पत्रकारलाई ओलम्पिक लेखन प्रतियोगिताको पुरस्कार र कोरोना लेखनवृत्तिको रकम प्रदान


७ श्रावण २०७८, बिहीबार २०:४७ मा प्रकाशित

बिर्तामोड, ७ साउन ।। नेपाल पत्रकार महासंघ झापा शाखाले ओलम्पिक खेलबारेको प्रदेश स्तरीय लेखन प्रतियोगितामा उत्कृष्ट भएका पत्रत्रकारहरुलाई बिहीबार पुरस्कार प्रदान गरेको छ ।
सोही अवसरमा पत्रकार महासंघ प्रदेश नं. १ समितिले प्रदेश सरकारको सहयोगमा सञ्चालन गरेको लेखनवृत्तिमा सहभागी पत्रकारहरुलाई प्रोत्साहन रकम हस्तान्तरण गरिएको छ ।

Advertisement


पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा महासंघको बिर्तामोडस्थित कार्यालयमा भएको कार्यक्रममा प्रमुख अतिथि स्पोर्टस् फर अल कमिशन नेपाल प्रदेश १ का संयोजक तथा बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष भोजराज सिटौलाले प्रतियोगिताका विजेता पत्रकारलाई पुरस्कार प्रदान गरेका गर्नु भएको थियो ।
स्पोर्टस् फर अल कमिशन नेपाल प्रदेश १ को सहयोगमा महासंघले ओलम्पिक दिवस २०२१ जुन २३ को अवसरमा प्रदेश स्तरीय लेख तथा समाचार लेखन प्रतियोगिता सञ्चालन गरेको थियो ।


प्रतियोगितामा प्रथम हुने इलामका नमिन ढकाललाई ११ हजार रुपैयाँ, द्वितीय हुने ताप्लेजुङका खगेन्द्र अधिकारीलाई सात हजार रुपैयाँ, तृतीय हुने झापाका हिमालचन्द्र खरेललाई पाँच हजार रुपैयाँ र सान्त्वना पुरस्कार पाँचथरका भीम बाँस्कोटालाई तीन हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथि सिटौलाले पत्रकारिता क्षेत्रबाट खेलकुदको समग्र विकासमा टेवा पु¥याउन र खेलकुद पत्रकारिता विधामा कलम चलाउने पत्रकारलाई प्रोत्साहित गर्न सहयोग गरिएको बताउनु भयो । उहाँले पत्रकार महासंघ झापाको साझेदारीमा पुरस्कारको राशी वृद्धि गरी आगामी वर्ष पनि निरन्तरता दिने बताउनु भयो ।
कोरोना संक्रमण भई हाल स्वास्थ्य लाभ गरेका झापाका १३ जना पत्रकारलाई महासंघ झापा शाखाको सिफारिसमा महासंघ प्रदेश समितिले लेखनवृत्ति प्रदान गरेको थियो । कोरोनाबारे सचेतना जगाउने तथा कोरोना संक्रमण नियन्त्रणमा स्थानीय तथा प्रदेश सरकारले निर्वाह गरेको सकारात्मक भूमिकाबारे आह्वान गरिएको लेखनवृत्तिमा सहभागीहरुलाई प्रोत्साहन स्वरुप जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
लेखनवृत्तिमा सहभागी झापाका पत्रकारहरु भीमा शिवाकोटी, गोपाल काफ्ले, नरेन्द्र ढकाल, राजु अधिकारी, दीपेन्द्र पौडेल, तुलसी निरौला, गौरव पोखरेल, सन्तोष आचार्य, सुव्रत न्यौपाने, पुष्प बराल, विष्णु पौडेल, अनिता भेटवाल र सन्तोष न्यौपानेलाई उक्त रकम प्रदान गरिएको हो ।
कार्यक्रममा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का सदस्य गोपाल काफ्ले, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीले शुभकामना व्यक्त गर्दै महासंघको नयाँ नेतृत्वले निर्वाह गरिरहेको अभिभावकीय र संस्थागत भूमिकाप्रति धन्यवाद ज्ञापन गरे । उपाध्यक्ष केशव भट्टराईले स्वागत, उपाध्यक्ष सुशिला संग्रौलाले धन्यवाद ज्ञापन, सचिव डिकेश लामाले सञ्चालन गरेको कार्यक्रममा लेखन प्रतियोगितामा उत्कृष्टहरुको नाम घोषणा सहसचिव तथा सो कार्यक्रमका संयोजक अर्जुन राजवंशीले गरेका थिए ।
कार्यक्रममा महासंघ झापा शाखाका सदस्य स्वर्गीय केशवराज धितालको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here