यो पूँजीवादी व्यवस्थाको त्यो भौतिक आधार हो जसबाट मानव बनाम मेसिनको परिकल्पना पैदा भएको छ। एक यस्तो व्यवस्थामा जहाँ मान्छेसँगको मान्छेको सम्बन्ध नै मान्छे र मालको सम्बन्धको रूपमा प्रकट हुन्छ। यस सवालमा हामी दुई बुँदाहरूमाथि कुरा गर्नेछौं। पहिलो, यस अवधारणाको दार्शनिक मर्म र अर्को यस परिकल्पनाको राजनीतिक अर्थशास्त्र?
च्याट जीपीटी नामक सफ्टवेयर बजारमा आउनासाथ मेसिनले मान्छेलाई दास बनाउनेछ भनेर हल्ला चलेको छ। यस हल्लाभित्र यो सफ्टवेयर बनाउने निर्माता कम्पनी ‘ओपन एआई’ को अर्थराजनीति पनि घुसेको छ। यो जानीबुझी तयार गरिएको विज्ञापन नीति पनि थियो। यसैकारण एकाएक अखबारहरू, टीवी च्यानलहरू र सोशल मीडिया ज्यादै सक्रिय भएका हुन्।
च्याट जीपीटी र गूगल बार्ड अनुवाद गर्न, कोड गर्न तथा इण्टरनेटमा छरिएर रहेका सूचनालाई संगठित तरिकाले प्रस्तुत गर्नमा उपयोगमा आइरहेको छ। यो एक अनुवाद गर्ने एआई (आर्टिफिशियल इन्टिलिजेन्स वा कृत्रिम पण्डित) हो, जसले एउटा भाषालाई अर्कोमा अति राम्ररी अनुवाद गर्छ। स्मार्ट फोनमा गूगल असिस्टेन्ट जस्तै सिरी, गूगल इमेज सर्चहरू कम्प्यूटर गेम्समा तथा शेयर बजारको उतार–चढावलाई बुझ्न समेत आर्टिफिशियल इन्टिलिजेन्सको सहयोग लिइरहिएको छ।
जबकि यसको उपयोग यूरोपको सर्न प्रयोगशाला (CERN Lab), नासा र सारा अनुसन्धान संस्थानहरूमा धेरै अघिदेखि वैज्ञानिक प्रयोगका गणनालाई सरल बनाउन गरिएको छ । अब यसलाई बजारमा एपका रुपमा विक्री हुनसक्ने गरी माल बनाइएर ल्याइएको छ। यसैकारण यस माललाई बिकाउन बुर्जुआ मीडिया मार्फत् अनर्गल प्रचार भइरहेको हो।
ज्यालादारी दासका कट्टर समर्थक र ट्विटर (हालको ‘एक्स’) का मालिक एलन मस्क देखि तमाम पूँजीपतिहरूले मेसिनले भविष्यमा “मानव समाजलाई दास” बनाउने चिन्ता प्रकट गरेका छन्! यो पूँजीवादी व्यवस्थाको वर्चस्वको उदाहरण हो। पूँजीपति वर्गले नै मानव जगतलाई खतरा तर्फ धकेली रहेको छ र अर्को तर्फ समस्त मानव जगतलाई ‘मेसिनहरू’ बाट बचाउन अपील गरिरहेको छ। मानव जगतलाई खतरा त छ, तर त्यो पूँजीवादी व्यवस्था र पूँजीपति वर्गबाट छ। यस समस्यालाई बुर्जुआ वर्गले विचारधारात्मक तरिकाबाट बङ्ग्याएर सारा मानव जगतमा खतरा ल्याउनमा मेसिनहरूलाई दोष दिइरहेका छन्। अहिलेको उपयुक्त सवाल ‘मेसिन बनाम मानव जगत’ होइन ‘पूँजीवाद बनाम मानव जगत’ को हो। हुन त यो चर्चा पहिलो पटक भइरहेको छैन। यस्तो चर्चा डीप ब्लू कम्प्यूटरले महान चेस खेलाडी गेरी कास्पारोवलाई हराएका बखत पनि चलेको थियो। सन् २०१९ मा पनि ‘अल्फा गो’ ले बोर्ड खेल ‘गो’ को सर्वोत्तम खेलाडीलाई हराउँदा पनि यस्तै हल्ला चलेको थियो।
