७ प्रदेशका १६ स्थानमा प्रदेश सभा खाली, कहिले हुन्छ निर्वाचन ?


२१ श्रावण २०७८, बिहीबार ०७:५४ मा प्रकाशित

काठमाडौं, २१ साउन ।। प्रदेश सभामा सात प्रदेशका १६ सांसदको पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश–१ मा एक, प्रदेश–२ मा तीन, बागमती प्रदेशमा एक, गण्डकी प्रदेशमा एक, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा पाँच र सुदूरपश्चिम प्रदेशमा एक गरी १६ सांसदको पद रिक्त भएको हो । रिक्त भएकामध्ये आठ जनाले दल त्याग गरेको, दुई जनाले राजीनामा दिएको, पाँच जनालाई सम्बन्धित दलबाट निष्काशन गरिएको छ भने एकजनाको मृत्यु भएको हो । 

Advertisement

रिक्त हुने आठ सांसद माओवादीबाट निर्वाचित भएका छन् । सात जना एमालेबाट निर्वाचित भएका छन् । एकजना राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश–१ मा माओवादी केन्द्रबाट ताप्लेजुङ १(२) बाट निर्वाचित टंक आङ्बुहाङ लिम्बुले गत चैत २६ गते दल त्याग गरेपछि रिक्त भएको छ । प्रदेश–२ मा माओवादी केन्द्रबाटै धनुषा १(२) बाट निर्वाचित रामचन्द्र मण्डल, रौतहट ३(२) बाट निर्वाचित कुन्दनप्रसाद कुशवाहा, बारा ३(१) बाट निर्वाचित ज्वालाकुमारी साहले गत चैत ३० गते दल त्याग गरेपछि रिक्त भएको

बागमती प्रदेशमा नेकपा एमालेबाट दोलखा १(२) बाट निर्वाचित पशुपति चौलागाईको गत बैशाख २८ गते मृत्यु भएपछि रिक्त भएको छ । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाबाट बागलुङ १(२)बाट निर्वाचित कृष्ण थापालाई गत जेठ २८ गते पार्टीले निष्काशन गरेपछि रिक्त भएको छ । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट रुपन्देही १(२) बाट निर्वाचित दधिराम न्यौपाने, गुल्मी २(२) बाट निर्वाचित दिनेश पन्थीले गत चैत २४ गते दल त्याग गरेपछि रिक्त भएको छ । त्यस्तै लुम्बिनी प्रदेशमै नेकपा एमालेबाटै कपिलवस्तु २ (१) बाट निर्वाचित दृगनारायण पाण्डेले गत वैशाख १९ गते र दाङ २(२) बाट निर्वाचित अमरबहादुर डाँगीले गत बैशाख २२ गते राजीनामा दिएपछि रिक्त भएको छ । 

कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट दैलेख १(१) बाट निर्वाचित धर्मराज रेग्मीले गत चैत ३० गते दल त्याग गरेपछि रिक्त भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट अछाम १(२) बाट माओवादी केन्द्रबाट निर्वाचित झपटबहादुर बोहोराले गत बैशाख ६ गते दल त्याग गरेपछि रिक्त भएको छ । कर्णाली प्रदेशमा एमालेबाट निर्वाचित प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले १८ साउनमा सदर गरेपछि रिक्त भएका छन् । 
त्यो सूची भने निर्वाचन आयोगमा पुगिनसकेको आयोगको  नामावली शाखाका उपसचिव ऋषि भुसालले जानकारी दिए ।

‘अहिलेसम्म हामीसँग १२ स्थानमा प्रदेश सभा सदस्य रिक्त भएको जानकारी आएको छ । चार जनाको केही दिन अघिमात्रै सर्वोच्च अदालतले पार्टीले गरेको कारबाहीलाई सदर गरेको खबरहरू सार्वजनिक भएका छन्,’ उपसचिव भुसालले भने । ज्वाला सल्यान १(१) बाट, शाही कालिकोट १(१), बुढा डोल्पा १(१) र थापा दैलेख १(२) बाट निर्वाचित भएका थिए । उनीहररूलाई ह्वीप उल्लंघन गरेको आरोपमा पार्टीले कारबाही गरेको थियो । त्यसविरुद्ध सर्वोच्च गएका उनीहरूको पक्षमा सर्वोच्चले पनि फैसला गरिदिएन । 

लुम्बिनीमा जसपा तीन सांसद पार्टी कारबाहीविरुद्ध सर्वोच्चमा

यसैबीच लुम्बिनी प्रदेशसभाका तीन सांसदलाई पार्टीले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । त्यो कारबाहीको जानकारी प्रदेश सभा सचिवालयमा गराएपछि प्रदेश सभा सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे पदमुक्त भएको जनाएको छ । जसपा केन्द्रीय कार्यालयको निर्णय अनुसार, तीनै जना पद मुक्त भएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले विज्ञप्तिमा उल्लेख छ । उनीहरूले पार्टी कारबाहीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । उनीहरू मुद्दाको सर्वोच्चमा भोलि बिहीबार पेसी तोकिएको छ ।  

संविधानको धारा १७६ (८) मा ‘प्रदेश सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ती गरिने,’ उल्लेख छ । प्रदेश सभा निर्वाचन हुने समय आउन अझै एक वर्षभन्दा बढी समय रहेकाले उपनिर्वाचन गर्नुपर्ने हुन्छ । यसले राज्यलाई निर्वाचनको व्यवभार थप्ने निश्चित छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here