मेलम्ची हेलम्बुको राहत यात्राका केही अनुभवहरु


२१ असार २०७८, सोमबार १८:३६ मा प्रकाशित

सन्तोष धमला ।

Advertisement

जेष्ठ मसान्तको दिन देखि कालो बादल सहित देशको विभिन्न ठाउहरुमा अबिरल बर्षा , लगातार ३,४ दिनमा पानी पर्दा चिनको बाध फुटी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका मा अत्यधिक क्षति भएको हामी साथीहरूले थाहा पाऔं । बुढापाकाको भनाइ छ हाम्रो देश सतिले सरापेको देश त हैन। २०७२ साल बैशाख १२ मा भुकम्प, २०७६ चैत्र बाट कोरोना भाइरसको प्रकोप, फेरि राजनीतिमा उथलपुथल, दोस्रो चरणको कोरोनाको लहर अनि अहिले नै बाध फुटेर मेलम्ची हेलम्बु डुवान हुनु यो एक अचम्म लाग्छ । हामीसाथीहरु ५ गते दिउँसोको समयमा बसेर एक आपसमा अहिले देशमा भएको घटनाको कुरा गर्दै गर्दा मेलम्ची जाने कुरा भयो। एक आफसमा कुरा गर्दै गर्दा साझ पर्यो । त्यही बेला हामीले मेलम्ची जाने निर्णय गरौं ।