आम श्रमिक समुदायमा यस्तो खाले समाचार सारा सोशल मीडिया प्लेटफर्महरूमार्फत संचारित भइरहेका छन्। यूट्यूबमा यस्तैखाले खबरहरू देखाइएका छन्। यी खबरहरूमा यस्तो सन्त्रास फैल्याइँदैछ कि एआईबाट संचालित मेसिनहरूले मानवलाई उत्पादन कार्यबाट हटाई दिनेछ। इण्टरनेट र अखबारहरूमा च्याट जीपीटीबाट परीक्षाहरूमा उत्तीर्ण हुने, कैयन रोजगारीलाई समाप्त गरिदिने कुराकानी हुने गर्छ। भनिदैछ, आधारभूत उत्पादनका गतिविधिहरू देखि लिएर उत्पादनका सबै गतिविधिमा अब मजदुरहरूको आवश्यकता पर्दैन। अब यस्तो संसार बन्दैछ, जहाँ सबै कामहरू मेसिनहरूले गर्नेछन् र श्रमिक जनसंख्या बेरोजगार भएर सडकमा पुग्नेछन्। यस्तो सपना देखाइँदैछ। मेसिनले चित्र बनाउदै छ। कथाकुथुङ्ग्री रच्दैछ। वैज्ञानिक अनुसन्धान र प्रयोग गर्दैछ। मतलव संज्ञानको क्षेत्र र मनोवेगको क्षेत्रबाट मेसिनहरूले मानवीय चेतनालाई हटाइदिनेछन्।
सबैभन्दा पहिले श्रमिकहरूले यो सम्झनु पर्छ कि यो कोरा कल्पना र गफ हो। पहिलो कुरा मेसिनहरू मानव निर्मित उत्पादन् (माल) हुन्। भविष्यमा उत्पादनका कैयन आधारभूत गतिविधिहरूमा मानवको प्रत्यक्ष श्रमको आवश्यकता पर्ने छैन, यो कुरा सत्य हो। तर यो आश्चर्य या डराउनु पर्ने कुनै कुरा होइन र यसैका लागि नै मेसिन बनाइएको हो। मेसिन पनि श्रमका सबै उपकरणहरू जसरी नै र मानवीय अंगहरू र मस्तिष्क पनि त्यसरी नै विस्तार हुने गर्छन्। तर कुरा के हो भने पूँजीवादी व्यवस्थाको केन्द्रमा मानव होइन, सिर्फ नाफा रहन्छ। यसै कारणबाट यो स्थिति देखा परेको हो। र यही कल्पनाले मेसिनले मानवलाई दास बनाई दिनेछ भन्ने कुरा हावासरी फैलिएको हो। मेसिन र मान्छेको द्वन्द्व सामने आउला, जुन मूलतः आफैमा मेसिन र मनुष्यबीचको द्वन्द्व होइन। बरु श्रम र पूँजीको बीचको द्वन्द्व हो, मनुष्य र एक मुनाफा–केन्द्रित व्यवस्था बीचको द्वन्द्व हो। यस कुरालाई केही ऐतिहासिक र वैज्ञानिक तरिकामा बुझ्न सकिन्छ।
पूँजीवादी उत्पादन पद्धतिमा मेसिनको भूमिका
कृत्रिम बौद्धिकतालाई मानव चेतना विरुद्ध विना कारण राखिएको होइन। यस्तो किन गरियो ? यसबारे कुरा गर्नु भन्दा पहिला ’एआई अरु केही होइन खाली स्वचालन (automation) हो’ भन्ने कुरा हामीले सम्झनु पर्छ। र यस्तो किसिमको मशिनी अटोमेशन(स्वचालन) पूँजीवादको इतिहासमा औद्योगिक क्रान्ति शुरू हुँदा सँगसँगै वा अट्ठारौं सदीको अन्त र उन्नाइसौं सदीको शुरुआतमा नै प्रयोग हुन थालेको हो। उत्पादनको प्रक्रियामा मनुष्यले प्रकृतिलाई आफ्नो आवश्यकता अनुसार परिवर्तित गर्दछ। मेसिन यस प्रक्रियामा प्रयोग गरिने उत्पादनका साधनहरूको अङ्ग वा हिस्सा हुन्छ।
