एजेन्सी ।। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने लक्ष्य लिइएको वार्ता यसै साता पुनः सुरु हुन सक्ने सङ्केत गरेका छन्।
इरानसँग गतसाता पाकिस्तानमा भएको वार्ता असफल भएपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको थियो।
“त्यहाँ (इस्लामाबादमै) बसिरहनुपर्छ अबको दुई दिनभित्र केही हुन सक्छ र हामी त्यसका लागि इच्छुक छौँ,” न्यूयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पको यो भनाइ उद्धृत गरिएको छ।
अमेरिकी सेनाले इरानी बन्दरगाह र तटीय क्षेत्रमा नाकाबन्दी सुरु भएको २४ घण्टासम्म कुनै पनि जहाज आवतजावत नगरेको बताए लगत्तै ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो।
अमेरिका र इरान फेरि आमनेसामने हुँदा आगामी साताबाट अन्त्य हुने दुई हप्ता लामो युद्धविरामको भविष्यप्रति आशङ्का उत्पन्न भएका छन्।
ट्रम्पको भनाइबारे इरानी पक्षले कुनै प्रतिक्रिया दिएको छैन। तर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले वार्ता पुनः सुरु हुने “उच्च सम्भावना” रहेको बताएका छन्।