बेलुका मेसेन्जर ग्रुप बनाएर कुरा गर्दै आइतबार बिहानदेखि हामी सहयोगका लागि मेचिनगरका दाताहरुको घर घर पुगौं । कति ब्यक्तिहरुलाइ फोन सम्पर्क भयो भने कति जना सङ्ग भेटेर नै सहयोग लिइयो। सहयोग लिने क्रममा कतिपयले जानु हुदैन यस्तो समयमा भन्ने सल्लाह पनि दिनुभयो । कतिपयले जानको लागि हौसला प्रदान गर्नु भयो। कतिपयले आर्थिक सहयोग गर्नुभयो भने कतिपयले किचनमा पकाउने भाडाहरु सहयोग गर्नु भयो । हामिले भाडाका सामग्रीहरु नै लाने सोच पनि बनाएका थियौं । कुकर, कराइ, थाल, पनिउ, डाडु, बटुका, चम्चा आदि । जसो तसो सोमबार बेलुकासम्म छोटो समयमा हामीले सहयोग जुटाऔं । हामिलाइ दाताहरुले सहयोग गर्नु भयो। जाने तयारी मङ्गलबार बिहान ९ः३० बजेको समय थियो । जानको लागि गाडी आयो जानको लागि हामी ८ जना भयौं । म, विनम सरदार, विनय कार्की, आशिष पौडेल, शुलभ भण्डारी र अभिशेक विष्ट गरेर ६ जना अनि २ चालक साथीहरु गरेर ८ जनाको समुह बन्यो । जादैगर्दा बाटोमा समस्या हुने हो कि फेरि पास पनि त छैन भन्ने लाग्यो । हतारको समय छ के गर्ने ? एकजना साथीले भन्नु भयो “पास नलिइ जादा हामीलाइ समस्या हुन्छ पास बनाएर जानु पर्छ।” नभन्दै मेचिनगर ६ वडाबाट सिफारिस लिइ हामी २ जना सिडियो कार्यालय चन्द्रगडी गयौं । अरु साथीहरू बिर्तामोड भाडपसलमा भाडा खरिद गर्न लाग्नु भयो । सिडियो साब बाट ८ जनालाई जानको लागी सिफारिस नदिए पछि हाम्रो एक आपसमा फोनमा कुरा भयो सिडियो साब सङ्ग फेरि कुरा गरि ५ जनाको पास बनाइ बिर्तामोड आइपुगियो। सामान सबै गाडिमा लोड छ । अब हामी के कसरी जाने भने कुरा हुँदै गर्दा २ जना साथी बाइकमा अनि हामी ६ जना गाडीमा जाने कुरा भयो । यति भए पछि हामी बिर्तामोडबाट हिड्यौं । गाडीमा जादै गर्दा लोकदोहोरी गीत गाउदै मिठा मिठा रमाइलो गफ गर्दै जादा कति छिटो सप्तकोसी पुगिएछ थाहा नै भएन । सप्तकोसीको पानी हेर्दा कता कता डर पनि लागो यहाँ त यस्तो छ त्यहाँ झन के होला हैट मन सिरिङ्ग भयो। बिचबीच मा हामीलाई चेकिङ्ग गर्ने ठाउमा पुलिसले सोधिखोजी गर्दा हामीसँग ब्यानर, साथमा पास भएको पछि समस्या भएन। बाइक र गाडी अगाडी पछाडी हुदै जाँदै यात्रा अघि बढ्यो । बर्दिबास नजिक पुग्दै गर्दा साँझ पर्न थाल्यो । हामी सिन्धुलीहुँदै जाने निधो भयो । हाम्रो खाना खुर्कोटमा भयो । यतिबेला करिब रातीको समय ८ः३० बजेको हुँदो हो । खाना खाएपछि हाम्रो यात्रा सुरुभयो । रात छिपिदै जाँदै छ । काठमाडौ कतिबेला आउँछ जस्तो भइसकेको छ । राती १०ः ३० बजे तिर हामी धुलिखेल नजिक पुग्यौं । यो बाटोमा राती कतिधेरै टिपर कुदेको होला नि १ टिपर कुदाउने चालकलाइ न आफ्नो ज्यानको माया छ न अरुको ज्यानको माया छ जस्तो तरिकाले कुदाउदै छन् । एउटाले झण्डै हाम्रो गाडिलाइ ठोकायो । अलिक अगाडि चेकिङ्ग हुँदै रैछ पुलिसले रोकेर यो बाटो जोखिम छ भन्दै बिस्तारै जाने सल्लाह दिनुभयो । काठमाडौ एयर पोर्ट पछाडी पट्टी बिनय कार्की दाईको कोठा रहेछ । त्यहि कोठामा रात विताउने सल्लाह भयो । यतिबेला रातको १ः२० भइसकेको छ । दुई महिनादेखि कोठा बन्द रहेछ । हामी सबैले त्यहि रात वितायौं । बिहान उठेर हेर्दा कसैको जिउमा मच्छ्डले टोकेछ भने कसैको हात खुट्टा, अनुहारमा । हामी चिया नास्ता खाएर एक जना दाइलार्इ लिएर काठमाडौ साङ्गु, स्वास्थानी किताबमा लेखिएको लावण्य देश, सेती नदीको बाटो हुँदै मेलम्ची पुगियो। मेलम्ची हेर्दा अचम्म ! यस्तो नि हुदोरहेछ भन्ने भयो । यता हेर्दा घरहरु डुबाएको छ उता हेर्दा त्यस्तै छ ।मेलम्ची खोलाको किनारमा भएको घरको मान्छेहरु सबै अन्तै गइसक्नु भएकोरहेछ । हामी मेलम्ची बजार डुवान हेर्दै गर्दा त्यहाँका ठुल्ठुला घरहरु डुबाएको देख्यौं । मेलम्ची रेडियो, मेलम्ची रिभर रिसोटका घरहरु पनि डुबाएको थियो। हामी त्यहाँबाट हेलम्बु गाउँपालिका तर्फ गर्दा खोलाको किनार हुँदै जानू पर्ने हरेछ, मनमा डर र एक प्रकारको पीडा पनि छ । जाँदै गर्दा हेलम्बु वडा न ३ गैराबेँसी पुगियो। त्यो ठाउमा राहत लिने मान्छेको ठुलो भिडरहेछ । हामी पुगे पछि त्यहाँ वडा अध्यक्ष, स्वयमसेवकले हामीलाइ राम्रो सत्कार गर्नु भयो । हामीले राहतका लागि लगेको सामानहरु किचनमा पकाएर खाने सेटनै लगेका थियौ। अति बिपन्न जसको घरमा केही छैन, भएको पनि सबै पुरियो खोलाले बगाएर लग्यो, त्यस्तो ५० घर परिवारको वडा अध्यक्षले लिस्ट तयारी गर्नु भएको रहेछ । उहाँकै सहयोगमा हामीले लगेको सामान बितरण गर्दा १० बज्यो । त्यहाँ खाना खाएर बाटो हेर्दै हामी अझै हेलम्बु बजार पुग्यौं । खोला बिचबाट आएको छ । खोला पारी गाउँ छ । वारि गाउँ, खोला यक्दमै ठूलो भएकोले पारी वारि गर्न मान्छेलाई सम्भव नै छैन। हेलम्बु बजारको क्षेत हेर्दा त हामी त आत्तियौं । त्यो रातो फलामको पुल माथि माथि पानी, हिलो खोलाले बगाए ल्याएको रुखको हाङ्गा, काठ, ठुला ठूला ढुङ्गा देख्दा मन्नै सिरिङ्ग भयो। रातो पुल नजिक गाडी रोकेर बजार तर्फको बाटो हेर्दै जादा त्यो बजार ठूलो नै रहेछ । सोचेर पनि नसोचेको क्षति भएको रहेछ । घरका सबै भुइतलाहरु पुरिएको छ । कोठा जत्रै ढुङ्गा कोठामा कहाँ देखि ल्याएको होला घरको सटनै पानीको बहावले फोरेको छ । एम्बुलेन्स बाइक बगाएको छ। अलिक मास्तिर हेर्दै जादा एउटा पहाड जत्रै ढुङ्गाले गर्दा त्यो बजार बगाउन पाएन छ । त्यो ढुङ्गा थिएन भने त्यो बजार सहित सबै बगाउने रहेछ । अझै ठुलो क्षेती हुने रैछ ।

