बैशाख १, काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ को शुभकामना दिँदै सामान्य राजनीतिक भाषणभन्दा फरक, कठोर र यथार्थवादी सन्देश दिएका छन् । उनले सामाजिक सञ्जालमा “खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् । हाम्रो तर्फबाट धेरै शुभकामना ।” भन्दै पोष्ट्याएका छन् ।
यो सन्देश सभापति लामिछानेको साधारण शुभकामना नभएर, स्पष्ट चेतावनी हो । ‘खील निकाल्ने’ भन्नाले दाँतको खराब भाग उखेल्नुपर्दा लाग्ने तीव्र पीडालाई संकेत गर्दछ — जुन पीडादायी हुन्छ तर रोगको जरा उखेल्न अनिवार्य पनि छ । रविले यो वर्ष मुलुकको पुरानो राजनीतिक बेथिति, भ्रष्टाचार, विकृति र संस्थागत कुशासनलाई ‘उखेल्ने’ प्रयासमा ठूलो दुखाइ पर्ने र त्यो दुखाइ सहन सक्ने सामथ्र्य आवश्यक पर्ने बताएका छन् । सामान्य शुभकामनामा ‘सुख, शान्ति र समृद्धि’ को कामना गर्ने परम्परालाई तोडेर उनले ‘दुख्छ, सहनुहोस्’ भन्ने कठोर सत्य बोलेका छन् ।
यो सन्देशलाई रविको हालको अवस्था र नेपाली राजनीतिको वर्तमान यथार्थसँग जोडेर हेर्नुपर्छ । केही महिनाअघि मात्र सहकारी ठगी प्रकरणमा जेल परेका रवि उच्च अदालतको आदेशपछि धरौटीमा रिहा भएका थिए । जेल बसाइ, मुद्दाको दबाब र पार्टीभित्रको आन्तरिक कलहका बीच उनले यो सन्देश दिएका छन् । हालै रास्वपाभित्र सभापति रवि र प्रधानमन्त्री बालेन शाहबीच उपसभामुख पदलगायत मुद्दामा मतभेद देखिएको खबर आएको थियो । यस्तो अवस्थामा ‘खील निकाल्ने’ भन्नु केवल शब्द मात्र नभएर, आफ्नै पार्टी र मुलुकको पुरानो व्यवस्थालाई चुनौती दिने सभापतिको योजनाको संकेत हो ।
नेपालको वर्तमान अवस्था हेर्दा रविको चेतावनी अत्यन्त सान्दर्भिक देखिन्छ । भ्रष्टाचारका मुद्दाहरू, सहकारी ठगी, सार्वजनिक सम्पत्तिको दुरुपयोग, न्यायिक ढिलासुस्ती र राजनीतिक दलहरूबीचको सत्ता स्वार्थले मुलुकलाई निरन्तर ‘खील’ बनाइरहेको छ । रविले विगतमा ‘सिधा कुरा जनता संग’ मार्फत यही बेथितिलाई उजागर गर्दै आएका थिए । अब उनी सत्तामा नभई प्रतिपक्ष वा नागरिक आन्दोलनको नेतृत्वबाटै यी विकृतिलाई ‘उखेल्ने’ तयारीमा छन् भन्ने प्रस्ट छ ।
तर यो ‘सर्जरी’ सजिलो छैन । पुराना दलहरू, प्रभावशाली व्यक्तिहरू र संस्थागत स्वार्थले प्रतिरोध गर्नेछन् । जेल, मुद्दा, सञ्चार दबाब र जनमतको विभाजन जस्ता दुखाइहरू आउन सक्छन् । रविले ठ्याक्कै यही यथार्थलाई स्वीकार गरेर जनतालाई तयार रहन आह्वान गरेका हुन सक्छ ।







