सिग्देलको पाचौं कृति ‘मनको कैदी’ बजारमा


२४ श्रावण २०७८, आईतवार ०८:०४ मा प्रकाशित

झापा, २४ साउन ।। पत्रकार तीर्थ सिग्देलको पाचौं कृतिका रुपमा ‘मनको कैदी’ कथासंग्रह बजारमा आएको छ ।
मनोनेट विधामा आधारित सिग्देलको दोस्रो कथा संग्रह मनको कैदी यही साउनबाट बजारमा आएको हो ।
कथा, निबन्ध र नियात्रा लगायतका साहित्यिक बिधामा कलम चलाउँदै आएका सिग्देल युवा पुस्ताको लेखन साहित्यमा उदाउँदो नाम हो । उनका कथामा मनो संवाद र कल्पनाशीलताको सिर्जनशील प्रयोग पाइन्छ ।
यसबारे लेखक सिग्देल भन्छन्, ‘खासमा मान्छे मनद्धारा संचालित र नियन्त्रित हुन्छ । मनले नै सबै ज्ञानेन्द्रियहरु परिचालित भएका हुन्छन् । जसले मानिसहरुका इच्छा, कामना, अभिलाषा, रुचि, स्वभाव र प्रकृतिलाई नियन्त्रण गरेको हुन्छ । अझ भनौं, उनीहरुका उनीहरुको अनुभव, इच्छा, क्रोध, विचार, संकल्प विकल्पलाई नियन्त्रित तथा परिभाषित गर्ने अन्तःकरणको अंश वा वृत्ति, नाक, कान, आँखा, स्पर्श, स्वाद आदिले प्रभावित पार्ने इन्द्रीय अन्तःकरण, चित्त, दिल वा हृदयको आवाज हो । जहाँ मानिसहरु मनका कैदीसरह हुन्छन् ।’
मूलतः मनको कैदी त्यही मनको परिधिभित्र लेखिएको कथासंग्रह हो भन्दा हुन्छ, जहाँ संग्रहित १३ बटा कथाहरु सबै नै मनोबैज्ञानिक शैलीका छन् । मान्छेका मनमा उर्लिएका भावना र विचारहरुको मेल नै यो कथा संग्रहको सार हो । त्यहाँ समेटिएको ‘उर्लंदो समुद्र र भावना’ शीर्षकको कथाको तीन भाग छ, यसलाई नयाँ प्रयोगको रुपमा लिन सकिन्छ ।
मान्छेका मनभित्र गुम्सेर रहेका अव्यक्त भावहरु बुझ्ने र बुजाउने प्रयोगात्मक शैली यसमा अपनाइएको छ । समग्रमा मान्छेले मनलाई कसरी लिएको हुन्छ र त्यही मनले चाह्यो भने के सम्म गर्न सक्छ भन्ने यसमा प्रष्ट पारिएको छ । सारा संसारलाई नियन्त्रण गर्ने एक मात्र माध्यम मन हो । मनले चाह्यो भने जेपनि हुन्छ । एकै क्षणमा यहाँ आगो बल्छ र केही क्षणमै युद्ध हुन्छ । सिंगो मानवलाई चलाउने मान्छेको मन हो, जसलाई ठिक ढंगले बुझ्न र बुझाउन सकेमा क्षति कम हुन्छ ।
उनको यसअघि प्रकाशित मनोनेट कथासंग्रह त्यही मनको सिद्धान्तमा आधारित थियो । त्यो किताबले धेरैले मान्छेको मन जित्यो । त्यसपछिको यो किताबमा पनि मनोनेट शैली नै झल्किन्छ । तर, अर्को रुपमा ।
यो किताब मनोबैज्ञानिक शैलीको छ । पुस्तकलेः कहि कहि फ्रायडबादलाई पछ्याउन पनि खोज्छ । नेपालमा बीपीले यसको प्रयोग गरेका छन् । पछि अरु ख्यातिप्राप्त लेखकहरुको किताबमा पनि प्रयोग भएको प्राइन्छ । कतिपयले यौन मनोबैज्ञाबिज्ञान वा मनोबैज्ञानिक लेखन शैली भनेका छन् । तर, जसले जे भनेपनि यसरी प्रयोगात्मक रुपमा लेखिएका किताबमा मनोबिज्ञान झल्किन्छ । त्यो प्रयोग यसमा पनि छ ।
‘खासमा भन्ने हो भने एउटा लेखकले मान्छेको मनभित्र पसेर लेख्न सक्नुपर्छ । म त्यही शैली अपनाउँछु, जहाँ मान्छेहरुको कथा, व्यथा झल्किन्छ’, लेखक भन्छन् ।
मान्छेको मनभित्र गुम्सिएर रहेका कतिपय भावनाहरुको प्रकटीकरण उनकोे लेखाइको मुल पक्ष हो । पुस्तक मिडिया रिसर्च सेन्टरले प्रकाशन गरेको छ । पुस्तकको मूल्य २ सय ५० छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here