समाजवाद र बीपी जयन्ती


२४ भाद्र २०७९, शुक्रबार ११:५७ मा प्रकाशित

प्रसंग आजभन्दा करीब २६ बर्ष अगाडिको हो । एक दिन म भन्दा सिनियर दिदीहरुले विद्यालयमा सल्लाह गर्दै गरेको मैले सुने । उहाँहरु भन्दै हुनुहुन्थ्यो– ‘हामी आज टिफिन पछाडि नपढौँ ।’

Advertisement

मैले दिदीहरुलाई सोधेँ– किन नपढ्ने ? उहाँहरुले भन्नुभयो – ‘आज भदौ २४ गते हो । महामानव बीपी कोइरालाको जन्म जयन्तीको अवसरमा हुने कार्यक्रममा जानुपर्छ त्यसैले ।’

त्यतिबेलासम्म बीपी कोइराला को हुन् भन्ने मलाई थाहा थिएन । मेरो मनमा कौतुहलता जाग्यो अनी मैले उहाँहरुलाई सोधेँ । बीपी कोइराला भनेको को हुन् दिदी ? अनि किन जाने नि कार्यक्रममा ? उहाँहरुले भन्नु भयो –‘बीपी भनेका हाम्रो देशको प्रथम जननिर्वाचित प्रधानमन्त्रि हुन्, नेपाली कांग्रेसको संस्थापक, नेपाली कांग्रेसको सिद्धान्तका प्रतिपादक । साथै साहित्यकार पनि ।’

उहाँहरु मात्र किन कार्यक्रममा जाने त ! अरु चाहिँ किन नजाने भनेर जिज्ञासा जाग्यो । पछि थापा पाए उहाँहरु नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघसँग आबद्ध हुनुहुँदो रहेछ । त्यसैले बीपी जयन्ती मनाउनु हुँदो रहेछ ।

मलाई आजको दिन अर्थात् बीपी स्मृति दिवसमा सधैँ त्यही दिनको याद आइरहन्छ । त्यसपछि मैले बीपीको बारेमा सोधखोज गरेँ । उहाँको आत्मवृतान्त पनि पढे । उहाँ बहुप्रतिभाशाली दुरदर्शी राजनीतिज्ञ हुनुहुँदो रहेछ । राजनीतिक नेतामा हुनुपर्ने गुण । जनताको दुःखलाई आफ्नो दुःख सम्झेर जनताका लागि ठूलो योगदान दिनु भएको रहेछ । उहाँले नेपाली साहित्यमा पु¥याउनु भएको योगदान अतुलनीय छ । नेपाली साहित्यका मनोबैज्ञानिक यथार्थबादी धाराका प्रर्वतक पनि हुनुहुँदो रहेछ भन्ने मैले थाहा पाए र मैले उहाँका कृतिहरु पनि अध्ययन गरेँ ।

उहाँको जीवनी र राजनैतिक यात्रा अध्ययन गरिसके पछि उहाँले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादबाट प्रभावित भए । समाजवादको जगमा राजनैतिक स्वतन्त्रता र आर्थिक समानतासहित मुलुक रुपान्तरणको खाका कोर्नु भएको थियो । उहाँका विचारमा राजनैतिक, आर्थिक र सामाजिक दृष्टिले सबै मानिसहरु समान हुनु नै समाजवाद हो । समाजवादमा समाजका सदस्यहरुको आकांक्षा र आवश्यकताहरु समान हुन्छन् । समाजका सदस्यहरुको खान, लाउन र बस्न पाउने अधिकार समान छन् । उत्पादनका समस्त साधनहरुमा व्यक्तिको अधिकार नभइ सम्पूर्ण समाजको अधिकार हुन्छ । उहाँको समाजवादमा अत्यावश्यक आर्थिक सूचक र क्रियाकलापमा राज्यले सहयोग गर्नुपर्छ भनिएको छ । जुन नीति तथा कार्यक्रमले गाउँका किसानको भलाइ गर्छ त्यो नै समाजवाद हो भनेर प्रष्टसँग किटान गरिएको छ ।

