मध्यपहाडी यात्राको नालीवेली


३ पुष २०८०, मंगलवार १९:४६ मा प्रकाशित

शंकर पोखरेल

झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको यात्राको अवधि १८ दिनको रह्यो । बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु हुने यो यात्राको लागि धनगढीबाट सुरू भएको यात्रा समग्रमा २० दिनको रह्यो । यात्रामा हामीले ३० वटा जिल्लामा विभिन्न प्रकारका गतिविधिहरू सञ्चालन गर्यौं । मध्यपहाडी राजमार्गको झन्डै १८ सय किलोमिटर लामो राजमार्ग कस्तो अवस्थामा छ ? र त्यसको कसरी सुधार गर्न सकिन्छ ? भन्ने उद्देश्य पनि हाम्रो थियो । हामीले प्राविधिकहरूलाई ‘रोड अडिट’ पनि गर्न लगाएका थियौं । उहाँहरूले अध्ययन गर्नुभएको छ । हाम्रो सोच के हो भने मध्यपहाडलाई मुलुकको समृद्धिसँग जोड्ने हो भने मध्यपहाडी पुष्पलाल लोकमार्गको लम्बाई घटाउन सक्नुपर्दछ भन्ने हो ।

Advertisement

करिब चार सय किलोमिटर लम्बाइ घटाउने सम्भावनाका बारेमा अध्ययन गर्नुपर्छ भनेर प्राविधिकहरूलाई भनेका छौं । यो यात्राले के देखायो भने मध्यपहाडी राजमार्गको कतिपय ठाउँमा निर्माणको काम अझै हुन सकेको रहेनछ । खासगरी पश्चिम क्षेत्रको खण्डमा लगभग निर्माण सम्पन्न भएको रहेछ । धनगढीदेखि दैलेखसम्मको खण्डको निर्माण मोटामोटी सकिएको रहेछ । जाजरकोटमा केही बाँकी रहेको पायौं । भेरी नदीमा पुलको अभावले यात्रा अलि घुमाउरो बन्न पुग्यो । रूकुम पश्चिमबाट बाग्लुङ खण्डको एउटा निश्चित हिस्सा राम्रैगरी बनेको र केही भाग बन्न बाँकी रहेको पायौं ।

गोरखा, धादिङ, सिन्धुपाल्चोकमा राजमार्ग निर्माणको चरणमा रहेछ । यता हलेसी खण्डमा सिंगल लेन मात्रै रहेछ । त्यो खण्डमा सडक बिग्रेको अवस्थामा पायौं । खोटाङ, भोजपुर खण्डको अवस्था पनि राम्रो देखियो । धनकुटा पनि राम्रै रहेछ । तर तेह्रथुम खण्डमा धेरै समस्या रहेछ । पाँचथर खण्डमा चिवा भन्ज्याङ जानेतिर ट्रयाक मात्रै खोलिएको रहेछ । निर्माण बाँकी रहेको अवस्थामा हामीले यात्रा गरेको हुनाले कच्ची सडकमा लामो यात्रा कति कठिन हुन्छ भन्ने हामी सबै भुक्तभोगी नै बन्यौं ।

यात्राको सुरूमा धेरैले हाम्रो पार्टी अध्यक्ष यात्राका क्रममा उदघाटन गरेर फर्किनुहुन्छ होला भन्ने अनुमान गरेका थिए । तर, उहाँले सुरुदेखि नै यात्रा पूरा गर्छु, सबै ठाउँ पुग्छु भन्नुभएको थियो, संकल्प गर्नुभएको थियो । उहाँले यात्रा पूरा गर्नुभयो । यात्राका क्रममा उहाँ सबै क्षेत्रमा पुग्नुभयो । त्यसक्रममा हामीले देख्यौं, जनताको पार्टी अध्यक्ष (केपी शर्मा ओली) र पार्टीप्रतिको आस्था, विश्वास र समर्पणभाव अभूतपूर्व रूपमा प्रकट भयो । खासगरी बालकालिकाहरू, जसलाई हामी अत्यन्त ‘इनोसेन्ट’ हुन्छन भन्छौं, मान्छौं, उनीहरूमा सम्भवतः सोसल मिडियाको प्रभावले हुनसक्छ, कतिपय गैरराजनीतिक परिवारका, फरक राजनीतिक आस्था भएका परिवारका बालबालिका पनि परिवारसँग जिद्दी गरेर पनि अध्यक्ष (ओली) लाई भेट्न आएको पायौं । यसले हाम्रो पार्टी अध्यक्षप्रतिको बालबालिकाको ‘क्रेज’ बताएको छ ।