श्रमको प्रक्रियामा एक कर्ता भएर मानव श्रमले श्रमको साधनहरू मार्फत कच्चा पदार्थ (प्राकृतिक या निर्मित) लाई आफ्नो आवश्यकता अनुसार बदलिदिन्छ। श्रमका औजार भनेका साधारण ढुङ्गाका औजार, हलो, ट्याक्टर देखि आधुनिक मेसिनहरू सबै हुन्। अहिले भनिएको एआई वा जिपिटि सफ्टवेयर पनि श्रमको उत्पाद हो र श्रमको साधन पनि हो। सारा उत्पादक क्रियाकलापहरूमा च्याट जीपीटी आउनु र यस कारण मजदूरहरूलाई कामबाट निकालिनु गुणात्मक रुपमा कुनै नयाँ प्रक्रिया हुँदै होइन। निरपेक्षरुपमा हेर्ने हो भने, पूँजीवादी समाजमा मेसिनले मजदूरहरूलाई निरन्तर उत्पादनबाट बाहिर लखेट्छ।
यदि पूँजीवादी व्यवस्थामा नाफाको औसत दर राम्रो छ, र विस्तारित पूनरुत्पादन अधिक दरबाट भइरहेको छ भने, त्यस्तो अवस्थामा मेसिनहरूद्वारा विस्थापनको वावजुद कुल श्रमिकहरूको सक्रिय संख्या बढ्न पनि सक्छ, जबकि त्यसबेला प्रति श्रमिक मेसिनको संख्या बढेको हुन्छ। जे भएपनि, हातेतानलाई हटाएर आएको पावरलूम हो या एक्सेल शीटमा डाटा राख्ने श्रमिकलाई हटाएर आएको एआई, स्वचालन (automation) कै हिस्सा हो। मार्क्सका अनुसार “औद्योगिक क्रान्तिको आगमन मेसिनबाट हुन्छ, जुन खाली एउटामात्र औजार प्रयोग गर्ने श्रमिकलाई अतिक्रमण गरेर कैयन समानान्तर औजारहरूको तन्त्रबाट संचालित हुन्छ, जसमा एकै चालक–शक्तिले गति पैदा गर्छ चाहे ऊर्जाको स्रोत जेसुकै होस्।” (मार्क्स, पूँजी, खण्ड–१)
च्याट जीपीटीले धेरै मानसिक क्रियाहरूलाई संचालन गर्नु पनि स्वचालन–प्रक्रिया कै एक चरण हो, जसमा मानसिक श्रममा लागेका मजदूरहरूलाई हटाएर त्यस स्थानमा मेसिनले ठाउँ लिइरहेको छ। यस्तो प्रक्रिया जुनबेला शुरु हुन्छ त्यहीबेला देखि उत्पादनको प्रक्रियामा मेसिनहरूका प्रयोग हुन थाल्छन्। मार्क्स लेख्छन्ः
“पूँजीपति र ज्यालादारी श्रमिकका बीचको प्रतिस्पर्धा पूँजीको उद्भव हुँदै देखिबाट शुरू हुने गर्छ। यस्तो प्रतिस्पर्धा वस्तु उत्पादन उद्योगको पुरै अवधिभर उग्ररूपमा थियो। तर मेसिन प्रणालीको आगमन पछि भने श्रमिकले खाली श्रमको साधनसँगै संघर्ष गरेका छन्, जुन पूँजीको भौतिक मूर्तरूप नै हो। उसले (श्रमिकले) उत्पादनको साधनको विशिष्ट रूप विरुद्ध संघर्ष छेड्न थाल्छ, जुन पूँजीवादी उत्पादन पद्धतिको भौतिक आधार भएको हुन्छ।
“तर मेसिनले श्रमिकलाई परास्त गर्ने एक प्रतिद्वन्द्वीको रुपमा मात्र काम गर्दैन, जसले श्रमिकलाई सधैं बेकार बनाउनका लागि परेको हुन्छ। यसले श्रमिकसँग शत्रुता राख्ने एक शक्तिको रुपमा पनि काम गर्छ। पूँजीले ढोल ठटाएर नै यस्तो काम गर्छ र यस्तै रुपमा मेसिनहरूलाई उपयोग गर्ने गर्दछ। पूँजीको निरंकुश शासनको विरुद्ध भएका हडतालहरू, श्रमिक–वर्गको समय–समय हुने विद्रोहहरूलाई दवाउन सबैभन्दा शक्तिशाली अस्त्र मेसिनहरू हुन्छन्।” (मार्क्स, पूँजी, खण्ड–१)
मार्क्स उत्पादनको प्रक्रियामा मेसिन प्रणाली (यन्त्र प्रणाली) र स्वचालन(automation) लाई यसरी परिभाषित गर्छन्ः
