कोरोना संकटका बेला सिमानामा मानवीय सेवा


३० असार २०७७, मंगलवार १२:३७ मा प्रकाशित

सुुशिल आचार्य ।।
चीनको बुहानबाट सुरुभएको कोभिड १९ ले अहिले विश्व आक्रान्त भएकोछ । कसैले सोचेका पनि थिएनन् होला कोभिड १९ (कोरोनाभाइरस) ले विश्वलाई आर्थिक, सामाजिक र राजनीकि रुपमा यति धेरै ध्रुबिकृत गराउँछ भनेर । यसबाट नेपाल अछुतो रहने कुरै भएन । २०१९ डिसेम्बर ३१ मा पहिलो पटक देखापर्दा नेपाललाई सचेत रहन र तयारी गर्न ३ महिनाभन्दा बढिको समय थियो । पर्याप्त तयारी समयमा गर्न नसकेपनि चैत्र ११ गतेदेखिको लकडाउनले नेपाललाई सुरक्षित रहन धेरै सहयोग पुग्यो । हाल संसार कोरोना कहरले विश्वयुद्घकै झल्को दिने अवस्थामा छ ।
नेपालको सुदुर पूर्वको नाकाहाम्रो मेचीनगर यो महामारीबाट अछुतो रहने कुरै भएन । मलाई याद छ मेचीनगरमा क्रियाशील राजनीतिक दलहरुको तर्फबाट चैत्र ६ गते मेचीनगर नगरपालिकालाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएपछि मेचीनगरमा पनि कोभिड १९ को नियन्त्रण र सचेतना सम्बन्धमा काम सुरु भयो । नेपाल भारतको खुला सिमाना, लाखौँको संख्यामा दैनिक आवतजावत, अव्यवस्थित यातायातका साधन संगसंगै यहीँ बेलाबन्दै गरेको मेचीपुल र एसियन हाइवेका कारण व्यवस्थापनमा ठूलो चुनौती थियो । तर सबैको सहयोगबाट विस्तारै अव्यवस्थित र काहालीलाग्दो अवस्थाबाट परिस्थिति सहज वातावरण तर्फ उन्मुख भयो ।
लकडाउन पछि जनजीवन ठप्प हुनपुग्यो । व्यावपार व्यवसाय, उद्योग, खेती, स्कुलकलेज सबै बन्द हुन पुगे । जसको परिणाम वेरोजगारहरु बढे र दैनिक ज्यालादारीमा काम गर्ने मानिसहरुलाई जीवनयापन गर्न कठिन हुन थाल्यो । मेचीनगर नगरपालिका राहतवितरणमा सबैको सहयोग लिएर जुट्यो । राहत वितरणको समय उचित थियो थिएन र वितरण गर्ने प्रणाली सही थियो थिएन समीक्षा गर्न बाँकी नै छ । तर सबैको चित्तबुझ्ने गरी पारदर्शी हिसाबले राहत वितरण भएन भन्ने अझै जन गुनासो आइरहेको छ ।
लकडाउन सुरु भएपछि पूर्वी नाका काँकरभिट्टा बन्द हुन पुग्यो । नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ आउने जाने मानिसहरु सहज रुपमा आवतजावत गर्न नपाएपछि सीमानाका काँकरभिट्टामा टाडाँ टाडाँदेखि पैदलआउने मानिसहरुको भिंड जम्मा हुन थाल्यो । सारा होटलहरु बन्दछन, पसलहरु बन्द छन, किनेर खाने कुनै उपाय छैन । यो अवस्थामा मान्छेहरु भोक भोकै हुन थाले । भारततर्फ जान भनी आएका मानिसहरु विचल्नीमा पर्न थाले । दुइ, तीन दिनदेखि खाना खान नपाएर मानिसहरु भोकभोकै बस्नु पर्ने अवस्था आयो । राति चोरबाटोबाट नेपाल र भारतका सुरक्षाकर्मीको आँखा छल्दै सिमापार गर्नु पर्ने कठिन बाध्यता, महिला केटाकेटीहरुको विजोगको अवस्था आखैँ अगाडि देखिन थाल्यो ।
