झापा । बेलायतीकी महारानी एलिजावेथको बिहीबार निधन भएको छ । ७० वर्षसम्म बेलायतको राजगद्दी सम्हालेकी एलिजावेथ ९६ वर्षकी थिइन् ।
उनको निधनमा बेलायत मात्र होइन संसारभरबाट दुःख व्यक्त भइरहेको छ । विश्वभरिका नेताहरूले उनको निधनमा दुःख व्यक्त गरिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले पनि महारानी एलिजावेथको निधनमा दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री देउवाले लेखेका छन् ‘अनुग्रह, सरलता र अन्य संस्कृति र मानवताप्रतिको सम्मानका कारण नेपालीहरू महामारी एलिजावेथला सधैँ सम्झिरहने छन् ।’
प्रधानमन्त्री देउवाले आफ्नो ट्विटमा महारानी एलिजावेथले दुई पटक गरेको नेपाल भ्रमणलाई पनि स्मरण गरेका छन् ।
गद्दी सम्हालेपछि एलिजावेथ पहिलो पटक सन् १९६१ (विस २०१७) मा तत्कालीन राजा महेन्द्रको निमन्त्रणामा नेपाल आएकी थिइन् । त्यतिबेला नेपाल र बेलायतका राजपरिवारबीच भ्रमणको आदान–प्रदान हुन्थ्यो ।
अर्को पटक एलिजावेथले २०४२ फागुनमा नेपालको राजकीय भ्रमण गरेकी थिइन् । त्यतिबेला राजा वीरेन्द्रले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
आफ्नो शासनकाल एलिजावेथले सबै कमनवेल्थ देशहरूको भ्रमण गरेकी थिइन् । विभिन्न देशमा उनको लोकप्रियता बढ्दो थियो ।
नेपाल कहिले पनि उपनिवेश नभए पनि गोर्खा भर्तीका कारण नेपाल र बेलायतको सम्बन्ध गहिरो थियो । बेलायत र नेपालको त्यही विशेष सम्बन्धका कारण महारानी एलिजावेथ दुई पटक नेपाल आएकी हुन् ।
द इकोनोमिस्टका अनुसार उनले संसारका एक सयभन्दा बढी मुलुकमा राजकीय भ्रमण गरेकी थिइन् । – सेतोपाटी