“एक पटक पूँजीलाई उत्पादन प्रक्रिया अन्तर्गत ल्याइसकेपछि, श्रमको साधन विभिन्न स्वरुपमा रूपान्तरण हुँदै जान्छ, जसको परिणति मेसिन, या भन्नुहोस् कि मेसिनहरूको स्वचालन प्रणाली (मेसिन–प्रणालीः स्वचालन यसको सबैभन्दा पूर्ण, सबैभन्दा उचित रूप हो, जो एक्लैले मेसिनहरूको एक प्रणालीमा उथलपुथल गरिदिन्छ।) जसले एक अटोमेशन गति दिन्छ, एक स्वचालित गतिवान शक्तिबाट आफै चल्छ। यस स्वचालनमा अनेक यान्त्रिक र मानसिक अंगहरू हुन्छन्, जसबाट श्रमिक आफै यसको सचेतन कडी मात्र भएजसरी अभ्यस्त हुँदै जान्छन्।” (मार्क्स, ग्रुण्डरिजबाट)
मार्क्सका अनुसारः
“जब कुनै मेसिनले मानिसको सहयोग नलिकन कच्चा पदार्थ परिष्कार(प्रशोधन) गर्नका लागि आवश्यक समस्त क्रियाहरू सम्पन्न गर्न लाग्दछ र जब त्यस (मेसिन)लाई मान्छेको आवश्यकता केवल देखरेखका लागि मात्र रहन्छ, तब मेसिनहरूको चालित संघटन (ढिक्का) तयार हुने गर्छ। यस संघटनको विस्तृत पक्षहरूमा निरन्तर सुधार गर्दै जान सकिन्छ।
“मेसिनहरूको यस्तो संगठित संघटक, (जुन संचालक यन्त्रद्वारा एक केन्द्रीय स्वचालित यन्त्रबाट गति प्राप्त भएको हुन्छ,) मेसिनहरूबाट हुने उत्पादनको सबैभन्दा अधिक विकसित रूप हुन्छ। यहाँनेर अलग–अलग काम गर्ने मेसिनहरूको बदलामा एक यान्त्रिक दैत्य हुन्छ, जसको दैत्यकारले पूरै कारखाना ढाकी दिन्छ र जसको राक्षसी शक्ति, जुन शुरूमा यसको दैत्याकार अवयवहरू (components) का सन्तुलित र सुस्त गतिको आवरण पछि लुकेको थियो, अब आएर यसको असंख्य कार्यकारी इन्द्रियहरूको कोलाहलपूर्ण आवर्तन (चौतर्फी घुमाव) को रूपमा प्रकट हुन्छ।” (मार्क्स, पूँजी, खण्ड–१)
उत्पादनका भिन्न–भिन्न शाखाहरूमा यो स्वचालित दैत्य मार्क्सको समय यता अत्यधिक फैली सकेको छ। आज कुनै अटोमोबाइल इण्डस्ट्रीमा मौजूदा रोबोटिक आर्म र कुनै सफ्टवेयर उद्योगमा च्याट जीपीटी बीचको अन्तर केवल अलग किसिमको उत्पादन मात्र हो। दुवै नै मेसिन हुन् जो श्रमिकका गतिविधिहरूलाई अमूर्तीकरण गरेर नै पैदा भएका हुन्, यसकारण यस्तो गतिविधि शारीरिक हो यो मानसिक। रोबोटिक आर्म र च्याट जीपीटी श्रमिक कै गतिविधिको अमूर्तीकरण हो।
मार्क्स भन्छन् “तथापी, यही मेसिन नै हो जो श्रमिकको स्थानमा कौशल र शक्तिको मालिक्नी हो, यो आफैमा दक्ष छ, र मानौ कि ती यान्त्रिक नियमहरूमा स्वयं त्यसको आत्मा छ, जसको माध्यमबाट एउटा त्यसले कार्य गर्दछ। यसले कोइला, तेल आदिको खपत गर्दछ, जसरी एउटा श्रमिक खाना खाने गर्छ, ताकि उसको गति लगातार चलिरहोस्। श्रमिकको गतिविधि, जुन गतिविधि मात्र अमूर्तीकरण भएर रहन्छन्। ती सबै तर्फबाट ती मेसिनहरू गतिबाट निर्धारित र विनियमित हुन्छन्, न कि यसको उल्टो। यो विज्ञान जो मेसिनहरूलाई निर्जीव अंगहरूको निर्माणानुसार त्यसलाई अटोमेसनलाई जस्तै समान उद्देश्यपूर्ण तरिकाहरूबाट संचालित गर्दछ। यो श्रमिकको चेतनामा विद्यमान हुदैन, तर मेसिन मार्फत एक विरानो शक्तिको ढंगमा, स्वयं मेसिनको आफ्नो शक्तिको रूपमा, श्रमिकको कार्य गर्दछ।” (मार्क्स ग्रुण्डरिजबाट)
