क्यान्सरले बुवा बिते, ऋण तिर्न विदेश जान लागेको छोराको राज्यले ज्यान लियो


१३ पुष २०८०, शुक्रबार १८:२७ मा प्रकाशित

उनीहरू कोरिया रोजगारीमा जानका लागि आवेदन दिन चाहन्थे । पानीजहाज निर्माणका लागि परीक्षा दिएकाहरूले पनि त्यो अवसर पाउनुपर्ने युवाहरूको माग थियो । त्यही भिडमा थिए, दैलेखका २३ वर्षीय सुजन राउत । कोरिया भाषा परीक्षाको तयारीका लागि उनी काठमाडौं आएका थिए । युवाहरूले ईपीएस शाखा कार्यालय बालकुमारीनजिकै शुक्रबार गरेको आन्दोलनमा उनी पनि मिसिए । दुर्भाग्य, प्रहरीको निर्घात कुटपिटमा उनले ज्यान गुमाउनुपर्‍यो । 

Advertisement

प्रहरीको लाठीचार्जमा छातीमा गम्भीर चोट लागेपछि उनी सडकमै बेहोस भएर लडेका थिए । राउतको शरीरमा निलडाम थिए । साथीहरूले एम्बुलेन्स बोलाएर राउतलाई किस्ट मेडिकल कलेज पुर्‍याए । चिकित्सकले तत्कालै मृत घोषणा गरिदिए । 

आन्दोलनकारी युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाएपछि प्रहरी उत्तेजित भएको थियो । प्रहरीले अन्धाधुन्ध लाठी चार्ज र गोली प्रहार गरेको थियो । त्यसक्रममा डोटीका वीरेन्द्र शाहको पनि प्रहरीको गोली लागेर मृत्यु भएको छ ।

संयोग कस्तो भने दुई युवाको मृत्यु भएको केही घण्टामै उच्च अदालत पाटनले उनीहरूकै पक्षमा आदेश जारी गर्दै पानीजहाजको परीक्षामा सहभागी भएकाले अहिले उत्पादन क्षेत्रका लागि आवेदन दिनबाट वञ्चित भएका सबैलाई परीक्षामा सहभागी गराउन भनेको छ । यो आदेश केही घण्टा छिटो आएको भए बालकुमारीमा न आन्दोलन हुन्थ्यो, न त दुई जना युवाले ज्यान गुमाउनुपर्थ्याे । 

दैलेखबाट कोरिया जाने तयारीका साथ काठमाडौं आएका सुजन शुक्रबार खासमा आन्दोलनमा नभई त्यहाँको अवस्था हेर्न गएको बुझिएको छ । तर उनी प्रहरीको कुटाइबाट मारिए । 

सुजनको मृत्यु हुनुभन्दा एक वर्ष अगाडि उनका बाबु भक्तबहादुर राउतको क्यान्सरका कारण मृत्यु भएको थियो । दैलेखको महाबु गाउँपालिका घर भई दैलेख बजारमा व्यवसाय गरेको राउत परिवारको व्यवसाय राम्रो चलेको थियो । राउत दैलेख बजारमा एक सफल व्यवसायीका रुपमा परिचत थिए । उनी उद्योग वाणिज्य संघ दैलेखको उपाध्यक्षसमेत भएका थिए । 

तर, उनलाई क्यान्सर लाग्यो । व्यवसाय धानिरहेका भक्त क्यान्सरले थलिएपछि उनको व्यवसाय पनि थलियो । भएको सम्पत्ति पनि सकियो । तर उनी बाँचेनन् । गत वर्ष १२ मंसिरमा उनको उपचारकै क्रममा मृत्यु भयो । यसरी व्यवसाय चौपट र बाबुको मृत्युपछि छोराले रोजगारीका लागि कोरिया जानुपर्ने अवस्था आयो । तर, सुजन कोरिया जान पाएनन् । विधुवा आमा नन्दालाई जिम्मेवारीको थप भारी बोकाउँदै यो संसारबाट बिदा भए । 

सुजनको शव बुझ्न उनका मामा टेकबहादुर कटुवाललगायतका आफन्तहरू दैलेखबाट काठमाडौंका लागि हिँडिसकेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here