शक्तिशाली हुन् जो यो असमानता र गरिबीकै कारण सधै लाभ हाँसिल गर्नेमा पर्छन्।

एकातिर धनी हुँदा अन्यत्र गरिब

यस सन्दर्भमा आइएफएम एसइआईले बनाएको एक डकुमेन्ट्रीमा कुराकानी गर्ने क्रममा डेनिस नागरिक कोन्नीले भछन्, ‘डेनमार्कमा हामीसँग पर्याप्त पैसा छ। यसको अर्थ विश्वको अर्को कुनै कुनामा कसैलाई गरीब बन्न वाध्य पारिएको छ। यही कुरा म राम्ररी बुझ्दिनँ।’ गरिबी सर्वत्र छ। अनेकौँ ठाउँमा यसका अनेकौँ रूपहरू छन्।

धनी र शक्तिशालीहरूको साम्राज्यलाई दुरुस्त राख्ने योजनासहित पूँजिवादले बहुसंख्यक विश्वका मान्छेहरूलाई अनन्तः श्रम र थोरै अधिकारसहित दास बनाएको छ। पूँजिवादलाई कायम राख्न असमान व्यापार पनि जारी राख्नुपर्छ। पूँजिवाद बच्नका लागि साधनस्रोतमा मान्छेहरूको असमान पहुँच हुनुपर्छ तथा शैक्षिक र आर्थिक संयन्त्रमा पूँजिपतिहरूको नियन्त्रण हुनुपर्छ।

डकुमेन्ट्रीमा कोलम्बियाकी लुसी पूँजिवाद र गरिबीका सम्बन्धमा भन्छिन्ः मान्छेहरू किन गरिब हुन्छन् भन्नेबारे समाजमा रहेको पूर्वाग्रह हटाउनु नै गरिबी हटाउनका लागि हामीले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा हो। अधिकांश मान्छेहरू, धेरैजसो गरिब समूदायकै मान्छेहरू पनि सोच्छन् कि मान्छे गरीब हुनुको मूख्य कारण अल्छिपना हो। यसमा केही सत्यता हुनसक्छ, तर मान्छे किन अल्छि र निष्क्रिय हुन्छ? किनकि वाल्यकालमा उनीहरूका लागि उचित संरचनाहरू हुँदैनन्।

यदि उनीहरूलाई बाल्यकालमा स्कुल जाने वातावरण हुन्न भने, उनीहरूले कसरी शिक्षाको मूल्य बुझ्न सक्छन्? गरिबीविरुद्धको लडाइँ राम्रो वाल्यकाल र राम्रो शिक्षाबाट शुरु हुन्छ। अर्को कुरा, गरिबहरू अल्छि हुन्छन् भन्ने भाष्यले शक्तिमा रहेका मान्छेहरूलाई गरिबी कम गर्नबाट पछि हट्नका लागि बाटो खाली गरिदिन्छ। जिम्मेवारीबाट भाग्ने मौका खोलिदिन्छ यस्ता हचुवा तर्कहरूले।

गरिबी र देशको ऋण

गरिबीबारेको अर्को तथ्य के हो भने टिक्नका लागि प्रायः सबैजसो देशले ऋण लिने गर्दछन्। विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायहरूबाट अनेकौँ देशहरूले ऋण लिने गरेका छन्। तर गरीब देशहरूका हकमा भने ऋणको भारी विषमतापूर्ण छ। कतिपय देशले आफूले प्रतिवर्ष उत्पादन गर्ने लाभभन्दा बढी ऋण तिरिरहनुपरेको छ। जसको कारणले गर्दा त्यस देशका जनताको जीवनमा नकारात्मक प्रभाव पर्न जाने गरेको छ। यस्तो भएपछि गरिब सरकारहरू विद्यालय, स्वास्थ्यसेवा र सामाजिक विकासमा खर्च गर्नुको साटो आफ्नो खर्च ऋण तिर्नमै लगाउन वाध्य हुन्छन्।