च्याट जीपीटीलाई मार्क्सको उपरोक्त भनाइको आखिरी पंक्तिको सहयोग लिएर स्पष्ट बुझ्न सकिन्छ। प्राकृतिक विज्ञानले श्रमिकको चेतनाबाट स्वतन्त्र भएर त्यसलाई संचालित गर्दछ। मानव ज्ञानले मानवलाई प्रतिकूलतामा राखी दिन्छ। च्याट जीपीटी अरु केही होइन मानवीय ज्ञानबाट संचालित एक मेसिन प्रणाली हो। हाल मेसिनले जुन परिकल्पनाहरूलाई बल पुर्याइरहेको छ त्यसको भौतिक आधार पूँजीवादी उत्पादन पद्धतिमा छ। श्रमिकको श्रमलाई मेसिनले सहज बनाउनुको बदलामा उत्पीडन बढाउँछ।
मार्क्स भन्छन् “दस्तकारीहरू या हस्तनिर्माणमा श्रमिकले औजारलाई प्रयोग गर्छन् भने कारखानामा मेसिनले श्रमिकलाई प्रयोग गर्छन्। त्यहाँ श्रमका औजारहरूका क्रियाहरू श्रमिकबाट शुरू हुन्छ, यहाँ भने श्रमिक नै स्यवंले मेसिनका क्रियाहरूलाई अनुकरण गर्नु पर्छ। हस्तनिर्माणमा श्रमिक एक जीवित संघटनको अंग हुन्छ। कारखानामा श्रमिकहरू बाहेक स्वतन्त्र एक निर्जीव यन्त्र हुन्छ र श्रमिक यस यन्त्रको एक जीवित अवयवका रुपमा मात्र बदलिन्छ।” यस भन्दा अघि मार्क्स भन्छन् कि “मेसिनबाट श्रम केही हलुका हुन जान्छ, तर यो चीज पनि यहाँनेर एक ढंगको यातना बन्न जान्छ, किनकि मेसिनले श्रमिकलाई कामबाट मुक्त गर्दैन, बरु यसले कामको सारा दिलचस्पीलाई समाप्त गरिदिन्छ। सबै प्रकारका पूँजीवादी उत्पादन, जहाँसम्म श्रम–प्रक्रिया अतिरिक्त मूल्य पैदा गर्ने प्रक्रिया पनि हुन्छ, त्यहाँसम्म यसमा एक समान विशेषता हुन्छ। यसमा श्रमिकले आफ्नो कार्य औजारहरूबाट लिने होइन बरु श्रमका औजारले श्रमिकबाट काम लिन्छ। तर यो विपरितताले सर्वप्रथम कारखाना व्यवस्थामा नै प्राविधिक एवं इन्द्रीयगम्य वास्तविकता प्राप्त गर्छ। एक स्वचालित यन्त्रमा रूपान्तरित भएको श्रमले श्रमका औजार र श्रम प्रक्रियामा सामेल भएको पूँजीको स्वरुपमा वा त्यस मृत श्रमको रूपमा श्रमिकको सामने प्रकट हुन्छ जो जीवित श्रमशक्तिमाथि हावी रहन्छ र चुस्दा चुस्दा छोक्रा मात्र बाँकि राख्छ।” (मार्क्स पूँजी खण्ड–१)
यो पूँजीवादी व्यवस्थाको त्यो भौतिक आधार हो जसबाट मानव बनाम मेसिनको परिकल्पना पैदा भएको छ। एक यस्तो व्यवस्थामा जहाँ मान्छेसँगको मान्छेको सम्बन्ध नै मान्छे र मालको सम्बन्धको रूपमा प्रकट हुन्छ। यस सवालमा हामी दुई बुँदाहरूमाथि कुरा गर्नेछौं। पहिलो, यस अवधारणाको दार्शनिक मर्म र अर्को यस परिकल्पनाको राजनीतिक अर्थशास्त्र?