एक त पार्टी अध्यक्ष आफैँ बालबालिकालाई धेरै माया गर्नुहुन्छ । यात्राका क्रममा के पायौं भने उहाँप्रति बालबालिकाको आकर्षण अभूतपूर्व रहेछ । वृद्धवृद्धाहरू चिसो मौसमा पनि तीन चार घन्टासम्म प्रतीक्षा गरेर भए पनि भेटिछाड्ने अठोटमा रहेको पायौं । राति नौ–दस बजेसम्म पनि उहाँहरू सकडमा उभिइरहेको पायौं । यस्ले बृद्धबृद्धामा पनि अध्यक्षप्रतिको आकर्षण रहेको प्रष्ट पारेको छ ।

यो यात्राको क्रममा नजिक आउन खोज्ने, माला लगाइदिन खोज्ने, आफ्ना कुरा राख्न खोज्ने, एक प्रकारको हुटहुटी यति ज्यादा प्रकट भएको अनभूति गर्यौं कि, एउटा जिल्लाका साथीहरू घरपरिवारमा बाआमाहरू र परिवारका सदस्यमा विवाद सुरु भएको छ भन्दै हुनुहन्थ्यो । उहाँहरु ‘मलाई किन त्यहाँ लगिनस’ भनेर गुनासो गर्ने स्थिति उत्पन्न भएको छ भन्नुहुन्थ्यो । यसले हाम्रो यात्राप्रतिको आम आकर्षण देखाउँछ ।

हामीले रहेक दिन बिहान ८ बजे यात्रा सुरू गर्ने र ५ बजेसम्म सक्ने योजना बनाएका थियौं । ठूलो टोलीको पहाडी क्षेत्रमा व्यवस्थापन असहज होला भन्ने लागेर त्यस्तो योजना बनाइएको थियो । तर, जनताको सहभागिता र प्रतीक्षाले कार्यक्रम यति थपिए कि, योजना अनुसार मात्रै गर्छु भन्ने अवस्था नै रहेन । जनता सडकमा आइसकेपछि यो तय भएको कार्यक्रम होइन भन्ने अवस्था नै रहेन । जनतालाई सम्बोधन गर्नपर्थ्यो, सम्बोधन गर्दै जाँदा धेरैतिर राति साढे दस बजेसम्म पनि औपचारिक कार्यक्रम गर्नुपर्यो, हामीले गर्यौं पनि ।

नुवाकोटमा अध्यक्षले सम्बोधन गर्दा रातको साढे दस बज्यो । रामेछापमा पनि सवा दस नै बजेको थियो । जाडो मौसममा रातिको समयमा पनि उत्साहका साथ सहभागी भएको पायौं । एक प्रकारले भन्दा सिंगो मध्यपहाडी क्षेत्र हाम्रो यात्रासँग प्रभावित भयो । अध्यक्षको नेतृत्वमा रहेको हाम्रो यात्रामा पार्टी नेतृत्वका प्रायः सबै सहभागी थियौं । पदाधिकारीको सिंगो टिम, व्यवस्थापनमा लाग्नेबाहेकका सबै हिँडनुभयो । एकप्रकारले सिंगो नेतृत्वको टिम यसरी यात्रा गरेको कुरा सम्भवतः नेपालका लागि विशेष घटना होला भन्ने मलाई लाग्छ । पहाडको यस्तो कठिन यात्रामा सिंगो टिम, हरेश नखाइ, नथाकी सामेल भएको दृष्टान्त हो यो भन्ने लाग्छ ।