मानिसले आफ्नो जीवनमा जतिसुकै तरक्की र सम्पन्नता हासिल गरे पनि अन्तत हातमुख जोड्ने कुरा नै सर्वाधिक महत्वको हुँदोरहेछ । व्यक्तिले आर्जन गरेका सबै वैभव र सुविधाहरु अलपत्र परेका बेला काम दिँदारहेनछन् । जब अन्नको अभावमा पेट खाली हुन्छ तब को ठुलो को सानो ? को कुन जातको को कुन धर्मको ? को कुन वर्गको सबै गौण बन्दारहेछन् । यस्तो बेला सास मात्र अड्याउन पाए हुन्थ्यो जस्तो हुँदोरहेछ । यस्ता भोका मान्छेहरुको अवस्थालाई देखेर केही सामाजिक अगुवा युवाहरुको मानवीय संदेदना जाग्यो र जन्मियो काँकरभिट्टा सोसाइटी ।
२०७७ जेठ १६ गते ५३ जनालाईबाट खाना खुवाएर सुरु भएको यो मानवीय कर्म असार १८ गतेसम्म चल्यो । त्यस पछि आउने जाने संख्या घटेको र होटहरुहरु विस्तारै खुल्न थालेकोले अवस्था सामान्य हुँदै गएकाले हाल स्थगित भएको छ । सोसाइटी मार्फत यसबेलासम्म १९,७५३ जना मान्छेहरुलाई खाना खुवाउन सफल भइएछ । दैनिक हजारौँको संख्यामा नेपालबाट भारततर्फ जाने र भारतबाट नेपालतर्फ आउने मानिसहरुलाई काकँरभिट्टा सोसाइटीले स्थानीय इलाका प्रहरी कार्यालयको सहयोगमा खाना खुवाउने काम गर्यो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोख्रेलको सहयोग हाम्रा लागि उर्जा बन्यो । स्थानीय सहयोगी व्यापारी, दाताहरुको सहयोग, नगरपालिकाको उत्प्रेरणा र नेपाल प्रहरीको सहकार्यमा काँकरभिट्टा सोसाइटीले एक दिनमा १९५३ जनासम्मलाई खाना खुवाउन सफल भयो । बिहान ६ बजेदेखि राति १२ बजेसम्म खाना पकाएर खुवाउने काम भयो । अहोरात्र खटने साथीहरुले कहिले थाकियो, अबभयो, सकिदैन अब भनेर भन्नु भएन । हुन त काँकरभिट्टा सोसाइटीले खान खुवाउनु भन्दा अघि साई सेवा समाज, रोटरी क्लब, लायन्स क्लब, होटल व्यवसायी संघ, मजदुर संघले पनि खाना वितरण गरेका थिए । साई सेवा समाजबाहेक अन्य संघसंस्थाले छोटो समयका लागि मात्र खुवाए । मेचीनगरमा राहत वितरण र झापाका बिभिन्न स्थानीय तहमा भिटीएम बाँडेर मेचीअभियानले सह्रानीय काम गर्यो । मानवीय सेवामा जुटेका सबै संघसंस्था र दानबिर दाताहरुलाई काँकरभिट्टासोसाइटी आभार प्रकट गर्दछ ।
काँकरभिट्टा सोसाइटीले हाललाई निशुल्क खाना खुवाउने सेवालाई स्थगित गरेपनि समय र परिस्थिति जटिल बन्दै गयो र फेरि आवश्यकता भयो भने महिनौ दिनसम्म पनि आफ्नो सेवाजारी राख्न तयार छ । समाजसंग अझैपनि सहयोगमा जुटेको चामलदाल तेल नुन मौज्दात छ । देशको अवस्था के हुन्छ थाहा छैन । कोभिड १९ काकारणले अझै निर्मम दिन आउँदैन भन्न सक्ने अवस्था छैन । मानवीय सेवामा भोका पेटहरुलाई खाना खुवाउन काँकरभिट्टा सोसाइटी सपर्पित भएर लाग्ने प्रण गर्दछ । कोरोना संकटबाट बचौं र अरुलाई पनि बचाऔं ।

Advertisement

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here