‘मानव बनाम मेसिन’ परिकल्पनाको दर्शन
उपरोक्त चर्चाबाट यो स्पष्ट हुन्छ कि च्याट जीपीटी मेसिन हो, जुन मानव ज्ञानमा आधारित छ। तरपनि च्याट जीपीटी दुनियाको धेरै ठुला परीक्षाहरूमा उत्तीर्ण भइरहेको छ। अल्फा गो भनेको ‘गो’ बोर्ड गेम खेल्ने गूगलद्वारा बनाइएको आर्टिफीशियल इण्टेलिजेंस प्रोग्राम हो। जसले चेसको च्याम्पियन (गेरी कास्पारोभ) लाई हराईदियो। यो कृत्रिम चेतना हो तर मानवीय चेतना भन्दा उन्नत देखिन्छ। किनकि च्याट जीपीटी कथाकुथुङ्ग्री पनि लेखिदिन्छ र कविताहरू पनि लेखी रहेको छ। यसकारण यो भन्न थालियो कि मेसिनले कल्पना पनि गर्न थालेको छ।
हामीले माथि जसलाई कृत्रिम चेतना भन्यौ, यो वास्तवमा मानवको मानसिक गतिविधि कै अमूर्तन हो। तथापी मानसिक गतिविधिमा मात्र सीमित छैन। यसकारण यसको अमूर्तन पनि कुनै ‘अन्तिम उत्पाद’ होइन। मानव ज्ञान उन्नतोत्तर हुँदासाथै यो पनि झन् उन्नतोत्तर हुनेछ। च्याट जीपीटीले पनि मानवीय ज्ञानको एक खासस्तर कै प्रतिबिम्बन गर्दछ।
मानव चेतनाको गुण यस्तो हुन्छ कि यसले वस्तुगत जगतको प्रतिबिम्बन गर्दछ। यो प्रतिबिम्बन ऐनाको प्रतिबिम्ब जस्तो दुरुस्त हुँदैन। पहिलो स्तरमा हाम्रो आँखा, हाम्रो नाक, कान, जिब्रो र छाला वा इन्द्रियहरू मार्फत भौतिक जगतको एक तस्वीर, एक खाका र एक रूपरेखा बनाउँछ। यो भौतिक जगत समाज र प्रकृति नै हो। जब कि समाज र प्रकृति दुवै नै परिवर्तनशील छन् भने स्पस्टै छ कि प्रतिबिम्बन पनि परिवर्तनशील हुनेछ। मानव मस्तिष्कको अमूर्तन र सामान्यीकरण गर्ने क्षमता भएकाले नै हामी इन्द्रियानुगत ज्ञानबाट छलाङ लगाएर बुद्धिसंगत ज्ञानसम्म पुग्छौं। सामाजिक व्यवहारले नै लगातार ज्ञान पैदा गर्दछ। प्रकृति, समाज र विचारलाई बदल्ने प्रक्रियामा नै नयाँ ज्ञान पैदा हुन्छ। सिर्फ नयाँ ज्ञान पैदा हुँदैन बरु अमूर्तन र सामान्यीकरणको पद्धति पनि उन्नत हुने गर्छ। एआईलाई प्राप्त हुने सबै सूचना मानवद्वारा आर्जित हो र यही मेसिन जसले अल्गोरिदमको प्रयोग गर्दछ, यो पनि मानवीय बुद्धिसंगत ज्ञानको नै हिस्सा हो। यस कुराले ‘मेसिन श्रमिकको गतिविधिकै अमूर्तन हो’ भन्ने मार्क्सको उपरोक्त कथन नै पुष्ट गर्दछ।
कृत्रिम चेतनालाई मानव चेतनाबाट मुक्त चेतना मान्नु वा चेतना कुनै यस्तो चीज हो जुन मानव भन्दा बाहिर पनि निर्मित गरिन्छ भनेर यो कल्पना गर्नु, गलत हो। कोही वैज्ञानिक चेतनालाई बिजुली जस्तै मान्छन्। उनीहरूको भनाइ छ– जसप्रकार प्राकृतिक रूपमा बिजुलीलाई बादलहरूको टकराहटमा पाइन्छ, यसै प्रकारबाट बाँधमा पानीलाई टरबाइनमा खसालेर पनि पैदा गर्न सकिन्छ। एक समय गूगलको सीईओ रहेका पीटर नरविगका तर्क थियो– जसरी चराको उडान झैं कृत्रिम तरिकाबाट हवाईजहाज पनि उडाउन सकिएको छ, त्यसरी नै मानवको मस्तिष्कको चेतनालाई मेसिनमा उत्पन्न गर्न सकिनेछ। परन्तु चेतना कुनै प्रोटिनको मलिक्युलर संरचना या बिजुली होइन, यो त सामाजिक मानव मस्तिष्क समूहमा आधारित सक्रियता हो। यो जीवनको जटिल प्रवन्ध वा समाजमा विकसित भएको हुन्छ। र यो स्थीर हुँदैन। न त यो स्वयं विकसित हुन्छ। यो मानव चेतनाद्वारा आर्जित हुन्छ र उन्नतर हुँदै ज्ञानको रूपमा प्रकट हुन्छ। उत्पादनका लागि मानवको संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोगहरूको व्यवहारबाट नै मानव ज्ञान नित्य निरन्तर छिपछिपे बाट गहिराइ तर्फ बढ्छ। मानव चेतनाको भौतिकताका आधार जीवन या समाज हो। यो परिकल्पना फ्रेन्कनस्टाइन नामक दैत्य झैं लाग्न सक्छ जसलाई शरीरका विभिन्न अंगहरू जोडेर ज्यान भएको बनाउन सकिन्छ र उसमा चेतना स्वतः नै पैदा भइ हाल्छ!
