पुष्पराज पौडेल ।
नेपाली कांग्रेसका प्रत्येक कार्यकर्ताले अन्तरह्दयबाट लिने र सुन्नासाथ नतमस्तक हुने तथा सम्मान प्रकट गर्ने नाम हो “बिश्वेश्वर प्रसाद कोईराला” अर्थात विपि कोईराला । विपिले राज्य संचालनका बिषयमा होस वा अन्तराष्ट्रिय सन्दर्भमा ब्यक्त गरेका प्रत्येक बिचारले उबेला जति महत्व र प्रभाव राख्दथ्यो त्यति नै महत्व र प्रभाव अहिलेको सन्दर्भमा पनि रहेको पाईन्छ ।
विपि कोइरालालाई नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री भनेर मात्र सम्बोधन गर्नु अन्याय हुनेछ । नेपालबाट निरङ्कुस राणा शासन तथा निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्यका लागि जीवन पर्यन्त गरेको संघर्षले नेपाली जनताले उनलाई महामानवको संज्ञा दिएका हुन । विपि कै दुरदर्शी सोच तथा निर्णयबाट देश आजको परिस्थितिसम्म आईपुगेको छ । आज साउन ६ गते ३८ औं स्मृति दिवसलाई नेपाली कांग्रेसले राष्ट्रिय महत्वको रुपमा मनाएर बिपिलाई सम्झिरहदा उनले ल्याएका राज्य संचालनका लोकतान्त्रिक समाजवादी नीति तथा कार्यक्रहरु कांग्रेस सरकारमा भएका बखत नेपाली जनताकालागि दियो त ? दियो भने के के दियो । नदिएका के के छन् ? बिगतका घटनाक्रमलाई बिश्लेषण गरेर आगामी फागुन ७ गतेबाट हुने नेपाली कांग्रेसको महाधिवेशनमा कांग्रेसको भावी लक्ष्य, उदेश्य तथा रणनीतिक कार्ययोजना तय गर्न जरुरी छ ।
यस लेखमा बीपीका सबै बिचारहरुलाई समेट्दै एकिकृत रुपमा वा प्रत्येक बिषयमा अलग अलग ब्याख्या गर्ने क्षमतामा मेरो पहुंच पक्कै नपुग्ला तर नेपाल एक बिकाशोन्मुख मूलुक तथा कृषि प्रधान देश भएकाले अधिकाशं जनता गरिबीको रेखामुनी र कृषि पेशामा संलग्न भएका ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई हेरेर बिपिको समाजवादमा ग्रामीण क्षेत्रबारे आफ्नै पारामा सानो चर्चा गर्ने कोशिस गरेको छु । साथै मेरो बुद्धि बिवेकले भ्याएसम्म आगामी लेखमा थप बिषयहरुबारे आफ्नै स्तरको लेखन शैलीबाट प्रयासरत हुनेछु ।
विपिको बिचारमा समाजवाद भनेको “जुन नीति तथा कार्यक्रमले ग्रामीण क्षेत्रमा बसोबास गर्ने किसानहरुको भलाई गर्छ त्यो नै समाजवाद हो किनकी नेपाल एउटा गांउ हो । नेपालको अधिकांश भूभाग गांउ छ र त्यहां बस्ने किसान छन् ।” समाजवादको यस परिभाषालाई हेर्दा विपिले नेपालको परिपेक्ष्यमा आफ्नो भूगोल, माटो र राष्ट्रियता सुहाउदो ब्याख्या गरेका छन । नेपालको संबिधान २०७२ मा समेत समाजवादन्मूख नेपाली अर्थतन्त्रको बिकाशले स्थान पाएको सन्दर्भमा नेपाली कांग्रेस पार्टीले विपिको अवधारणा अनुरुपको ग्रामीण अर्थतन्त्रमा आधारित नेपालको भूगोल र माटो सुहाउदो समाजवादको वहसलाई अगाडी ल्याउनु जरुरी छ । विपिको परिकल्पनामा नेपालका जनता जो गरीब छन र गांउमा बसोबास गर्दछन, तिनीहरुको एउटा सानो घर होस साथै दुहुना गाई । उनीहरुका छोराछोरीहरुले पढ्न पाउन । बिरामी भएका बखत औषधिमुलो गर्न पाउन । स्थानीय कच्चा पदार्थमा आधारित कुटिर तथा साना घरेलु उद्योगको संचालन र संरक्षणका कार्यक्रम गरियोस साथै प्रगतिशिल कर प्रणालीजस्ता ग्रामीण समाजवाद उन्मुख प्रमुख तत्वहरुको ब्याख्या गरिएको छ । त्यस बखतको नेपाललाई हेरेर बिकाशको परिकल्पना गरिएको भएता पनि अहिलेको समयमा यो त्यतिनै महत्वपुर्ण र सान्दर्भिक छ ।
