विचार विहिन मान्छे र चालक विहिन सवारी उस्तै हो


२९ असार २०७७, सोमबार १४:२४ मा प्रकाशित

कोरोना भाइरसको महामारीले विश्वलाई आक्रान्त बनाइरहेको छ । यस अघि कहिल्यै नव्यहोरेको संकट विश्व समुदायले कोभिड १९ रोगका कारण व्यहार्नु परेको छ । ठुलठुला शक्ति राष्ट्रहरु त्राहिमाम भएकाछन् । डिसेम्बर ३१–२०१९ मा चिनमा पहिले पटक देखा परेको कोरोना भाइरसका कारण विश्वमा हालसम्म ५ लाख ७१ हजार ५ सय ७५ जनाले ज्यान गुमाइसकेका छन् भने रोगको संक्रमण १ करोड ३० लाख ३६ हजार ६ सय १२ जनामा देखिएको छ । नेपालमा हालसम्म १६ हजार ८ सय १ जनामा संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या ३८ पुगिसकेको छ । यो क्रम बढ्दो छ । यसको नियन्त्रणको एकमात्र प्रभावकारी उपायका रुपमा लकडाउनलाई अभ्यास गरिएको छ । यसै क्रममा नेपालले पनि गएको चैत्र ११ गतेदेखि लकडाउन पालना गरिरहेको छ ।
कोरोना भाइरसको संक्रमणबाट उत्पन्न परिस्थितिले विश्व अर्थ तन्त्रमा नराम्ररी प्रभाव पारेको छ । कयौ मुलुलकहरुको अर्थतन्त्र तहस नहस भएको छ भने हाम्रो जस्तो विकासशील देशहरुलाई तंग्रिन निक्कै कठिन हुने देखिएको छ । खासगरेर पर्यटन बजार पूर्णरुपमा ध्वस्त भएको छ । यातायात व्यवसाय चौपट भएको छ । अर्थतन्त्रमाथि चौतर्फी नकरात्मक असर देखिएको छ । लाखौले रोजगारी गुमाउनु पर्ने अवस्था छ । साना ठुला सबै व्यवसायहरुले संकट झेलिरहेका छन् । कुनै क्षेत्र अछुतो छैन । यस्तो अवस्थामा अर्थतन्त्रलाई पुनजीवन दिन के गर्नु पर्दछ ? कस कसका कस्ता भूमिका हुन सक्छन् ? श्रमको विश्व बजारबाट रोजगार गुमाएर फर्केका युवा जनशक्तिलाई स्वदेशमै रोजगारी कसरी सिर्जन ागर्न सकिन्छ ? समृद्धिको यात्राका लागि अबका बाटाहरु कस्ता हुन्छन् ? जस्ता विषयहरु यतिबेला सतहमा आएका छन् । यी र यस्ता गंभिर र ज्वलन्त विषयहरुका आवश्यक छलफल, विमर्श र बहसको आवश्यकता पर्दछ । विज्ञ र विष्लेषकहरुको विचारले आम नागरिकमा पार्ने प्रभाव नै देश निर्माणको बैचारिक आधार हो । यीनै सन्दर्भहरुको आवश्यकता पूरा गर्न हामीले आजबाट अर्थात आदिकवि भानुभक्त आचार्यको २०७ औ जयन्तीको अवसर पारेर लगअन हुने गरी विचारमञ्च डट कम न्यूज पोर्टलको अनलाइन संस्करण प्रारम्भ गरेका छौं । यो अवसरमा नेपाली भाषा पिताका रुपमा परिचित भाषिक आन्दोलन मार्फत एकताको सुत्रमा बाध्न विशेष योगदान गर्नु हुने श्रद्धेय आदिकवि भानुभक्त आचार्य प्रति हार्दिक सम्मान सहित श्रद्धाञ्जली अर्पण गर्दछौं ।