अर्को सकारात्मक पक्ष के हो भन्दाखेरी, यात्रा एमालेको थियो । तर, जिल्लाहरूमा पुग्दै गर्दा यो एमालेको मात्रै रहेन । यात्रा जिल्लामा जाँदा सर्वदलीय, सर्वपक्षीय अपेक्षामा जोडियो । हरेक जिल्लमा टोली पुग्नुअगावै सर्वदलीय बैठक हुने, मागपत्र तयार गर्ने, मागपत्र प्रस्तुत गर्ने शृंखला नै चल्यो । यसो गर्नु भन्ने हाम्रो कुनै निर्देशन थिएन । स्वःस्फूर्त रूपमा यस्तो काम जिल्ला–जिल्लामा भए । यात्राको मनोवैज्ञानिक प्रभाव भन्नु नै यो यात्रा हामी सबैको हो भन्ने भएछ ।

यात्रामा सहभागी हुने हरेकले आफ्नो समस्या प्रस्तुत गर्ने चाहनाअनुसार सहभागी भएको पाइयो । सामूहिक समस्याका विषयमा धेरैले आफ्ना समस्या र योजना सुनाए । धेरैतिर रोडको कुरा, एलाइनमेन्टका विषय, मुआब्जाका विषयहरू र हल नभएका विषयहरूमा सहभागीले अपेक्षा र गुनासो राखे । आफ्नो जिल्लाको विकासका सन्दर्भमा, प्रदेशको विकासको सन्दर्भमा पनि योजनाहरू प्रस्तुत गर्ने काम भए । आफ्नो ठाउँ पछि परेकोमा चिन्ता गर्दै आफ्ना कुरा राख्न भेला हुने क्रम पनि उत्तिकै भयो । यसरी स्वःस्फूर्त रूपमा ठाउँ–ठाउँमा गाउँलेहरू योजनासाथ प्रस्तुत भए ।

अहिले फूलको सिजनले हो या सम्मान भावले, मालामा पनि त्यो प्रकट भएको देखियो । यति धेरै मालाहरू कि संकलन गरेको भए एउटा पहाड तयार हुन्थ्यो होला । मालाहरुको प्रयोग त्यति धेरै भयो । जनतासँग यात्रा जोडिएको कुरा मालाले पनि बताउँछ भन्ने मलाई लाग्छ । हाम्रो उद्देश्य पनि त्यही थियो–कि मध्यपहाडमा पूर्वाधारको विकास हुँदै जाने, मान्छे सहर वा विदेश बसाइँ सर्ने किन हुँदैछ भन्ने बुझ्ने ।’ जनसंख्या वृद्धिदर घटेको तथ्यहरू जनगणनामार्फत् आएकै थियो । यो किन भयो, यसलाई कसरी रोक्ने, पहाडका मान्छेलाई कसरी समृद्धिसँग जोड्न सकिन्छ ? यस्ता कोणबाट पनि छलफल भयो । यसक्रममा हामीले पहाडमा केही न केही गरिरहेका मान्छेलाई अगाडि बढाउन जरुरी छ भन्ने ठान्यौं ।

जसबाट अरूले पनि सिकून । त्यस्ता व्यक्तिहरू उद्यमशीलताको माध्यमबाट, पशुपालन होस वा कृषिकर्मबाट, जसले केही नयाँ काम गर्नुभएको छ, उहाँहरू आफ्नो उत्पादनसहित यात्रामा सामेल हुनुभयो । उहाँहरुले अध्यक्षमार्फत उपहारस्वरूप जे–जे दिनुभयो र ती चिज राख्ने हो भने नेपालमा संस्कृति र सामाजिकताको जीवन्त संग्रहालय तयार हुने देखिन्छ । बाजागाजादेखि पोसाकसम्म जे जति चिज प्राप्त भयो, त्यसले जीवन्त म्युजियम बन्छ भन्ने लाग्छ । यात्राको सामाजिक, अर्थ राजनीतिक, राजनीतिक सन्देशबारे भोलिका दिनमा धेरै विवेचना हुन्छ हामीलाई लाग्छ । यात्राको जति चर्चा रह्यो त्योभन्दा ज्यादा प्रभाव रहेको हामीले अनुभव गरेका छौं ।