यस्ता ऋण चुक्ता गर्नेबारेका सर्तहरू पनि अनुचित हुन्छन्। जस्तो कि ऋणसम्बन्धी सम्झौताहरू डलरमा गर्ने गरिन्छ। जसका कारण मुद्राको उतारचढावका कारण कमजोर देशहरूलाई घाटा पर्न जाने खतरा बढी हुन्छ। त्यसमाथि ब्याजदरहरू असमानुपातिक रूपमा बढी हुने गर्छन्, जसका कारण ऋणको मात्र थपिँदै जान्छ। जसका कारणले गरिबी निवारणमा उपयोग हुनसक्ने पैसा ऋण तिर्नमै खर्च हुनेगर्छ।

यसरी, विदेशी ऋणले कतिपय देशलाई झनै गरीब र कमजोर पारिरहेको छ। अनि धनी देश र ठूला कर्पोरेसनहरू भने झनै नाफामा चलिरहेका छन्। सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि युरोपियन देश र त्यहाँका नागरिकहरू पनि ऋणको जालोमा फसे। बैंकिङ सिस्टमको विफलताको सामना गर्न त्यहाँका सरकारहरूले वाद्य भएर लिएको ऋणका कारण, पहिले नै कमजोर रहेको सार्वजनिक खर्चमा झनै कटौती गर्न ती देशहरू वाध्य भए। जसका कारण युरोपमा अति गरिबीमा रहनेहरूको संख्या तिव्र रूपमा बढ्न गयो।

साधनस्रोतको पहुँच : गरिबीको कारण

यस सन्दर्भमा बेल्जियमका डेल्फाइन ओग्सेयोग भन्छन्, ‘मलाई लाग्छ, साधनस्रोतमा सबैको समान पहुँच हुनुपर्छ। जबसम्म कसैले शिक्षा, स्वास्थ्य र अन्य सामाजिक लाभहरू प्राप्त गर्ने र अरुलाई प्राप्त नहुने क्रम चलिरहन्छ, समाजमा त्यतिन्जेलसम्म गरिबी जारी रहन्छ। तर यदि सबैलाई बराबर अवसर दिइयो भनेचाहिँ परिर्वतन अवश्य पनि परिवर्तन सम्भव छ। गरिबी कुनै व्यक्तिगत विषय होइन। अरु सबैजना गरिब छन् तर म धनी छु भने पनि त्यसले कुनै अर्थ राख्दैन।’

धेरै एनजिओहरू, आइएफएम, एसइआईले विश्वका अति गरीब देशहरूका ऋण खारेज गर्नुपर्ने माग राख्छन् र त्यसको वकालती गर्छन्। गरीब देशलाई झनै कंगाल बनाउने यस्ता ऋणहरूको खारेजी नै गरिबी हटाउने पूर्व सर्त हो।

आर्थिक प्रणाली

बजारले पूँजिवादी प्रणालीमा ठूलो भूमिका खेल्छ। किन्ने र बेच्नेसम्बन्धी जटिल र अपारदर्शी बन्धन र मुद्राहरू, अड्कलबाजीमा चल्ने मुद्रा विनिमय दर र अन्य साधनहरूका कारण अहिले जोसँग पैसा छ, उसैले मात्रै धेरै पैसा कमाउन सक्छ। र, रोचक के छ भने सामान्य मान्छेहरूलाई दिने सेवा बैंक र वित्तिय सेवाको सानो अंश मात्रै हो। बैंकहरूको धेरै शक्ति अड्कलबाजीवाला आर्थिक कारोबारहरूमै लाग्नेगर्छ। अत्यन्त जोखिमपूर्ण अड्कलबाजीका लागि तिनीहरूको ट्याक्स संकलनको पैसा प्रयोग गरिन्छ, जो आफ्नै पैसा कसरी प्रयोग हुन्छ भन्नेबारेमा निर्णय लिन पाउँदैनन्।

