नेकपाको वैचारिक पक्ष, गतिरोध र निकास


७ श्रावण २०७७, बुधबार ०९:०४ मा प्रकाशित

Advertisement

रमेश गुरागाईँ,
धाउबाट प्रशोधन गरी निकालिएको फलाम निकै बलियो धातु हो । तर, प्रकृतिमा बलियोको अस्तित्व निर्विकल्प हुँदैन । ओसिलोपन र अक्सिजन सम्पर्कमा पुगेपछि त्यही फलाममा खिया लाग्छ । जुन निकै कमजोर र अनुपयोगी पदार्थ हो । दुई वर्षअघि ठूला पार्टी अर्थात् कम्युनिस्ट आन्दोलनका मुख्य दुई भङ्गलाहरू एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धाउबाट खारिएको फलाम नै हो, थियो । यसमा खिया लाग्न थाल्यो भने यो स्वतः कमजोर हुँदै जान्छ । पार्टीमा खिया लाग्नु भनेको वैचारिक रूपमा कमजोर हुनु हो ।
के हो वैचारिक पक्ष ?
आज नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस । यो संजोग होइन, यसैलाई छलफलको अवसर बनाइएको हो । १९८१ साल असार १५ गते जन्मिनुभएका पुष्पलालले १९४९ अप्रिल २२ तदानुसार २००६ साल बैशाख १० गतेका दिन कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको विधिवत स्थापना गर्नुभएको थियो । त्यसबेलादेखि नै नेकपाको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । यो पार्टीलाई क्रान्तिको बाटो देखाउने आँखा हो ।
माक्र्सवादविज्ञान हो । विज्ञान भएकैले यो कुन देशमा जन्मियो वा कति अघिको सिद्धान्त हो भन्ने प्रश्न उठ्दैन । प्रकृति विज्ञानमा भएका प्रगति विश्वभरका मानव समुदायले प्रयोग र आत्मसात गरे झैँ युगौँयुगसम्म संसारभरका सर्वहारा श्रमजीवीवर्गले माक्र्सवादका सिद्धान्त अवलम्बन गर्नेछन् ।
कुनै पनि विज्ञान आफैँमा पूर्ण र अन्तिम हुँदैन । यसर्थ माक्र्सवाद हुबहु नक्कल वा यसका मूल मर्म परित्याग गरेर प्रयोग हुन सक्दैन । यो नयाँनयाँ विचारबाट परिष्कृत हुँदै जान्छ ।लेनिनवाद माक्र्सवादको विकासको अर्को चरण हो ।माक्र्सवाद र लेनिनवाद छुट्टाछुट्टै विज्ञान होइनन् । माक्र्सवाद–लेनिनवादका संघटक अङ्ग दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवाद हुन् ।
पुँजीवादी युगमा प्रवेश गर्दैगर्दा पुँजीवादी क्रान्ति (पुँजीपतिवर्ग भर्सेज सामन्तवाद) बाट सामन्तवादको अन्त्य र पुँजीवादको स्थापना हुन्थ्यो । पुँजीवाद प्रतिस्पर्धात्मक स्वरुपबाट एकाधिकार साम्राज्यवादी चरणमा पुगेपछि सामन्तवादविरुद्ध क्रान्ति गर्न पुँजीपतिवर्गअसमर्थ हुँदै गयो । त्यसैले नयाँ जनवादी क्रान्ति (कम्युनिस्ट भर्सेज सामन्तवाद) बाट पुँजीवादको पूर्णता अपरिहार्य थियो । त्यसलाई नयाँ जनवाद भनियो । तर, हाम्रो देशको क्रान्ति मौलिक (कम्युनिस्ट+पुँजीपति भर्सेज सामन्तवाद) हो । त्यही क्रान्तिबाटसामन्तवादको समूल अन्त्य भई लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यस किसिमको क्रान्तिको कार्यक्रमका प्रतिपादक पुष्पलाल हुन् ।

सन्दर्भ : पुष्पलाल स्मृति दिवस