हामीले यात्राका क्रममा ठाउँ विशेषको विकासका सम्भावनाबारे छलफल पनि गर्यौं । हामी सरकारमा रहेका बेला यो मार्ग आधारित स्मार्ट सिटीको अवधारणा पेश गरेका थियो । त्यसबारे पनि बुझ्ने, जनभावना बुझ्ने काम भयो । तर, ती काम जुन गतिमा हुनुपथ्र्यो, अवस्था त्यस्तो हामीले पाएनौं । हामीले सरकार छाडेपछि मध्यपहाडी क्षेत्रको विकास रोकिएको पायौं । मध्यपहाडी पुष्पलाल राजमार्ग आधारित विकासको जे सोच हाम्रो थियो, त्यो हामी हटेपछि ठ्याक्कै रोकिएको अवस्था रहेछ । स्मार्ट सिटीहरूले पहाडको जीवनलाई प्रभाव पार्छ भन्ने थियो । सायद नयाँ सरकारले नबुझेको पनि हुनसक्छ वा राजनीतिक आग्रहले काम गरेको हनुसक्छ । तर, स्मार्ट सिटीहरूको काम हुन जरुरी छ । ती सहरले मध्यपहाडलाई गुल्जार बनाउने छन । सिंगो मध्यपहाडको गुल्जारपन पनि उत्तिकै जरुरी छ ।

यात्राका क्रममा एउटा सिम्बोलले मात्रै पनि मध्यपहाडको विशेषता बताउँछ भन्ने लाग्छ । हामी यात्रा आरम्भ गर्दा कैलालीको चुरे गाउँपालिका हुँदै गर्यौं । त्यहाँबाट सुन्तलाको उत्पादन क्षेत्रहुँदै इलामसम्म आइपुग्दा मध्यपहाडको सबैजसो जिल्लाहरूमा सुन्तलाको पकेट क्षेत्र विकास गर्न सकिने रहेछ भन्ने देखियो । त्यो पनि कस्तो भने, हरेक जिल्लाका सुन्तला हामीले चाख्दै आयौं । सुन्तला एउटै हो तर त्यहाँको हावापानी र माटोको भिन्नताले स्वादमा परिवर्तन हुने रहेछ । हामीले अन्तर अनुभव गर्यौं ।

उच्च भागहरूमा स्याउबाट स्थानीयले स्वागत गरेको, स्याउको बागबानी निर्माण गरिहरेको पायौं । यो अनुभव पनि जीवन्त अनुभव रह्यो ।मध्यपहाडी क्षेत्रको विकासको कुरा गर्दा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको काम एमाले सरकारमा हुँदा सुरू भएको थियो । यसपटक हामीले त्यसबारे पनि बुझ्यौं । भेरी बबइ, सुनकोसी मरिण डाइभर्सनबारे पनि बुझ्यौं । दुवै ठाउँमा काम भइरहेको रहेछ । कतिपय ठाउँमा विकास निर्माणको काम छिटो हुने तर सरकारले भुक्तानी भने बेलैमा गर्न नसकेको पनि भेटियो ।

कोशी प्रदेश प्रवेश गर्दा अलिकति विरोधको स्वर पनि सुनियो । पहिलो कुरा यो यात्रा कसैका विरूद्ध लक्षित थिएन । नेपाल भविष्यमा कसरी बनाउने भन्ने उद्देश्य आधारित यात्रा थियो । त्यसैले यो यात्रालाई सबैले स्वागत गर्नुपथ्र्यो । तर, कोशीमा आउँदा पहिचानका नाममा विरोधको प्रयास भयो । भाषाहरू कस्ता रहे सबैलाई थाहै छ । हामीले चाहिँ आम जनताका बीचमा त्यो विरोधको प्रभाव रत्तिभर अनुभव गरेनौं ।

बिरोधका स्वरहरु आए पनि यथार्थ के देखियो भन्दा विज्ञप्तिमा बढी कुरा आए, जनताका बीचमा केही प्रभाव भएन । त्यस्ता असहमतिहरुको महसुस गर्ने मौका टोलीले पाएन । खासगरी धनकुटाका सन्दर्भमा जे कुरा चर्चामा ल्याइयो त्यो चर्चा गरे जस्तो विषय थिएन । यात्रा टोलीका सदस्यले जानकारी नै पाएनन । एकप्रकारको अवाञ्छित प्रयास त हो तर चर्चा भए जस्तो घटना थिएन । अतिरन्जना धेरै भयो । यात्राको जे सन्देश छ, त्यसलाई ओझेल पार्ने हिसाबले घटना प्रेषित भयो । नेपालको सञ्चारमाध्यमले के विषयलाई प्राथमिकता दिने भन्ने विवेक प्रयोग गरेको देखिएन ।

