मैले समाचार लेख्न छोडेको छु


१८ जेष्ठ २०७८, मंगलवार ०८:४५ मा प्रकाशित

।। कविता ।।
ज्ञानेन्द्र निरौला ।।

Advertisement


मैले हिजोआज समाचार लेख्न छोडेको छु ।
मेरा समाचारले हिजोआज घटना होइन मृत्यु गन्न थालेका छन ।।

मान्छे आत्तिएका छन, मान्छे चिच्याएका छन
तर पनि म तिनको पीडा लेख्न छोडेको छु ।
किनकि मैले हिजोआज समाचार लेख्न छोडेको छु ।।

कति लेखौं अक्सिजन छैन भनेर,
कति लेखौं अस्पताल भरिए भनेर
अनि कति लेखौं आज यति मान्छे मरे भनेर ।
त्यसैले त मैले हिजोआज समाचार लेख्न छोडेको छु ।
किनकि म हिजोआज मृत्यु गन्न थालेको छु ।।

जति नागरिक मरे पनि
अस्पतालको ढोकैमा लाश थुप्रिए पनि
मेरो सरकार मस्त निन्द्रामा छ ।
ऊ उठ्दैन, अहं उठ्दैन ।
किनकि सत्तारोहण र सत्ता बचाउने मिठो सपनामा ऊ छ ।

भिड नगर भन्ने सरकार
आफैं हजारौंको रथयात्रा निकाल्छ ।
विज्ञले समयमा नै तयारी गरौं न भन्दा
बेसारपानी र अम्बकको पात खानु पर्छ भन्छ ।

नागरिकको जीवन रक्षा गरौं न भन्दा
बनाउन बाँकी नै रहेको धरहराको उदघाटन गर्नुपर्छ भन्छ ।
दैनिक नागरिक मर्दै गर्दा
तिनको जीवनभन्दा
आफ्नो कुर्र्सी बचाउन
समय र पैसा खर्च गर्छ ।
त्यसैले त मैले हिजोआज समाचार लेख्न छोडेको छु ।
किनकि म अहिले मृत्यु गन्न थालेको छु ।
(कवि सेतापत्र डक कमका संपादक हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here