काँग्रेस र कम्युनिस्टको सहकार्यबाट जनतन्त्र पुनस्र्थापना गर्ने पुष्पलालको विचारलाई तत्कालिन काँग्रेसका नेता बीपी कोइरालाबाट उपेक्षा गरियो । कम्युनिस्ट नेता मोहनविक्रम सिंहबाट गद्दार घोषणा समेत भयो । अन्ततः पुष्पलालको निधनपछि भए पनि त्यही कार्यक्रम नेपालको राजनीतिमा लागू भएको पाइन्छ ।२०४६ र २०६२÷०६३ सालमा संयुक्त जनआन्दोलन भई महत्वपूर्ण राजनीतिक उपलब्धीहरु प्राप्त भएका हुन् । त्यसबेला बीपीको निधन भइसकेको एवम् क्रमशः गणेशमान र गिरिजाप्रसाद कोइराला संयुक्त आन्दोलनमा सहमत भएका परिघटना स्मरणीय छन् ।
पार्टी स्थापनापछि जारी पहिलो अपिलमा पुष्पलालले नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको र घरेलु सामन्तवाद, विस्तारवादी हस्तक्षेप र अन्तर्राष्ट्रिय साम्राज्यवादविरुद्ध नयाँ जनवादी क्रान्तिको कार्यक्रम निर्धारण गर्नुभएको थियो । यद्यपि त्यो बिन्दूबाट नेपालको कम्युनिस्ट आन्दोलन अघि बढेको छ ।महान् जनयुद्ध र २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलनपछि मूल रुपमा सामन्तवादको अन्त्य भएको छ र नयाँ जनवादी क्रान्तिका कार्यभार मूलभूत रुपमा सम्पन्न भएका छन् । अबको कार्यक्रम समाजवादउन्मुख हुनेछ । तत्कालिन माओवादी २०६९ माघमा हेटौडामा सम्पन्न सातौँ महाधिवेशन र तत्कालिन एमाले २०७१ असारमा काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनबाट छुट्टाछुट्टै रुपमा यो समान निष्कर्षमा पुगिसकेका थिए, जसले गर्दा पार्टी एकीकरण समेत सहज भएको हो ।
२०१९ सालको तेस्रो महाधिवेशनपछि नेकपा विभाजनको इतिहास शुरु भएको थियो ।पार्टी एकताको पहल गर्दैपुष्पलालले २०२३ सालमा गोरखपुर सम्मेलन आयोजना गर्नुभयो । यद्यपि एकताका पहल र प्रयत्न पर्याप्त भएनन् । जे भए पनि संस्थापक महासचिव आधारभूत रुपमा विचार र राजनीतिक कार्यदिशाका दृष्टिले सही हुँदाहुँदै उहाँको नेतृत्वमा पार्टी एकढिक्का हुन नसक्नु ऐतिहासिक भूल थियो ।पुष्पलालको निधन ५४ वर्षको अल्पायुमै भएको थियो । उहाँ जीवित रहँदादेखि २०१९ सालबाट २०७४ सालसम्म नेपाल कम्युनिस्ट पार्टी विभाजित रह्यो । कम्युनिस्ट पार्टी ५५ वर्षपछि मूल रुपमा एकढिक्का भएको छ । यसलाई पुष्पलालको सपना साकार भएको वा उहाँको वास्तविक सम्मान भएको घटनाको रुपमा लिन सकिन्छ ।
लोकतान्त्रिक गणतन्त्रलाई पुँजीपतिवर्गले बुर्जुवा गणतन्त्रमा रुपान्तरण गर्ने प्रयास गरिरहेको छ भने नेकपाले यसलाई जनमुखी र सर्वहारा श्रमजीवीवर्गको हितअनुकूल बनाउने लक्ष्य लिएको छ । जसलाई विगतमा एमालेले जनताको बहुदलीय जनवाद (जबज) र माओवादीले एक्काईसौँ शताब्दीको जनवाद (एशज) भन्दै आएकोमा पार्टी एकतापछि के भन्ने प्रश्न टड्कारो बनेको थियो । त्यसैले यसलाई समाजवादउन्मुख जनताको जनवादभनिएको छ । खासमा जबज र एशज तथा माओवाद जनवादी क्रान्ति सम्पन्न नभई अघि सारिएका थिए र ती मुख्य रुपमा जनवादी क्रान्तिको कार्यक्रमसँग सम्बन्धित थिए । यद्यपि दुवै पार्टीले समाजवाद स्थापनाको दिशामा अघि बढ्न समेत तिनै विचारलाई अँगालिरहेका थिए । यो सन्दर्भलाई ख्याल गर्दै आगामी समाजवादउन्मुख जनताको जनवाद कार्यक्रममा जबज र एशज तथा माओवादका विशेषतालाई समावेश गर्न जरुरी हुन्छ । त्यसका लागि जबज र एशज एवम् माओवादलाई आगामी महाधिवेशनमा बहसमा लैजाने पार्टीले निर्णय गरेको छ ।