जहाँसम्म एमाले भर्सेस नामाकरणको विवाद र बहस भन्ने छ, म के ठान्छु भने सबैभन्दा इमान्दार कोशीमा एमाले मात्रै हो । उसले त साझा पहिचानका पक्षमा उभिएर अडान लिँदा पार्टी विभाजनको पीडा भोगेको हो । अशोक राईहरुले पार्टी छाडेको हो । तर, पार्टीले एकताका नाममा गलत एजेन्डामा समर्पण गरेको होइन । पहिचानका कुरा गर्ने साथीहरूलाई एमाले जतिको इमान्दार भएर देखाउनूस भन्न चाहन्छु । बरु तिनीहरू बेइमान भएका हुन, जसले भोट माग्दा जातीय नामाकरणको कुरा गरे, भोट चाहिँ साझा पहिचानको पक्षमा हाले ।

हामी चाहिँ उहाँहरूले महसुस गर्नुभयो होला भन्ने ठान्यौं । हामीले साझा पहिचानका पक्षमा मनाउन कोशिष गरेकै हो । हाम्रो कोशीका मुख्यमन्त्रीले मुख्य नेताहरुलाई आफैं भेटेर प्रस्ताव गर्दा पुष्पकमल दाहाल, प्रचण्ड र शेरबहादुर देउवाहरूले तपाईंको कुरा जायज छ । हामी सहमत छौं भनेपछि नामाकरण टुंगिएको हो । उहाँहरुले सहमति जनाएपछि नामाकरण अघि बढेको हो । उहाँहरू त्यसबेलाको कुराबाट अहिले किन पछाडि हट्नु भो ?, जवाफ उहाँहरू ले दिने हो । तर, त्यसो गर्नु समस्याको समाधान होइन । समाजमा अस्थिरता सिर्जना गर्ने तरिका मात्रै हो । एमाले साझा पहिचानका पक्षमा छ । त्यसैले कोशीमा जे भएको छ, प्रदेशसभाले आफ्नो अधिकार प्रयोग गरेर नामाकरण गरेको छ । त्यो ठीक भएको छ भन्ने लाग्छ ।

हिजो हामी एकल बहुमतमा हुँदा पनि नाम राख्न सकिएन किनभने अरू दलहरूले साथ दिएनन् । भएन । अहिले हामी एकल बहुमतमा छैनौं तर नामाकरण सम्भव भयो किनभने अरू दलले साथ दिए । अहिले साझा पहिचानको विपक्षमा उभिएकाहरूले (कोशीका पक्षमा) भोट नहालेको भए हुन्थ्यो नि, किन हालेको ? अहिले वितण्डा किन गरेको ? कमजोरीको कोणबाट हेर्दा त जनतामा जाँदा एउटा कुरा भन्ने, निर्णय गर्ने बेलामा अर्कै गर्नेहरुले गरेको होला नि कमजोरी ? एमालेले कजमोरी गरेको होइन । म के ठान्छु भने वैधानिक तरिकाले, जनमतलाई साथ लिएर अघि बढ्नुपर्छ, बढ्न सक्नुपर्छ भन्छु । त्यसको कुनै विकल्प छैन ।

हामीले हिजो सिके राउतदेखि विप्लवसम्मलाई मूलधारमा ल्याएका हौं । अहिले नामाकरणको सवालमा जो साथीहरू आन्दोलनमा हुनुहुन्छ, उहाँहरूलाई पनि समाधान दिने पार्टी फेरि पनि एमाले नै हो । त्यसैले एमालेसँग दूरी राख्न जरुरी छैन । यो सच्चाइलाई बुझ्न ढिलाइ गर्न हुन्न ।

(एमाले महासचिव पोखरेलले नेकपा एमाले मोरङले आज बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ब्यक्त बिचारको सम्पादित अंश)

जनताटाइम्सबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here