भीम रावललाई एकीकृत समाजवादीको निम्तो, उनी के सोचिरहेका छन्?


११ पुष २०८१, बिहीबार १८:३१ मा प्रकाशित

पौष ११, काठमाडौं ।। नेकपा एमालेको सङ्गठित सदस्यबाट निष्कासित भएका पूर्वउपप्रधान तथा गृहमन्त्री भीम रावललाई माधव नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफ्नो दलमा निम्तो गरेको नेताहरूले बताएका छन् i रावलले भने आफूले तत्काल कुनै पनि पार्टीमा जानेबारे नसोचेको बताए।

Advertisement

पाँच दशकदेखि राजनीतिमा सक्रिय रावलले अब एमालेमा रहने आफ्नो ढोका बन्द भएको बताएका छन्। “एमालेबाट निकालिसकेपछि अब एमालेमा रहने भन्ने प्रश्नै भएन,” उनले भने।

एमालेबाटै अलग भएका नेताहरूले गठन गरेको नेकपा एकीकृत समाजवादीमा आबद्ध हुन आफूलाई प्रस्ताव आएको रावलले बताएका छन्।

“मलाई माधव नेपालजीले धेरै अगाडि भेट्नुभएको थियो। ‘लौ, यो पार्टीमा आउनुपर्‍यो’ भन्नुभएको थियो। तर मैले मेरा विचारहरू देश र जनताबारेका धारणाहरूबारे तपाईँहरूका धारणा के छन्, ती पहिले प्रस्ट हुनुपर्‍यो भनेँ,” उनले भने।

आफूलाई “कुनै पदको मोह नभएको” बताउँदै रावलले ‘विदेशी हस्तक्षेप’, ‘अर्थतन्त्र’ र ‘नागरिकता’ लगायतका विषयमा आफूले नेकपा एकीकृत समाजवादीका धारणा माग गरेको बताए।

तत्काल अरू पार्टीमा ‘नजाने’

भीम रावल र माधव नेपाल
तस्बिरको क्याप्शन,एमाले विभाजन हुनुअघि रावल माधवकुमार नेपालसँग नजिक मानिन्थे

हाल एकीकृत समाजवादीमै रहेका एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल विसं २०४६ सालको आन्दोलनपछि बनेको अन्तरिम सरकारमा पहिलो पटक कृषि, भूमिसुधार तथा व्यवस्था मन्त्री हुँदा रावल उनको स्वकीय सचिव बनेका थिए।

त्यसको झन्डै २० वर्षपछि विसं २०६६ सालमा बनेको माधवकुमार नेपालको नेतृत्वको सरकारमा रावल गृहमन्त्री बनेका थिए।

एकीकृत समाजवादीका नेताहरूसँगको व्यक्तिगत निकटताका कारण पनि कतिपयले रावल एकीकृत समाजवादीमा जाने आशङ्का गरेका थिए।

बीबीसीको जिज्ञासामा रावलले माधव नेपालसँग भएको भेटको प्रसङ्ग उल्लेख गर्दै भने, “…ती कुराहरूमा तपाईँहरूका धारणा के छन् भन्नुहोस् त्यसपछि विचार गरौँला भनेको थिएँ। ती कुराहरू अलि स्पष्ट भएनन्। त्यसकारण अहिले तत्काल कुनै पनि राजनीतिक दलसँग मेरो कुनै वार्ता भएको छैन।”

उनले आफ्ना शुभचिन्तक र समर्थकहरूको सुझावका आधारमा अबको राजनीतिक यात्रा तय गर्ने बताएका छन्।

“अरू पार्टीमा जाने मैले सोचेको छैन,” रावलले भने।

“देश र जनताको भावना र देशको आवश्यकताबमोजिम, जनताको आकाङ्क्षाअनुसार र मलाई साथ दिने साथीहरू, नागरिक, देशभक्तका सरसल्लाह र सुझाव लिएर जस्तो दिशामा जानुपर्छ, म त्यो दिशामा जान्छु।”

उनले ‘हतार, उत्तेजना र आवेगमा’ कुनै पनि निर्णय नलिने बताएका छन्।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले रावललाई आफ्नो पार्टीमा आउने ढोका सधैँ खुल्ला रहेको बताए।

“उहाँ विगतमा पनि हामी केपी ओली प्रवृत्तिविरुद्ध लड्दा नेतृत्व गर्ने व्यक्ति हो। विद्रोह गर्ने बेलामा हामीले आउनुहोस् भन्दा उतै बस्नुभयो। तर पनि हामीले उहाँलाई सधैँ स्वागत गर्छौँ भनेका छौँ,” खतिवडाले भने।

“उहाँले ‘समय आयो भने सोचौँला’ भन्नुभएको थियो, अब समय आयो, उहाँले पनि सोच्नुहोला।”

गृह र रक्षामन्त्री भइसकेका रावलको विशेष गरी सुदूरपश्चिमका केही जिल्लाहरूमा पकड भएको जानकारहरू बताउँछन्। पछिल्लो संसदीय निर्वाचनमा एमालेले रावललाई गृहजिल्ला अछाममा टिकट दिएको थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here