के बुझ्न जरुरी छ भने जनताको जनवाद तत्कालिक वा न्यूनतम कार्यक्रम हो ।नेकपाको रणनीति समाजवाद हो । यसलाई अधिकतम कार्यक्रम भनिन्छ । यो साम्यवादसम्म पुग्छ । जुन पार्टीको उद्देश्य वा लक्ष्य हो र यसमा सबै नीतिहरुको समष्टि व्यक्त भएको हुन्छ । खासगरी राजतन्त्रको समूल अन्त्यपछि नेपाली समाजको मूल चरित्र सामन्तवादबाट पुँजीवादतिर संक्रमण भएको हो । सामन्तवादका अवशेषको अन्त्य र नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद स्थापनाको दिशामा अघि बढ्नु आज एकढिक्का भइसकेको कम्युनिस्ट पार्टीको कार्यक्रम भएको छ ।
नेकपामा गतिरोध
पुष्पलालले देखाएको बाटोबाट अघि बढेको कम्युनिस्ट आन्दोलन किन ढलपल भइरहन्छ ? पुष्पलाल स्मृति दिवसको छेउछाउमा पुनः पार्टी विभाजनका खतरा र त्यससँग सम्बन्धित अभिव्यक्ति र गतिविधिसम्म देखिनु दुःखद छ । अझ नेपाली समाजलाई समाजवादको दिशामा अघि बढाउने र सर्वहारा श्रमजीवीवर्गलाई ‘डेलिभरी’ दिने विषयमा बहससम्म छैन ।
निश्चित रूपमा पार्टी नीति र विधिमा चलेको छैन । कम्युनिस्ट आदर्श र मूल्यमान्यता सबै ओझेलमा परेका छन् । वैचारिक स्खलनले सीमा ननाघ्ला भन्न सकिन्न । काँग्रेस वा अरु पार्टीको तुलनामा नेता, कार्यकर्ता, व्यवहार, आचरण, कार्यक्रम र गतिविधि फरक छन् त ?उत्तर सहज छैन । नेता तथा कार्यकर्ताको ध्यान उक्त समस्याको समाधानतर्फ आकर्षित हुन सकेको छैन । सायद खिया लागेको पार्टीका यथेष्ट विशेषता यिनै हुन् ।
पार्टीभित्र कतैकतै त राजनीतिक क्रान्ति सकियो भन्ने अभिव्यक्ति पाइन्छ । त्यसो भए पार्टीका रणनीति समाजवाद र साम्यवाद के हुन् ? ती गैरराजनीतिक विषय हुन् र ?तिनलाई हामीले छोडिसकेका छौँ त ? हो, रणनीतिक लक्ष्य एकैचोटी हासिल हुने अवस्था छैन । यस्तो अवस्थामा पार्टीले तत्काल गर्ने काम र उद्देश्य ठोस गरेको हुन्छ, जसलाई कार्यनीति भनिन्छ ।
अहिले हाम्रो सन्दर्भमा समाजवादउन्मुख राष्ट्रिय औद्योगिक पुँजीको विकास अथवा राष्ट्रिय, स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको विकास र सामाजिक न्यायसहितको समृद्धि, संविधान कार्यान्वयन, राष्ट्रिय स्वाधीनता एवम् हितको रक्षा र समावेशी लोकतन्त्रको सफल प्रयोग कार्यनीतिक सवाल हुन् । विगतमा राजनीतिक परिवर्तनको अनुपातमा आर्थिक जनजीवनमा प्रगति नआइसकेको सन्दर्भमा पार्टीले यी कार्यक्रम अघि सारेको हो । राजनीतिक क्रान्ति छाडेको होइन ।
यद्यपि कार्यनीतिले अन्तिम रणनीतिक लक्ष्य हासिल गर्न सहयोगी भूमिका निर्वाह गर्नैपर्छ । यसर्थ कार्यनीतिले रणनीतिको सेवा गरिरहेको हुन्छ । कार्यनीति स्वयम् रणनीतिको एउटा अंश हो । परिस्थितिको फेरबदलसँगै कार्यनीति परिवर्तन हुन सक्छ । तर, कार्यनीति एकातिर र रणनीति अर्कोतिर विडम्बना हुनेछ ।
उचीत यात्रा र गन्तव्य