यस्ता जोखिमपूर्ण अडकलबाजीका कारण आकस्मिक रूपमा वास्तविक सामानहरू (चामल, गहुँ, भटमास)को मूल्य व्यापक रूपमा बढ्न जान्छ र खाद्य संकटको समेत सिर्जना हुनजान्छ। यस्ता बैंकिङ आर्थिक कारोबारहरूमा यदि कर लगाइदिने हो भने त्यसले प्रणालिमाथि नियन्त्रण गर्नेथियो र यस्ता कारोबारहरूबाट प्राप्त आम्दानीमा सामान्य मान्छे पनि सहभागी हुन पाउँथे। यस्ता करहरूबाट अड्कलबाजहरूले गरेको क्षतिका लागि उनीहरू स्वयं तिर्नसमेत वाध्य हुन्थे।

धेरैजसोले गर्ने तर्क के हो भने रोजगारी नै गरिबी निवारणको सिधा बाटो हो। रोजगारीमार्फत तपाईँ सिधै पैसा कमाउनुहुन्छ, त्यसो हुँदा तपाईँलाई आफ्नो मूल्यांकन भएझैँ लाग्छ। समूहमा काम गर्ने कुरा र सक्रिय जीवन बिताउने कुरा राम्रो हो। र, यदि काम गर्न सक्ने मान्छेहरू सबै रोजगार भइदिएको भए गजब हुनेथियो। तर के त्यस्तो अवस्थामा गरिबी पूर्ण रूपमा हट्थ्यो होला त?

अर्थ प्रणाली नै खराब

आज जसरी अर्थ प्रणाली चलाइएको छ, त्यसले गर्दा बेरोजगारी उच्च दरमा छ। विश्वका सबैजसो क्षेत्रको यस्तै हालत छ। र, खासगरी युवाहरू बेरोजगारीबाट सबैभन्दा बढी पीडित छन्। जस्तो कि क्यामरूनमा बेरोजगारीको दर ३० देखि ७० प्रतिसतसम्म छ। स्पेनमा १५ देखि २४ वर्ष उमेर समुहका ५० प्रतिसत युवाहरू बेरोजगार छन्। जब तपाईँ भन्नुहुन्छ कि ‘काम गर्न चाहनेहरूका लागि त पर्याप्त काम छँदैछ नि’, त्यस्तो अवस्थामा यो शंख्या अझै धेरै हुनसक्छ।

दुर्भाग्यको कुरा, हाम्रो आर्थिक प्राणाली यसरी बनाइएको छ कि ठूलो परिमाणका कामहरू बच्चाहरूबाटै गराइन्छ। निशुल्क रूपमा ‘इन्टर्न’(कामको अनुभवमात्र संगाल्न आएका व्यक्तिहरू) बाट गराइन्छ, अथवा कम पारिश्रमिकमा काम गराइन्छ। जस्तो कि बच्चा हेर्ने काम वा बुढाबुढी स्याहार्ने काम। त्यस्ता कामहरू समाजको हितका लागि आवश्यक छन्। तर यस्ता विषयमा कसैले पनि लगानी गर्न चाहँदैनन् किनभने यस्ता कामहरूबाट मौद्रिक लाभ हुन जाँदैन। र, अर्को तथ्य के हो भने धेरै पढेकाले रोजगारी पाउने सम्भवना बढी नै हुनजान्छ। बिचैमा स्कुल छाडेर हिँड्न बाध्य व्यक्तिले भन्दा ठूला र महंगा स्कुलहरूमा पढेकाले जागिर र अवसर पाउने सम्भावना जहिल्यै बढी हुनेगर्छ।