सानो घरलाई नेपालको संविधानमा आबासको हकसंग सम्बन्धित मान्नु पर्दछ भने छोराछोरीले पढ्न पाउने कुरालाई निशुल्क शिक्षाको नैसर्गिक अधिकारसंग सम्बन्धित छ । त्यसरी नै बिरामी भएका बखत औषधिमुलो गर्न पाउन भन्ने कुरा स्वास्थ्य र उपचार सुविधासंग सम्बन्धित छ । स्थानीय कच्चा पदार्थमा आधारित कुटिर तथा साना उद्योगको संचालन भनेको ग्रामिण क्षेत्रमा उपलब्ध हुने उत्पादनका साधनहरुबाट आर्थिक कृयाकलापमा बृद्धि भई गांउमुखी अर्थतन्त्रको बिकाशमा सहयोग पुग्न जान्छ । यसले देशमा बढ्दो बेरोजगारी समस्या कम गर्नमा तथा शहर तथा बिदेश केन्द्रित जनसंख्यालाई नियन्त्रण गर्नलाई समेत मद्दत गर्दछ । नेपालको ग्रामीण क्षेत्र र त्यहां बसोबास गर्ने गरीब नेपाली नागरिकलाई मस्तिष्कमा राखेर हामी आफै एक पटक सोचौं त ? विपिले त्यस बखत गरेको ग्रामीण नेपालको बिकाश र समृद्धिको परिकल्पना र अहिलेको नेपालमा के फरक छ । धेरै फरक पक्कै छैन । देशको बिकाश र समृद्धि सोच्ने हो भने अझै विपिकै अवधारणा अनुरुप ग्रामीण वितरणमुखि अर्थतन्त्र अगाल्नुको बिकल्प छैन । त्यसैले फेरीपनि नेपाली कांग्रेसले आगामी १४ औं महाधिवेशनबाट विपिको ग्रामीणमुखि समाजवादलाई नेपालको भौगोलिक माटो र राष्ट्रि«यता सुहाउदो बनाउदै ब्याख्या गर्नु जरुरी छ ।
नेपाली कांग्रेसले अंगाल्दै आएको लोकतन्त्र र समाजवाद दुई फरक तर एक अर्कासंग नङ र मासु जस्तो सम्बन्ध राख्ने बिचारहरु हुन । समाजवादमा देशको अर्थतन्त्र ब्यवस्थालाई कसरी परिचालित गर्ने भन्ने बिषय बस्तुसंग सम्बन्धित हुन्छ भने लोकतन्त्रले देशको शासन ब्यवस्थाको संचालन तथा शासनको नेतृत्व कसले गर्ने भन्ने विधि र प्रकृयासंग सम्बन्धित हुन्छ । यी दुवै तत्वहरु समान तथा आवधिक रुपमा अगाडी बढ्नु नै विपिले परिकल्पना गरेको र नेपाली कांग्रेसले अवलम्बन गरिरहेको लोकतान्त्रिक समाजवाद हो ।
लोकतन्त्रको सुन्दरता भनेको आवधिक रुपमा हुनुपर्ने जननिर्वाचित निर्वाचन प्रणाली हो । देशले सोही प्रकृया अन्तर्गत तीनै तहका जननिर्वाचित सरकारहरु पाएको छ । सोही निर्वाचन मार्फत नेपाल कम्युनिष्ट पार्टीको बहुमत सरकार बन्यो । तीनै तहमा प्रायः नेकपाबाट प्रतिनिधित्व सरकारहरु बनेका छन । यो सरकारले देशलाई केही त देला साथै गरिबीको रेखामुनी रहेका अधिकाशं जनताहरुलाई आधारभूत आवश्यकता परिपुर्ति गर्नमा पक्कै समाजवाद उन्मुख कार्यक्रमहरु ल्याउला भन्ने ठुलो जनअपेक्षा थियो । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना कहरका बिचमा नेपाल पनि प्रभावित भयो । स्वास्थ्य सामाग्रीको अभावमा अकालमा ज्यान जाने अवस्था सिर्जना भयो । बिभिन्न मुलुकमा रोजगारीको खोजीमा गएका लाखौं नेपाली दाजुभाई तथा दिदी बहिनीहरु बेरोजगार भएर आफ्नै मुलुक फर्किरहेको समयमा सरकार नागरिक सुरक्षाका निम्ति ज्यादै संबेदनशिल बन्छ र राहतको प्याकेज घोषणाका कार्यक्रमहरु ल्याउछ भन्ने बिश्वासका बिपरित देशमा भष्ट्रचारका काण्डै काण्ड मच्चिए । देशका संबैधानिक अंगहरुमा राजनैतिक हस्तक्षेप ब्याप्त भयो । ठेक्का पट्टामा गुण्डागर्दी, संसदीय तथा लोकतान्त्रिक परिपाटीको खिल्ली उडाउदै एकल अधिनायकवादी सोचकासाथ अगाडी बढीरहेको नेकपा सरकारका प्रधानमन्त्री केपी ओलीको शुन्य राजनितिक संस्कार र अलोकतान्त्रिक हैकमवादी प्रबृत्तिले देश नराम्ररी लोकतान्त्रिक पद्धति तथा बिकाशको पथबाट तल झरेको छ । यस दलदलबाट माथि उठाउन पनि विपिको ग्रामीण समाजवादी अर्थनीति देशले मागेको छ । कम्युनिष्ट सरकारको राज्य संचालनमा बसेकाहरुले विपिको बिकाश र समृद्धिका अवधारणा अवलम्बन गरे भने नारामा सिमित हुनपुगेको सुखी नेपाली, समृद्ध नेपालको सपना साकार हुनेमा दुईमत छैन ।
अन्तमा, विपिको बिचारलाई अन्तरमनबाट जान्ने, बुझ्ने र कार्यान्वयन ल्याउने प्रेरणा सबैमा मिलोस भन्दै जननायक बिश्वेश्वररप्रसाद कोईरालाप्रति हार्दिक हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । जयनेपाल ।