चैत्र २८, काठमाडौं ।। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १०० भन्दा बढी देशमाथि बुधबार लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेका छन् ।
नयाँ व्यापार वार्ताको अवसर प्रदान गर्न एक हप्ताअघि गरेको निर्णय उल्ट्याउनु परेको उनको भनाइ छ ।
तर ट्रम्पले चीनको हकमा भने पुरानो निर्णय कायमै राखेका छन् । बरु चीनमाथि लगाइएको भन्सार शुल्क १०४ प्रतिशत बाट बढाएर १२५ प्रतिशत पुर्याएका छन् ।
‘चीनले विश्व बजारप्रति आदर देखाएको छैन, त्यसैले म चीनमाथिको भन्सार शुल्क बढाएर १२५ प्रतिशत कायम गर्दैछु,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘यो निर्णय तत्काल लागू हुनेछ । चीनले अब अमेरिका र अन्य देशहरूलाई लुट्ने दिनहरू सकिएका छन् भनेर बुझ्नेछ भन्ने आशा छ ।’
ट्रम्पले अमेरिकासँग संवाद गर्ने देशलाई कर घटाउने सङ्केत गरेका छन् ।
अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले पनि यस्तै तर्क अगाडि सारेका छन् । ‘जुन देश अमेरिकासँग वार्ता गर्न इच्छुक छन्, उनीहरूमाथि भन्सार शुल्क १० प्रतिशत मात्र लाग्नेछ — जसमा क्यानडा र मेक्सिको पनि पर्छन् ।’