इको नामका बेलायती युवा गरिबीका सन्दर्भमा भन्छन्, ‘पूँजिवाद, भ्रष्टाचार, युद्ध, प्राकृतिक प्रकोप र लैंगिक असमानता नै गरिबीका कारण हुन्जस्तो लाग्छ। पूँजिवादको संस्कृतिका रूपमा उदाएको उपभोक्तावाद र व्यक्तिवादविरुद्धको लडाइँ, भ्रष्टाचारविरुद्धको लडाइँ, प्राकृतिक प्रकोपविरुद्धको लडाइँ र शान्ति र माया नै गरिबीविरुद्ध लड्ने हतियार होझैँ लाग्छ मलाई। तर यस्ता कुरा एकदमै सक्रिय रूपमा गरिनुपर्छ, निस्क्रिय रूपमा होइन। मलाई युवाहरूको जोसमा विश्वास छ किनकि युवाहरू नै सर्वत्र परिवर्तनका संवाहक हुन्।

रोजगारी मात्र भएर हुन्न

रोजगारी हुनु एउटा कुरा हो,तर यसले उपलब्ध गराउने तलबबाट बाँच्न सक्नु अर्को कुरा हो। धेरै मान्छेहरू फुलटाइम काम गर्छन् अथवा त्योभन्दा धेरै समय अनेकौँ कामहरूमा व्यस्त रहन्छन्। तर उनीहरूको आम्दानी उक्त देशको आधिकारिक गरिबी रेखाभन्दा पनि तल हुनेगर्छ। यसको अर्थ यो पनि होइन कि गरिबीको रेखाभन्दा माथि रहनेको जीवनचाहिँ सुखमय छ। न्युनतम् तलवले आधारभूत खाना र कोठाभाडा तिर्न पनि कठिन हुनेगरेको तथ्य हामीसामु छँदैछ।

‘न्युनतम् र अधिकतम् ज्याला’ तोकिइने हो भने मात्रै पनि समाजमा समता र साधनस्रोतको सही वितरण हुनेथियो। तर दुर्भाग्यको कुरो, अनौपचारिक क्षेत्रमा काम गर्नेहरूका हकमा त्यस्ता ‘न्युनतम र अधिकतम ज्याला’ले पनि फाइदा गर्नेछैन। किनभने उनीहरूले काम गर्ने अनौपचारिक क्षेत्र करको दायरामा आएका हुन्नन् र सरकारले अनुगमन गर्न सक्ने खालको पनि हुन्न। त्यसो हुँदा यस क्षेत्रमा काम गर्ने मानिसहरूले कुनै पनि खालका साामाजिक सुरक्षा समेत प्राप्त गर्दैनन्।

श्रमिकको अधिकार

काम गर्दा पनि पर्याप्त नकमाउने समस्या त छँदैछ, श्रमिकहरू एकदमै खराब र असुरक्षित अवस्थामा काम गरिरहेका छन्। बाँच्नका लागि रोजागारी नै चाहिने र बेरोजगारी दर उच्च भएको अहिलेको विश्वमा श्रमिकका अधिकारहरूलाई प्रायः वेवास्ता गर्ने गरिन्छ। जतिसुकै कम ज्यालामा पनि काम गर्न तयार मान्छेहरू भएको अवस्थामा कम्पनीहरूले किन श्रमिकको सुरक्षा, तिनको ब्रेक टाइम र अतिरिक्त सुरक्षाका लागि चिन्ता गरुन् या खर्च गरुन्? यस्तो अवस्थामा ट्रेड युनियनहरू वास्तवमा कम्पनीकै लागि चुनौती हुन्।

