भर जन्म घाँसतिर मनदिई धन कमायो
नाम क्यै रहोस पछि भनेर कुवा खनायो,
घाँसी दरिद्रिघरको तर वुद्धि कस्तो
म भानुभक्त धनि भै कन आज यस्तो ।
आज असार २९ गते अर्थात् नेपाली साहित्यका एक धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मदिन, यस दिनलाई भानु यजन्तीका रुपमा नेपाली साहित्यका अनुरागी तथा शुभ चिन्तकहरुले पर्व सरह मनाउने गर्दछन् ।
भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रुपमा तनहुँको रम्घामा वि.सं. १८७१ असार २९ गते भएको थियो । बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका उनले एउटा घाँसीको घाँस काटेर पाटीपौवा बनाउने इच्छाबाट केही कृति राख्ने प्रेरणा पाएका थिए भन्ने भनाइ छ ।
भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । उनले प्रश्नोत्तर वि.स. १९१०, भक्तमाला वि.सं. (१९१०), वधूशिक्षा (वि.सं.१९१९) लगायतका कृतिहरु लेखेका छन् । उनका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकालयमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन् ।
नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालिन संकटपूण र अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतिक रागीवन र मृत्युका प्रतिक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे । नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका हुन् ।
कवि भानुभक्तको जीवन चरित्र वि.सं. १९४८ मा प्रकाशित गरेर पहिलोपल्ट भानुभक्तलाई तनहुँ चुँदीबाट झिकिएर बाहिर निकाल्ने काम गरे मोतिराम भट्टले । अनि मात्र त्यस बेलाको नेपाल (काठमाडौं उपत्यका) र वरपर रामायणका श्लोकसाग भानुभक्त गाइन थाले । सुब्बा होमनाथ, केदारनाथ, सर्वहितैषी कम्पनी, बाबु माधवप्रसाद देखि बम्बै पुस्तक भण्डारसम्म प्रकाशकहरुले कतै सातकाण्ड त आठकाण्डका रुपमा कतै भानुभक्तका रामायण, भक्तमाला र बधुशिक्षा आदि नामबाट प्रकाशन गरेर भानुभक्तलाई अझ व्यापक बनाए । वि.सं. १९८६ तिरबाट सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधान जस्ता व्यक्तिहरुले नेपालबाहिरका विभिन्न क्षेत्रमा भानुभक्तलाई यात्रा गराएपछि भानुभक्तले राष्टिय सीमा नाघेर अन्तराष्टिय नेपाली भाषी सबै क्षेत्रमा मान्यता पाएँ । भक्त भानुभक्तका रुपमा बालकृष्ण समले नाटकीय अभिनयसहित मञ्चमा उभ्याइदिएपछि २००२ भाद्र २२ को गोरखापत्रले पनि यसै यसरी लेखेको छ “गौरीशंकर नाट्यसमूदायले भक्त भानुभक्त नाटक देखायो । भानुभक्तको यौटा श्राद्ध मोतीराम भट्टले गरेथे । अर्काे गौरीशंकर नाट्यसमुदायबाट भयो ।”
भानुभक्तले ३७ वर्षको उमेरमा सरकारी जागिर पाए । तर हाकिमले दुई वर्षमा नै उनको जागिर खोसे । त्यसपछि उनलाई रकम हिनामिना गरेको अभियोगमा कुमारी चोकमा थुनियो । उनका लागि जेलयात्रा वरदान वन्यो । उनले त्यहाँ पाँच महिना कैदी हुदाँ रामायणको अयोध्या, अरण्य,श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद सके ।
नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन् । लेखनाथ पौडेलको त्यो घोषणा आजसम्म सार्थक छ । नेपाली समाजप्रति आदिकवि भानुभक्तको देन सम्झिने गोपाल पाँडे, नेपाली साहित्यमा भानुभक्तको स्थान खोज्ने कृष्णप्रसाद ज्ञवाली, भानुभक्तको काव्य साधनामा अलमलिने गणेश भण्डारी, भानुभक्तको परिचय दिने ज्योति उपाध्याय, आदिकवि भानुभक्त र उनको साहित्यिक साधनको पृष्ठभूमि पहिल्याउने प्रो. ढुण्डीराज भण्डारी, भानुभक्तलाई नेपालीहरुमा भाषात्मक एकता स्थापित गर्ने श्रेय दिने राजेश्वर देवकोटा, भानुभक्तको गाउँः अतितको सम्झनाभित्र राख्ने रामचन्द्र न्यौपाने, दुई जोईको पोईः भानुभक्त निक्र्यौल गर्ने काशीनाथ तमोट, कवि भानुभक्त र उनका दृष्टिमा नारी उभ्याईदिने राजेन्द्र सुवेदी, भानुभक्तको कान्तिपुर र आजको काठमाडौको तुलना गर्ने केशवराज पिँडाली, भानुको भावना बुझ्ने मुक्तिप्रसाद आचार्य, भानुभक्त विद्रोही र रुढिवाढी भावनाको समन्वय गराउने देवेन्द्रराज उपाध्याय, भानुभक्त रामायणबारे लेखिएका केही कुरा खोतल्ने रामदेव ठाकुर र नेपाली साहित्यका प्रज्वलित ज्योति आदिकवि भानुभक्त भन्दै मदन थापाहरु जस्ता धेरै पात्रहरु आएका छन् ।
भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जातिले मानसपिताकारुपमा ग्रहण गरेका छन् । नेपालमा मात्र नभएर भारतको दार्जलिङ्ग र सिक्किम राज्यले भानुजयन्तिलाई ठूलो पर्वकोरुपमा मानेका छन् ।
भानुभक्तमा केवल साहित्यिक ज्ञान मात्र थिएन, ज्योतिषशास्त्रमा पनि उनको राम्रै पहुँच देखिन्छ । उनका फुटकर कवितामा लेखिएको आफ्नो जन्मकुण्डलीस्थित लग्न, ग्रहस्थान, भाव, नवांश, स्वगृहीग्रह तथा घटी पला विपलाको प्रदर्शनले यो पुष्टि गर्दछ । सामान्य लेखपढका मान्छे मानिसलाई तिथि, वार, नक्षत्र आदिको जानकारी भए पनि ग्रहस्थान, नवांश, स्वगृही–परगृही, द्वादशभाव, ग्रहमैत्री जस्ता प्राविधिक पक्षको गणना ज्योतिषको राम्रो अध्ययन नगरी बताउन सकिन्न । त्यस्तै एक मित्रले दाङबाट पठाएको चिठिमा आयूको विचार गर्ने प्रश्न सोधिएकाले पनि उनि पनि ज्योतिषी थिए भन्ने प्रमाण पाईन्छ ।
फुटकर कवितामा लेखिएको पाशाको दाउ र पाशा खेलेको प्रसंगले दु्रतक्रिडामा पनि उनको ज्ञान भएको देखिन्छ । हालसम्म पनि उत्कृष्ट उपचार पद्धतिका रुपमा परिचित आयूर्वेद उपचारविधि र औषधिनिर्माण प्रक्रियाका सम्बन्धमा आदिकविको रचना पढ्दा उनी कुशल वैद्य भएको हुनुपर्छ । भैषज्यरत्नावली, चरकसंहिता आदिमा वर्णित औषधि निर्माण र प्रयोगविधिमा आधारित उनका पद्यहरुले उनको वैद्यत्व प्रमाणित गर्छ । ‘ई नेपाल सरि पूण्य भूमि त अहो देखिन मैले कतै’ भन्ने हरफबाट आदिकविको राष्ट्रप्रेम हदैसम्म झल्किएकाले भानुभक्त वास्तविक नेपाली कवि भएको थाहा पाइन्छ ।
ग्रामीण परिवेशको सामान्य परिवारमा जन्मेर पनि सस्ंकृतशिक्षाको राम्रो अध्ययन गरी समग्र नेपाली भाषीलाई एकताको सुत्रमा उन्न नेपाली भाषामा रामायण लेख्नु कवि भानुभक्तको विशिष्ट योगदान हो । कारावासमा बस्दा समेत अटुट रुपमा काव्यसाधना गरी २५ हजार श्लोक भएको संस्कृतको रामायणलाई १२ सय श्लोकमा सिमीत गरी शास्त्रीय छन्दमा सम्पूर्ण रामायणी कथालाई उतारी नेपाली भाषामा काव्यात्मक गति प्रदान गर्नु अत्यन्त कठिन कर्म हो । देशव्यापी रुपमा भानुजयन्ती मनाउने राष्ट्रिय परम्पराले भने उनी प्रति श्रद्धा प्रकट गरेको देखाउँछ । यसकारण बहुआयामिक व्यक्तित्वका धनी भानुभक्तलाई हामी सम्पूर्ण नेपाली र नेपालीभाषीले आदर र सम्मानका साथ स्मरण गर्नु पर्दछ । उनको जन्म जयन्तीको अवसरमा हार्दिक सम्मान सहित श्रद्धा सुमन अर्पण गर्दछौं । ( साभार÷स्रोतः विकिपिडिया र विभिन्न ई.पत्रिकाहरु )
मिति ः २०७७ साल असार २९ गते सोमवार ।