बीपीले लेपालको सन्दर्भमा समाजवादलाई यसरी प्रष्टाउँनु भएको छ ‘सबै नेपालीको एउटा सानो घर होस् । गरी खान पुग्ने खेतबारी होस् । एउटा दुहुनु गाई होस् । छोराछोरी स्कुल पढ्न पाऊन् । स्वास्थ्य उपचार गर्न पाऊन् । यही नेपालको सन्दर्भमा समाजवाद हो ।’ घर नेपालको संविधान २०७२ को आवासको हकसँग सम्बन्धित छ । केटाकेटीले पढ्न पाउन् भन्ने शिक्षाको अधिकार, त्यस्तैगरी बिरामीले सिटामोल पाउन् भन्ने स्वास्थ्य उपचारको हकसँग सम्बन्धित छन् । यसबाट के प्रष्टसँग भन्न सकिन्छ भने वर्तमान संविधान समाजवाद उन्मुख छ । यसको जग नै बीपीले प्रतिवादन गरेको समाजवादको सिद्धान्त हो भन्दा फरक पर्दैैन ।

आज भदौ २४ गते बीपी कोइरालाको जन्म जयन्ती । आजको दिन समस्त प्रजातन्त्रमा विश्वास राख्ने, प्रजातान्त्रिक मूल्य र मान्यतामा अडिग रहने जो कोही ले पनि बीपीका विचारहरु र प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई नजिकबाट नियालेर हेर्नुपर्छ ।

आजसम्म पनि बीपीका विचार र सिद्धान्त उत्तिकै सान्र्दभिक र महत्त्वपूर्ण छन् । नेपालको सन्र्दभमा समाजवाद कस्तो हुनुपर्छ त ? यस बिषयमा गहन रुपले छलफल गरेर समय सापेक्ष सुधार गर्दै अघि बढ्न सक्नु पर्दछ । जनताको जनजीविकाको सन्र्दभमा समाजवादको विषयमा बीपीको धारणा प्रष्ट थियो । हरेक व्यक्तिको एउटा घर, एक हल गोरु ,एउटा दुहुनु गाई र कमाई खाने खेतबारी सबैको पहँुचमा हुनपर्छ ।

आज बी.पी. कोइरालालाई सम्झिरहँदा यसका अलवा अन्य विषयमा पनि समयको माग सँगै परिवर्तन भएर अगाडि बढ्न सके सार्थक हुनेछ । अबको परिस्थिती भनेको खान पुग्ने गरी कृषि उत्पादनमा मात्र नजोडेर कृषि क्रान्तिका लागि पनि जोड दिने कार्यक्रम ल्याउने हो की ? सुकुम्बासी तथा गरीब किसान बस्ने झुपडीलाई महल बनाउन सक्ने गरी जीवनस्तर उकास्ने खालको कार्यक्रम ल्याई जनताको जनजीवनमा परिवर्तन ल्याउन सके मात्र बीपी कोइरालाको सपना साकार भई उहाँलाई न्याय हुन्छ ।

बी.पी. कोइरालाले नेपाली कांग्रेस पार्टिको स्थापना र संगठन निर्माणका लागि खेल्नु भएको भूमिकाको विषयमा हामीले जति चर्चा गरे पनि अपुग हुन्छ । उहाँ नेपाली कांग्रेसको सिद्धान्तको प्रतिपादक हुनुहुन्छ, देश विकासको आधारशिला निर्माण गर्ने पथप्रर्दशक हुनुहुन्छ । बी.पी. कोइरालाप्रति हार्दिक श्रद्धासुमन । जय नेपाल ।


(लेखक नेपाली कांग्रेस धनकुटाकी महासमिति सदस्य हुनुहुन्छ ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here