एआईको च्याट जीपीटी र तमाम मोडलहरूलाई मानव मस्तिष्कको एक मोडल भनिदैंछ जो न्यूरल नेटवर्कमा आधारित छ। यसलाई लार्ज ल्याङ्ग्वेज मोडल भनिएको छ, जुन उपलब्ध डाटामा काम गर्ने गर्छ। यसले जुन ‘इन्द्रियग्राह्य ज्ञान’ पाएको छ त्यो (उपलब्ध डाटा) नै मानव ज्ञान हो। अर्को कुरा यसको “बुद्धिसंगत” ज्ञान पनि मानवीय अवधारणागत ज्ञान नै हो। गणितीय प्रकार्य र यसपछि विकसित हुनेवाला पोलिसी या अल्गोरिदम मानव ज्ञानलाई नै प्रयोगमा ल्याइएको हो। छ्याङ्ग गरी भन्ने हो भने यो एक मेसिन नै हो। परन्तु लामो समयदेखि सिनेमा र पपुलर साइन्स फिक्शनमा यस्तै सस्ता परिकल्पना प्रस्तुत गरिए। जस्तो कि आर्टिफिशियल इण्टेलिजेन्स (एआई) ले मानव जगतको विरुद्ध आफ्नो बैग्लै सभ्यता खडा गर्छ र मानव जगतलाई दास बनाउँछ। अन्तिम पटक जब ‘डीप ब्लू’ ले गेरी कास्पोरोवलाई हरायो त्यसपछि त यस्तो बेकारको परिकल्पनाले चौतर्फी भ्रम फैलायो र यस्तो भ्रम त्यतीबेलासम्म फैलिरहन्छ जबसम्म पूँजीवादी व्यवस्थाको समूल नास हुँदैन।
‘मानव बिरुद्ध मेसिन’ परिकल्पनाको राजनीतिक अर्थशास्त्र
च्याट जीपीटी एक लार्ज ल्यान्गवेज मोडल हो, जसलाई संचालित हुनु पहिला सारा शब्दहरू र वाक्यहरू तथा भाषाको व्याकरण तथा तिनलाई हल गर्नका लागि गणितीय प्रकार्य (काम) वा मानवीय अवधारणाहरूको आवश्यक पर्दछ। यसको एक उदाहरण च्याट जीपीटीको हिंसा र अश्लील डाटालाई च्याट जीपीटीमा फीड गर्नु थियो। यस डाटालाई छाँट्नका लागि केन्याका श्रमिकहरूले महिनौं अश्लील सामाग्री हेरेर तिनमा रहेका विभिन्न तत्वहरूलाई छाने ताकि च्याट जीपीटीले यो कुरा ‘सिक्न सकोस्’ कि के कुरा प्रयोग गर्न सकिने हो र के होइन! ती श्रमिकहरूल प्रयोग गरेका मापदण्डलाई नै मेसिनले आफसे आफ प्रयोग गरेर सामग्री छाँट्छ र गल्ति भएमा श्रमिकले नै त्यसलाई सुधार गर्दै जान्छन्। स्पष्टतः च्याट जीपीटी पनि पावरलूम जस्तै मेसिन हो। केन्याका श्रमिकहरूलाई कम ज्याला दिएर र मानसिक अवसादमा पुर्याएर नै च्याट जीपीटीले यो गुणवत्ता हासिल गर्यो र अहिले आएर यस्ता अश्लील सन्देशहरूलाई पहिचान गर्नसक्यो। यो च्याट जीपीटीको डेटाको एक प्रकारको शुरुवाती प्रक्रिया थियो। केन्याका श्रमिकहरूको उदाहरणबाट यो उजागर हुन्छ कि श्रमिकहरूको श्रम सस्तोमा लुटेर च्याट जीपीटी बनेको हो। एआईलाई मानव जगतका विरुद्ध राख्नु स्वयंमा गलत कुरा हो। यो कल्पना मान्छेलाई हुत्याएर मेसिनबाट मुनाफा कमाउनेवाला तन्त्रमा काम लिन सकिन्छ भन्ने धारणाको जडमा खडा छ।
अब यस परिकल्पनालाई राजनीतिक अर्थशास्त्रको आँखाबाट जाँचबुझ गरौं। यदि तपाईंले आधारभूत राजनीतिक अर्थशास्त्रको ज्ञानलाई प्रयोगमा ल्याउनु भएमा यो स्पष्ट हुनेछ कि पूँजीपतिको मुनाफा अतिरिक्त मूल्यबाट पैदा हुन्छ। पूँजीपतिको पूँजीको दुई हिस्सा हुन्छः परिवर्तनशील पूँजी तथा स्थिर पूँजी। पूँजीपति द्वारा ज्यालामा लगाइएको पूँजीलाई परिवर्तनशील पूँजी भनिन्छ र यसले नै अतिरिक्त मूल्य पैदा