समाजवादी मोर्चाको बैठक आज बस्दै


४ भाद्र २०८०, सोमबार ०७:२३ मा प्रकाशित

४ भदौ, काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक सोमबार (आज) बिहान बस्दै छ ।

Advertisement

बैठक बिहान साढे सात बजे नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने सम्भावना छ । साथै सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ ।

मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो । बैठक आइतबार (हिजो) बस्ने भनिए पनि तयारी नपुगेपछि सोमबार बिहानका लागि सारिएको नेताहरुले बताएका छन् ।

सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here