समाचार प्रभाव ः स्व. उजारुको घर निर्माणका लागि जुट्न थाल्यो सहयोग


१३ भाद्र २०७९, सोमबार १६:३२ मा प्रकाशित

बिर्तामोड । बिहिबार झापाका केही संचार माध्यमहरुमा विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले विचल्लीमा परेका जग्गादाता स्व.उजारु राजवंशीको बारेमा समाचार आए पश्चात घर निर्माणका लागि सहयोग संकलन हुन थालेको छ ।

Advertisement

राजवंशी परिवारको घर निर्माण गरिदिन दुर्गा माविका प्रधानाध्यापक कृष्णप्रसाद पाठकको संयोजकत्वमा इन्द्रसिंह राजवंशी ,सुमन राजवंशी ,सरोज पौडेल र उमानाथ भण्डारी रहेको स्व. उजारु राजवंशी भवन निर्माण समिति गठन गरिएको छ । सोही समितिमार्फत सहयोग संकलन हुन थालेको हो ।

जग्गादाता उजारु राजवंशीको घर निर्माणकालागि दुर्गा माविले ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । विद्यालय परिवारका तर्फबाट शुरुवाती चरणमा सो रकम सहयोग गरिएको प्रधानाध्यापक पाठकले बताए । त्यस्तै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौले ३० बोरा र कालीमाता मठमन्दिर समिति बिर्तामोड ९ नरियावारीले २० बोरा सिमेन्ट प्रदान गर्ने निर्णय गरेको छ । दुबै संस्थाबाट ५० बोरा सिमेन्ट दिने निर्णय भएको रोटरी क्लब अफ डिल्लीबजारका सदस्य समेत रहेका कालीमाता मठमन्दिर समितिका अध्यक्ष युवराज रोकाले बताए ।

त्यस्तै अन्य दाता महानुभावहरुले पनि नगद तथा जिन्सी सहयोग गर्ने इच्छा व्यक्त गरेको निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले बताए । सहयोग संकलनलाई व्यवस्थित र पारदर्शी बनाउन लुम्बिनी विकास बैंक बिर्तामोड शाखामा स्व. उजारु राजवंशी भवन निर्माण समितिको नाममा खाता खोलिएको राजवंशीले बताए । खाता नम्बर ०७२००१२०२४२१५८०००००१ रहेको छ । समितिले यस खातामा सहयोग गरिदिनु हुन सबै सहयोगीहरुलाई आव्हान गरेको छ ।

जग्गादाता उजारु राजवंशीको निधनपछि उनको परिवार झनै समस्यामा परेको हो । उजारुकी श्रीमती चम्पा राजवंशी बस्ने राम्रो घर नभएपछि घर बनाइदिने अभियान संचालन गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here