स्थानीय मानिसहरू को गुनासो थियो हेलम्बु गाउपालिकामा मेलम्ची भन्दा अत्यधिक धेरै क्षति हुँदा पनि सरकार र सहयोगदाताले पनि मेलम्चीलाई नै बढि ध्यान दिएको । हेलम्बुलाई त्यति ध्यान नदिएको जस्तो उनीहरुलाई लागेको रहेछ । त्यहाँको बिद्यालय पनि बगाएको थियो । त्यहाको सबै दृश्य हेरेर र हामीसँग भएका राहतका सामान वितरण गरिसकेर हामी काठमाडौ फम्र्यौ । काठमाडौमा बास बसि बिहीबार बेल्का हामी आ आफ्नो घर आइ पुग्यौं । हेलम्बुबाट फर्के पछि अविरल परेको पानी सम्झन्छ । मनमा त्यसै त्यसै डर लागेर आउँछ । निरन्तर वर्षाका कारण हाम्रो मेचीनगर पनि कुनै दिन मेलम्ची हेलम्बु जस्तै त हुदैन ? यो अबिरल बर्षा हुँँदा त्यो निन्दा सिरान, चुरे, टिमाइ, हडिया नजिक आसपासमा बसोवास गर्ने मानिसहरुका घर, खेत डुबानमा त पर्ने हैन ? खोलाको ढुङ्गा ,गिटी ,बालुवा बेचेर प्रकृतिमाथि दोहन गर्दा भोलीको विपत्ती कस्तो हुनछ ? सोझा सिधा जनता पो मर्ने हुन कि ? ठुला बडाको घर त खोलाको नजिकै चुरेको जङ्गल नजिकै हुदैनन् । त्यही मजदुर, श्रमजीवी किसानहरुको त घर हुने हो । नोक्सान, क्षति तिनै गरीब, किसान मजदुरको हुने हो। अब यत्रो हुँदा पनि हाम्रो स्थानीय निकायले ध्यान नदिने हो भने मेचीनगरमा ठूलो नोक्सानी हुन सक्छ । हामी पनि मेलम्ची हेलम्बुमा जस्तो विपत्तीमा पर्न सक्छौं । हामीलाई यो राहत यात्राले सिकाएको पाठ र शिक्षा यहि नै हो ।
हाम्रो मेलम्ची हेलम्बुको यात्रामा प्रत्येक्ष अप्रत्यक्ष रूपमा साथ सहयोग गर्नुहुने तपाईं सबैमा विशेष धन्यवाद दिदै तपाईंहरूको आउँदो दिनमा पनि सल्लाह सुझावको सहयोगको अपेक्षा गर्ने छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here