यस्तो अवस्थामा अन्तर्राष्ट्रिय स्तरमा श्रमिकहरूको न्युनतम तलब नतोकिएको, अधिकारको ग्यारेन्टी नभएको र सुरक्षा नदिइने देशहरूका फ्याक्ट्रीमा आफ्ना काम गराउन चाहन्छन्। आखिर, उत्पादन चेनको अन्त्यमा उपभोक्ताहरूले सामान वा वस्तुको मुल्य हेर्ने हो। र, उत्पादनको प्रारम्भमा श्रमिकहरूलाई अनेक खालका सुरक्षा र ‘न्युनतम जायज ज्याला’ नतिरेको हकमा उत्पादनको मुल्य कम पर्न जान्थ्यो। रोचक कुरो, उत्पादनमा जति नै कम खर्च गरे पनि उत्पादक कम्पनीहरूले सम्भव भएसम्म ग्राहकबाट पनि पैसा धुत्ने प्रयास गरेकै हुन्छन्। उत्पादनमा पैसा खर्च गरेको छ भन्दैमा मालिकहरूले नाफा नखाने भन्ने त हुन्न।

श्रममा २० करोड बालबच्चा

बिडम्बना के छ भने युवावर्गका लागि पर्याप्त रोजगारी छैन। जबकि पाँच वर्षदेखि १४ वर्षसम्मका २० करोड बालबच्चाहरूले भने मजदुरी गर्नु परिरहेको छ। २० करोडमध्ये धेरैले फुल टाइम काम गर्ने गर्छन्। जसका कारण ति बालबालिकाहरू स्कुल जानसमेत पाउँदैनन् अथवा आफ्नो बाल्यकालकको मज्जा लिन पाउँदैनन्। स्कुल जान नपाउनुको अर्थ हो, गरिबीको यो कहालिलाग्दो दुस्चक्रबाट कहिल्यै निस्कन नपाउनु।

एकदमै डरलाग्दो अवस्थामा काम गर्नुपर्दा उनीहरूले घातक स्वास्थ्य समस्या पनि झेल्नुपर्ने हुन्छ। उनीहरूले गर्हुंगा भारीहरू बोक्नुपर्ने हुन्छ। कुनै सुरक्षा कवचविना नै विषालु केमिकलहरूसँग खेल्नुपर्ने हुन्छ। कतिपय बालबच्चाहरू त घरेलु दासका रूपमा प्रयोग गरिन्छन्। कतिपय अवस्थामा ती देहव्यापार र लागुऔषध ओसारपसारका लागि प्रयोग गरिन्छन्। तर सबै प्रकारका बालश्रमहरू खराबै हुन्छन् भन्ने होइन, आफ्नो घरमा या पारिवारिक व्यवसायमा आफ्नो स्कुलपछिको फुर्सदिलो समयमा बाआमा वा परिवारलाई सहयोग गर्ने एउटा कुरा हो। सकारात्मक अनुभव हो। तर वयस्कले गर्ने काम आधा कम पैसा लगाएर बच्चालाई शोषण गर्ने कुरा सार्है खराब हो।

त्यसो हुँदा गरिबीको अन्त्यका लागि पूँजिवादको अन्त्य हुनुपर्छ। र, हामीलाई लाग्छ, गरिबीबिरुद्ध लड्नका लागि संरचनात्मक परिवर्तन अत्यावश्यक छ। त्यसका लागि गरिबीको खास कारण के हो भनेर सबैले बुझ्नु आवश्यक छ। ‘मेरो पुर्वजन्मको पापले म गरीब भएको हुँ’ अथवा ‘मान्छेहरू अल्छी भएका कारण तिनीहरू गरीब भएका हुन्’ भन्ने धारणा भत्किनु जरुरी छ। र, जबसम्म नाफा र तथाकथित आर्थिक समृद्धिभन्दा एकता, मित्रता र बाँच्नका लागि राम्रो अवस्थालाई प्राथमिकतामा राखिँदैन, तबसम्म गरिबी अन्त्य सम्भव छैन। मान्छेभन्दा पहिले नाफा भन्ने अवधारणा र मान्छेलाई केबल मानवीय पूँजि ठान्ने अवधारणा अन्त्य नभएसम्म समाजमा गरिबी रहिरहन्छ।

आइएफएमएसइआइडटओरजीबाट प्रकाश अजातको अनुवाद। नेपाल रिडर्सबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here