गर्दछ र मुनाफाको स्रोत हुन्छ। यसलाई परिवर्तनशील पूँजी किन भनिन्छ भने यो श्रम शक्तिमा लगाइने खर्च हो र यसले नै उत्पादनको प्रक्रियामा अतिरिक्त मूल्य या बढी मूल्य पैदा गर्दछ। उत्पादनको साधनहरूमा लाग्ने पूँजीलाई स्थिर पूँजी भनिन्छ। उत्पादनको प्रक्रियामा यसको मूल्य श्रमद्वारा माल (वस्तु)मा जस्ताको जस्तै स्थानान्तरित हुन्छ। हामी जुन परिकल्पनालाई जाँचबुझ गर्न चाहन्थ्यौं त्यस अनुसार उत्पादनको प्रक्रियामा मेसिनहरूले श्रमिकहरूलाई पूर्णरुपबाट बाहिर हुत्याउनेछ! अब यदि हामीले यो मानौं कि यस उद्योगमा नयाँ मेसिन लगाएका कारण श्रमिकहरूलाई कामबाट बाहिर निकालियो भने पूँजी स्थिर पूँजीगत लागत (मेसिनमा गरिने खर्च) बढ्छ तथा ज्यालामा लगाइने लागत कम हुन्छ। उत्पादनको प्रक्रियामा मेसिनको प्रयोग बढाएर परिवर्तनशील लागत कम गर्नु (श्रमिकको संख्या घटाउनु) को अर्थ हो पूँजीपतिको कुल पूँजी निवेशमा कच्चा माल, मेसिन प्रणाली वा उत्पादनको साधनहरूमा गरिने खर्च ज्यालाको तुलनामा बढ्न जान्छ।
के स्थिर पूँजी र परिवर्तनशील पूँजीको अनुपातमा परिवर्तनशील पूँजी कम हुँदै हुँदै गएर शून्यमा पुग्ला त? यस्तो हुनै सक्दैन, श्रमिकहरूलाई पूँजीवादी उत्पादन प्रक्रियाबाट पूर्णतः हटाउन सम्भव छैन, किनकि यस्तो गरियो भने अतिरिक्त मूल्यको उत्पादन नै हुँदैन।
अब यसलाई अर्को उदाहरणबाट बुझौं। मान्नुहोस् कि सबै उद्योगहरूमा पूर्ण मशीनीकरण गरियो। अब उद्योगमा एकजना पनि श्रमिक काम गरिरहेका छैनन्, कुनै कार्यालय या अफिसमा कुनै श्रमिक या कर्मचारी काम गरिरहेका छैनन्, सम्पूर्ण सेवा क्षेत्रहरूमा कुनै श्रमिकहरू काममा छैनन्, र तिनीहरूका सबै काम मेसिनले गरिरहेका छन्। मानौं यस्तो भयो भने समाजमा आयका विभिन्न रूप पनि समाप्त हुनेछन्। यदि आयका विभिन्न रूप समाप्त भए भने त पूँजीपतिका उद्योगहरू आदिबाट मेसिनले पैदा भइरहेका वस्तुहरू या सेवाहरूलाई कसले किनिदेला? मुनाफा पनि समाप्त हुन जाला, ज्याला पनि समाप्त हुन जाला, लगान पनि समाप्त हुन जाला। तर पूँजीपति त माल बेचेर मुनाफा कमाउनका लागि उत्पादन गर्छ, फ्री मा मानिसलाई बाँड्न त होइन! यही कारण हो, पूँजीवादी उत्पादन प्रणालीमा पूर्ण स्वचालनको अवस्था राजनीतिक अर्थशास्त्रको आँखाबाट पनि असम्भव हुन्छ। किनकि आयका यी सबै रूप मूल्य कै हिस्सा हुन्, जो स्वयं श्रमिकको श्रमबाट नै पैदा हुन्छ।
यो नै आधारभूत कुरा हो जसलाई बुझेर हामी पूँजीवादमा यस परिकल्पनाको असम्भव्यतालाई बुझ्न सक्छौं।मूल प्रश्न यस्तो उत्पादन प्रणालीको होे, जसले मुनाफाका लागि मेसिन र मानवविच व्यवधान खडा गर्दछ। एक यस्तो व्यवस्थामा जहाँ समाजको केन्द्र मनुष्य हुनेछ मुनाफा होइन, केवल त्यहीं यस्तो वास्तविक अन्तरविरोधलाई समाप्त गर्न सकिन्छ। त्यसवेला मात्र श्रमको औजार(मेसिन) मान्छेको “सत्व चुस्ने माध्यम” नबनेर त्यसको सृजनात्मक शक्ति बन्ला।
स्रोत: (नेपाल रिडर्स ) (मजदूर बिगुल, नोभेम्बरबाट सभार, २०२३)