सलहको आक्रमण फेरि बढ्यो, सलह खेद्न टिन र थालको सहारा


३० असार २०७७, मंगलवार ०९:२८ मा प्रकाशित

३० असार, प्युठान । प्युठानका गाउँगाउँमा सलहले दुख दिन थालेपछि गाउँलेले टिन र थाल ठटाएर सलह भगाउन थालेका छन् । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रका मकैबालीमा सलह छिरेपछि किसानले टिन र थाल ठटाउँदै भगाउन थालेका हुन् ।
सलह आक्रमणका कारण हैरान भएका किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान यतिबेला चिन्तित बनेका छन् । लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१ का कृषक भोजबहादुर बस्नेतले बताए ।
उनका अनुसार सलहले धान, मकै, तरकारी बालीमा नोक्सान पु¥याइरहेको छ । “बालीभरि ढाक्ने गरी सलह बसेको छ”, कृषक बस्नेतले भने, “हाम्रो केही उपाय लागेन ।”
प्युठान नगरपालिकाका १० वडामा सलह फैलिएको छ । पाकिस्तानबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह जिल्लाका गाउँगाउँमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (धान–जोन) प्युठानका निमित्त प्रमुख कृषि अधिकृत सुमन खनालले जानकारी दिए ।
आइतबार सरुमारानी गाउँपालिका–१ बाङ्गेशालमा देखिएको सलह सोमबार प्युठानका गाउँगाउँमा प्रवेश गरेको थियो । सलहले प्युठान नगरपालिकासँगै जिल्लाका नौबहिनी, ऐरावती, गौमुखी, सरुमारानी, माण्डवी र भिमरुक गाउँपालिकामा बाली नष्ट गरेको अधिकृत खनालको भनाइ छ ।

Advertisement

के हो सलह किरा ?

सलह साधारण फट्याङ्ग्रा प्रजातिको किरा हो । सलह लाखौं वा करोडौंको संख्यामा हुन्छन् । यसले एक ठाउँबाट अर्को ठाउँमा वा एक खेतबाट अर्को खेतमा सर्दै त्यहाँ रहेको हरिया बनस्पति सखाप पार्छ ।

यसले बिरुवाका पातहरू खाएर सकिसकेपछि बिरुवाको हाँगा एवं बोक्रालाई समेत सखाप पार्ने क्षमता राख्छ ।

सलह किराले पु-याउने क्षतिको अनुमान नै भयलाग्दो

यो फट्याङ्ग्रा अन्य किराभन्दा बढी क्षति गर्ने खालको हुन्छ । यो किरा एक दिनमा लगभग एक सय ३० किलोमिटरसम्म हुल बनाएर हिँड्छ । यही गतिमा हिँड्दा नेपालको पूर्वी भागबाट पसेको सलह तीनदेखि चार दिनमा पश्चिम भागसम्म पुग्छ ।

संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनको तथ्यांकअनुसार साधारणतया यो किराले प्रतिदिन दुई ग्रामसम्म खान सक्छ ।

एक किलोमिटरको हुलमा हुने सलहको करिब ४ देखि ८ करोड संख्याले ३५ हजार जनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्न सक्छ । यसबाट यो किराको कृषि बालीमा क्षति गर्न सक्ने क्षमताको आकलन गर्न सकिन्छ ।

विज्ञहरू यसरी सलह बढ्नुमा हाल भएको जलवायु परिवर्तनलाई महत्वपूर्ण कारण ठान्दछन् । नेपाललगायत संसारका सबैजसो भू–भागमा वातावरणीय परिवर्तनले केही न्यानो बढेको छ ।

जसले गर्दा सलहका लागि उपयुक्त वातावरण हुने र यसले आफ्नो जीवनचक्रमा परिवर्तन ल्याइ आफ्ना गतिविधि तथा प्रजनन् क्षमता वृद्धि गर्दै यसको फैलावट बढेमा नेपालमा पनि जोखिम बढने बताउँछन ।

तर, यता कृषि विज्ञ डाक्टर डिल्लीराम शर्मा भने नेपालमा मरुभूमि नभएको कारण यहाँको वातावरण सलह किराको प्रजननको लागि उपयुक्त नहुने धारणा राख्नु हुन्छ ।

सलह किरा तुरुन्त नियन्त्रण वा काबुमा पार्नका लागि सुरक्षित विषादीको प्रयोग नै उचित मानिएको छ । सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here