भारतका रुतुराजले हाने एकै ओभरमा ७ छक्का


१२ मंसिर २०७९, सोमबार १८:३९ मा प्रकाशित

काँकरभिट्टा । एकै ओभरमा ७ छक्का प्रहार गर्दै भारतीय क्रिकेटर रुतुराज गायकवाडले नयाँ कीर्तिमान बनाएका छन् ।

Advertisement

विजय हजारे ट्रफीअन्तर्गत रुतुराजले महाराष्ट्रबाट खेल्दै उत्तर प्रदेशविरुद्ध एकै ओभरमा ७ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका हुन् । विश्व क्रिकेट इतिहासमा ५० ओभरको खेलमा एकै ओभरमा ७ छक्कासहित ४३ रनको दुर्लभ कीर्तिमान बन्दा रुतुराज नायक बने ।

क्रिकेटमा एक ओभरमा कुल ६ बल हुन्छ । ६ वटै बलमा छक्का हाने पनि जम्मा ३६ रन हुन्छ । सुरुवाती चार बलमा लगातार छक्का प्रहार गरेका थिए गायकवाडले पाँचौ बलमा पनि उनले छक्का प्रहार गरे तर, त्यो नो बल भयो । त्यसमा उनको टिमले १ रन अतिरिक्त पायो ।

भारतको लिस्ट ए मान्यताप्राप्त एकदिवसीय यस प्रतियोगितामा ओपनिङ गर्दै अन्तिमसम्म ब्याटिङ गरेका रुतुराजले ४९औं ओभरमा उत्तर प्रदेशका बलर शिव सिंहलाई लगातार ७ छक्का प्रहार गरेका हुन् ।

रुतुराजले ७ छक्का प्रहार गर्दै आफ्नो दोहोरो शतक समेत बनाए । उनले १५९ बल खेल्दै १० चौका र १६ छक्का मद्दतमा अविजित २२० रन बनाए । उनले चौथो विकेटका लागि अंकित काजीसँग १४६ रनको साझेदारी समेत गरे । कप्तानसमेत रहेका रुतुराजले दोहोरो शतक बनाएपछि महाराष्ट्रले ५ विकेट गुमाएर ३३० रन बनाएको छ । ३३१ रनको लक्ष्य पछ्याउँदै उत्तर प्रदेशले ब्याटिङ गरिरहेको छ ।

यस्तै आश्चर्य कीर्तिमान बनाउन सकिने सम्भावना रहने भएकाले क्रिकेटलाई कीर्तिमानको खेल पनि भनिन्छ । जहाँ हरेक बल र हरेक विकेटमा कीर्तिमान बनिरहेको छ । क्रिकेटमा कीर्तिमानहरु धेरै बन्ने तोडिन्छन् क्रम चलिरहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here