विचार बिनाको मानिस चालक बिनाको सवारी जस्तै हुन्छ । एउटा सवारीलाई गन्तव्यसम्म सुरक्षित र व्यवस्थित रुपमा पुर्याउनका निम्ति जसरी कुसल, अनुभवी र दक्ष चालकको आवश्यकता पर्दछ ठीक त्यसैगरी मानिसको कुनै पनि समुहले आयोजना गर्ने कार्यक्रम वा आन्दोलनलाई निश्चित उद्देश्यसम्म पुर्याउन या सफलता प्राप्तिका लागि सुस्पष्ट र असल विचार सहितको नेतृत्वको आवश्यकता पर्दछ । यदि सवारी छ चालक छैन र समुह छ विचार छैन भने यी दुवै जडवत लाग्नेछन् । विचार विहिन अवस्थालाई जडवत अवस्था भने पनि हुन्छ । जडवत अवस्थामा रहेको वस्तु वा समुह जुन सुकै बेला मानव सभ्यताकै निम्ति जोखिम वा खतरा हुन सक्दछ । तसर्थ मानव सभ्यताको विकास र परिचालनका निम्ति बिचारको सर्वाधिक महत्व रहदै आएको छ । यहि महत्वलाई आत्मसाथ गर्दै समाजका अवयबहरुमाथि आलोचनात्मक चेत सहित छलफल र विमर्शहरु गरिने छन् । मौजुदा विश्व दृष्टिकोणहरुमाथि विवेचना र विमर्शहरु हुने छन् । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणका आधारमा वर्तमान समाजको चित्रण, विष्लेषण र व्याख्या गर्दै परिवर्तनका निम्ति बैचारिक योगदान गर्न वान्छनिय ठानेका छौं । शक्ति राष्ट्रहरुको प्रतिस्प्रधा र होडबाजी चलिरहेकै बेला कोरोना प्रकरण पछि विश्व व्यवस्थामा आउन सक्ने परिवर्तन समेतलाई ध्यानमा राखेर उन्नत मानव जीवनका निम्ति समाजवाद र लोकतन्त्रलाई मजबुत बनाउनु विचार मञ्चको अभिष्ठ रहेको छ ।
विचार प्रवाहको एउटा सशक्त माध्यम आम सञ्चार भएको र सूचना प्रवृधिमा आएको दु्रत विकासका उपलब्धी स्वरुप अनलाइन संस्करणको सहज पहुँच र प्रयोगमा हामी छौं । यस न्युज पोर्टल मार्फत मानिसका रुची, समाजका घटना र विषय वस्तुहरु विचार मञ्च डट कमका समचारीय क्षेत्रहरु हुन् । यसका निम्ति बिचार मञ्च डट कमले आम पत्रकारिताका विश्व व्यापी मान्यताहरु, यसका आदर्श र सिद्धान्तहरुलाई आत्मसाथ गर्ने छ । पत्रकारिताका आधारभूत मान्यताहरु, आचारसंहिता, राज्यका प्रचलित कानुनहरुको पालना हाम्रा अभ्यासका अनिवार्य सर्तहरु हुन् । मुलत कोरोना प्रकोपबाट नकरात्मक प्रभाव पारेको आम पत्रकारितालाई केहि हदसम्म भए पनि अनलाइन संस्करण मार्फत पुन जीवन दिने प्रयासमा एउटा इटा थप्न सकियोस भन्ने हाम्रो चाहना हो । नागरिकको सूचनामाथिको पहूचलाई सहज र प्रभावकारी बनाउँदै पत्रकारिताको व्यवासयिकता, निष्ठा र इमान्दारिता प्रति हामी प्रतिबद्ध छौं ।
मिति : २०७७ साल असार २९ गते सोमवार

Advertisement

2 COMMENTS

  1. विषयवस्तुको तर्कपूर्ण संश्ळेषण र व्याख्यान गर्ने वाक एवम् लेखन-कलाका शिल्पी तपाईंळाई बौद्धिक कळाकारिताको यो नयाॅं मंच सुव्यफाव्य हुनेछ – यो मेरो विश्वास हो । सफळताको शुभकामना तपाईंको साथ छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here