मणिपुरमा महिलामाथि दुर्व्यवहारले भारतमा आक्रोश


५ श्रावण २०८०, शुक्रबार १०:०१ मा प्रकाशित

सरकारको निष्क्रियताले मणिपुरमा हिंसा फैलिएको विपक्षीको आरोप, दोषीमाथि कडा कारबाही गर्ने प्रधानमन्त्री मोदीको प्रतिबद्धता

Advertisement

साउन ५, नयाँदिल्ली ।। जातीय हिंसाका कारण साढे दुई महिनायता अशान्त भारतको मणिपुर राज्यमा दुई महिलालाई निर्वस्त्र बनाएर घुमाइएको भिडियो सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कुकी समुदायका ती महिलालाई मैतेई समुदायका व्यक्तिले यौन दुर्व्यवहार गरेका हुन् । प्रहरीमा परेको जाहेरीअनुसार एक युवतीमाथि सामूहिक बलात्कार पनि भएको द वायरले जनाएको छ । 

मणिपुर प्रहरीले भिडियोको पुष्टि गर्दै गत मे ४ मा घटना भएको बताएको छ । मणिपुरमा त्यसको अघिल्लो दिनदेखि जातीय हिंसा सुरु भएको थियो । उक्त राज्यको थोबल जिल्लामा ती महिलामाथि यौन उत्पीडन भएको प्रहरीले जनाएको छ । ‘घटनामा संलग्न (हाल अज्ञात) व्यक्तिविरुद्ध अपहरण, सामूहिक बलात्कार र हत्याको कसुरमा मुद्दा दायर गरिएको छ । अनुसन्धान सुरु भइसकेको छ, आरोपितको खोजीलाई तीव्रता दिइएको छ,’ मणिपुर प्रहरीले भनेको छ ।

इन्डियन एक्सप्रेसका अनुसार महिलामाथि भएको यौन उत्पीडनको जाहेरी मे १८ मा कांगपोकपी जिल्लामा दायर गरिएको थियो । पछि सम्बन्धित प्रहरी कार्यालयमा मुद्दा पठाइयो । मणिपुरका एसपी मेघचन्द्र सिंहले जारी गरेको प्रेस विज्ञप्तिमा दोषीहरूलाई पक्राउ गर्न पूरा प्रयास गरिरहेको जनाइएको छ । भिडियोमा देखिएका महिलाहरूको उमेर २० र ४० वर्ष हाराहारी रहेको बताइएको छ । ती महिलाले आफ्नो जाहेरीमा भिडियोमा नदेखिए पनि अर्की ५० वर्षीया महिलालाई पनि निर्वस्त्र हुन बाध्य पारेका बताएका छन् । जाहेरीमा एक युवतीमाथि सामूहिक बलात्कार भएको पनि उल्लेख छ ।

पीडित महिलाका अनुसार घटनाको अघिल्लो दिन करिब १ हजार व्यक्तिले उनको गाउँमा लुटपाट गर्ने उद्देश्यले आक्रमण गरेका थिए । उनीहरूले बस्तीमा आगो लगाइदिएका थिए । त्यसपछि पीडितहरू दुई महिला, एक युवती आफ्नो बुबा र भाइको साथमा जंगलतर्फ भागेका थिए । पछि उनीहरूलाई प्रहरीले उद्धार गरेर प्रहरी कार्यालयमा लैजाँदै थियो । आक्रमणकारीले बाटोमै प्रहरीबाट थुतेर उनीहरूलाई नियन्त्रणमा लिएको र निर्वस्त्र बनाएर घुमाएको पीडितले बताएका छन् । त्यसक्रममा युवतीमाथि सामूहिक बलात्कार भएको थियो भने आक्रमणकारीले उनका बुबा र भाइलाई मारेका थिए ।

एजेनसीको सहयोग

भिडियो सार्वजनिक भएपछि राजधानी नयाँदिल्ली र मणिपुरका विभिन्न स्थानमा प्रदर्शन भएको छ । सरकारले मणिपुर हिंसालाई समयमै रोक्न असफल भएको भन्दै विपक्षीले आलोचना गरेका छन् । प्रदर्शन चर्किन सक्ने भएपछि राज्य सरकारले इम्फाल इस्ट, इम्फाल वेस्ट, विश्नुपुर, काकचिंग र थोबल गरी ५ जिल्लामा कर्फ्यु जारी गरेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मणिपुरमा चलिरहेको हिंसाबारे पहिलो पटक मुख खोलेका छन् । यति लामो समयसम्म हिंसा चलिरहँदा पनि कुनै प्रतिक्रिया नदिएका मोदीले उक्त घटनाबाट पीडा भएको बताएका हुन् । ‘कुनै पनि सभ्य समाजका लागि यो घटना लज्जाको विषय हो । यो पाप गर्ने कति छन्, को हुन्, आफ्नो ठाउँमा छ, तर यसले पूरै देशको बेइज्जति भएको छ । सबै देशवासीका लागि लाज मान्नुपर्ने अवस्था आएको छ,’ मोदीले भनेका छन् ‘आआफ्नो राज्यमा कानुनी व्यवस्था बलियो बनाउन म मुख्यमन्त्रीहरूलाई अपिल गर्छु ।’

मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहका अनुसार घटनामा संलग्नताको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । उनले दोषीहरूलाई फाँसीको सजाय दिलाउन प्रयास गर्ने बताएका छन् । केन्द्रीय महिला एवं बालविकास मन्त्री स्मृति इरानले पनि ट्वीट गर्दै घटनाबारे मुख्यमन्त्री सिंहसँग कुरा भएको र दोषीलाई पक्राउ गर्न कुनै कसर बाँकी नराखिने जनाएकी छन् । भारतको सर्वोच्च अदालतले पनि यस घटनालाई स्वतः जानकारीमा लिई मुद्दा अघि बढाउने भएको छ । यसका लागि जुलाई २८ मा सुनुवाइ तोकिएको छ ।

मणिपुरको इन्डिजेनस ट्राइबल लिडर्स फोरमले घटनाको निन्दा गर्दै राज्य सरकार, केन्द्र सरकार, राष्ट्रिय महिला आयोग र अनुसूचित जनजाति राष्ट्रिय आयोगले यो मामिलामा हस्तक्षेप गर्नुपर्ने जनाएको छ । कंग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री मोदीको मौनता र निष्क्रियताका कारण मुणिपुरमा अराजकता फैलिएको आरोप लगाएका छन् । उनले आफूहरू मणिपुरबासीको साथमा रहेको र अब एक मात्र विकल्प शान्ति रहेको प्रतिक्रिया दिएका छन् ।

मणिपुरमा मैतेई र कुकी समुदायको बाहुल्य छ । नागा समुदाय पनि छ । कुकी र नागा जनजाति समुदायका हुन् । उनीहरूलाई सरकारी सेवा तथा जमिनको हकमा विशेष आरक्षण तथा सुविधा प्राप्त छ । उनीहरूको पकड मणिपुरको पहाडी क्षेत्रमा छ । कुकी र नागा इसाई धर्मावलम्बी हुन् । त्यस्तै, अर्को समुदाय हो, मैतेई । उनीहरू बहुसंख्यक हिन्दु छन् । मणिपुरको ३० लाख जनसंख्यामा उनीहरूको उपस्थिति ५० प्रतिशतभन्दा बढी छ । उनीहरूको मुख्य बसोबासको क्षेत्र मणिपुरको राजधानी इम्फाल र त्यसको आसपास छ । मैतेई समुदायले जनजाति समुदायमा सूचीकृत गर्नुपर्ने माग गर्दै आएको थियो ।

जमिनमाथि विशेष हक भएको कुकीको बसोबास क्षेत्रमा मैतेईले जग्गा किन्न पाउँदैनन् । मैतेईले आरक्षणको माग गरेको धेरै वर्ष भइसकेको छ । त्यसका लागि उनीहरू संघर्ष गर्दै आएका छन् । हालै मणिपुर उच्च अदालतले मैतेई समुदायलाई अनुसूचित जनजाति श्रेणीमा सहभागी गर्ने अनुरोधमाथि विचार गर्न र त्यसबारे केन्द्र सरकारसमक्ष आवश्यक सिफारिस गर्न राज्य सरकारलाई आदेश दिएको छ । मिडिया रिपोर्टहरूका अनुसार अदालतको उक्त आदेशको विरोधमा कुकी समुदाय उत्रिएपछि हिंसा बढ्दै गएको हो ।

मैतेई समुदायले अरक्षण पाएको खण्डमा सबैतिर उनीहरूकै बाहुल्य हुने कुकी समुदायको बुझाइ छ । अदालतको आदेशको विरोधमा मे ३ मा अल ट्राइवल स्टुडेन्ट्स युनियनले आदिवासी एकजुटता र्‍याली गरेको थियो । त्यही र्‍याली हिंसात्मक भएयता सुरु भएको द्वन्द्व थामिएको छैन । घटनामा १ सय ४२ जनाको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here