आफुले पालेको गाई मरे पछि बाहुण्डाँगीका दाहालले गरे विधिपूर्वक किरिया


१ असार २०७८, मंगलवार १५:१४ मा प्रकाशित

बाहुँण्डागी, ३१ जेष्ठ ।। बिस ।। घरको परिवारको मृत्यु हुँदा संस्कार अनुसार किरिया बार्ने संस्कार सबैलाई थाहै हुन्छ तर आफुले पालेको कुनै जनावरको मृत्यु भयो भने पनि परिवारकै सदस्य सरह किरिया बारेको भन्ने कमैले सुनेको हुन सक्छ । मेचीनगरमा यस्तै भएको छ । मेचीनगर नगरपालिका वडा नं. २ बाहुण्डागीका दाहाल परिवारले पालेको गाउँ मरे पछि हिन्दु संस्कार अनुसार किरीया बारेका छने । संगम चौकका ५३ वर्षीय खगेन्द्र दाहाल आफुले पालेको गाई मरेपछि किरिया बारेर बस्नु भएको छ ।
दाहालको घरमा पालेको पहिलो बेते लहिनो गाई जेठ २५ गते कालगतिले मरेको थियो । तर मर्ने बेलामा गाईको दाम्लो नखोलिएको कारण धार्मिक विश्वास अनुसार किरिया बारेको दाहालले बताउनु भयो ।

Advertisement

हिन्दू धर्ममा गाईलाई आमाको रुपमा पूजिन्छ र मृत्युमा श्रद्धा व्यक्त गरिन्छ । आफुले पालेको र आमा सरह दुध दिने गाईप्रतिको मनैदेखिको श्रद्धाका कारण आफुले दश काजकिरिया गरिरहेको दाहालले बताउनु भयो ।

मानिस मर्दा गरिने दशगात्र कर्मसरह दश दिने किरिया बार्ने उहाँले बताउनु भयो । दश दिनका दिन ब्राह्मण बोलाएर विधिपूर्वक कर्मकाण्ड गर्ने पनि बताउनु भयो ।
अहिले दाहाल गाईको थलामा नै कोरामा बस्नु भएको छ । कसैले नछोउन् भनेर अलग्गै कुशको दाम्लो बेरेर बस्नु भएको छ ।

कोरामा बसेको थलाको अर्को छेउमा एउटा बाछो छ । त्यो त्यही मृत गाईको बाछो हो । जर्सी जातको हाइब्रिड गाई पहिलो बेतमा लहिनो भएको दश दिनमा मरेको थियो ।

मरेको गाईलाई थला नजिकै गाडिएको छ । दश दिने किरिया सकेर कोकामा लगेर विधिपूर्वक दाम्लो सेलाउने उहाँले बताउनुु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here