भनिन्छ, बाटो जहाँबाट अलमलियो, त्यहीँबाट पहिल्याउन शुरु गर्नुपर्छ । निश्चय पनि पार्टी एकता र गत निर्वाचनमा प्राप्त अपार सफलता अति सकारात्मक परिणाम थिए । अहिले पार्टीमा करिब आठ लाख सदस्यहरू छन् । पार्टी कमिटीका तल्ला तहसम्म एकता भइसकेका छैनन् । विभाग र जनवर्गीय संगठनका एकता अपूर्ण छन् । पार्टीमा जिम्मेवारीविहीन धेरै छन् । त्यसैले पार्टी एकताका काम दुई वर्ष बितिसकेको यो समयमा अझै बाँकी राख्नुहुन्न । हजार तर्क गरे पनि यो असफलता अब क्षम्य हुँदैन ।


पार्टीको नेतृत्वमा दुई तिहाइ नजिकको संघीय सरकार र छ वटा एकलौटी प्रादेशिक सरकार छन् ।समृद्धिको यात्रा जारी राखिराख्दा पार्टीमा छलफल जरुरी हुन्छ । पार्टीमा भएका सबै क्षमताहरूको केन्द्रिकरणबाट समृद्धिको खाका कोरिनुपर्छ । कम्तिमा ‘के हो समृद्धि ?’ भन्ने जानकारी पार्टी पङ्तिमा हुनैपर्छ । आमजनतालाई यस विषयमा बोल्न लगाउनुपर्छ । जनताले चाहेको र उनीहरूलाई खाँचो परेको समृद्धि सरकारको प्राथमिकतामा पर्नुपर्छ ।
पार्टी सञ्चालन गर्ने वैज्ञानिक विधि छ । विधान, नियमावली र निर्णयहरू छन् । समस्या आयो, साझा निष्कर्षमा पुग्न सकिएन भने त्यो पल्टाएर हेरे पुग्छ । के गर्नुपर्ने हो, त्यहीँ व्यवस्था छँदैछ । काम गर्ने क्रममा विधिविधानले हातखुट्टा बाँधिदिए भने संशोधन गर्ने उपाय पनि व्यवस्था छ । महाधिवेशन, अधिवेशन, बैठक, सदस्यता नविकरण गर्ने समय सबै निर्धारित छन् । त्यसलाई दृढतापूर्वक परिपालना गर्ने र गर्न नसकेमा जिम्मेवारीबाट बिदाइ हुने तरिका नै उचीत हुन्छ ।
पार्टीले सरकार सञ्चालनमा कमाण्ड र सहयोग दुवै गर्नुपर्छ । सरकार भनेको छुट्टै हो र सरकारमा पुगेपछि कसैले बोलाउन र चलाउन मिल्दैन भन्ने भावना गलत हुन्छ । पार्टी र विधिको सर्वोच्चतालाई शिरोधार्य गर्नैपर्छ । सबै तहका सरकारमा प्रतिनिधत्व गर्ने नेताहरूले पार्टी कमिटीको मातहत रहेर आफ्नो क्षमता प्रदर्शन गर्नुपर्छ । सरकारमा प्रतिनिधित्व गर्नु भनेको फगत पार्टीको विशिष्ट कार्यक्षेत्र सम्हाल्नु मात्र हो भन्ने सच्चाइलाई आत्मसात गर्नुपर्छ । सरकारका काम परिणाममुखी, प्रभावकारी र समाजवादउन्मुख हुनैपर्छ ।
वर्तमान सन्दर्भमा नेकपा केही समस्याले ग्रस्त बनेको दिनको घाम झैँ छर्लङ्ग छ । विचारलाई आत्मसात गर्ने र त्यसको विकासमा ध्यान दिने सवालमै मुख्य रूपमा पार्टी चुकिरहेको छ । इतिहासले सुम्पेका जिम्मेवारीलाई पार्टीले बेवास्ता गरेको आभाष हुन्छ । विगतमा एकतापूर्वका दुई पार्टीमा ठूल्ठूला अवगुण थिए । तिनलाई परित्याग गरी दुवैका असल पक्षहरूको अनुकरण गर्नु पार्टीको एकताको मक्सद हो । तर, दुवैका खराब पक्षहरूको अवलम्बन गर्दै जाँदा दोब्बर खराब हुने सम्भावना उत्तिकै छ । जुन पार्टी जीवनमा घातक हुन्छ भन्ने हेक्का राख्नुपर्छ ।
फलाममा खिया लागिसकेपछि हटाउने उपाय छैन । किनकि यो रासायनिक परिवर्तन हो । खाली थप खिया लाग्न नदिन ती पदार्थबाट अलग राख्न सक्नुपर्छ । अर्को उपाय भनेको ‘ग्याल्भानाइज्ड’ गर्न सकिन्छ । आज पुष्पलाललाई सम्झिरहँदा उहाँले अघि सार्नुभएको निरन्तर क्रान्तिको विचारबाट समाजवादको गन्तव्यमा पुग्नैपर्छ । त्यसका लागि पार्टीमा खियाका कारक तत्वहरूलाई नेकपाले अलग राख्ने कि अर्को उपाय लगाउने ? ढिला गर्नुहुन्न ।
साउन ७, २०७७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here