नेकपा माओवादी केन्द्रद्वारा आज पनि प्रदेशसभा बैठक अवरुद्ध


२० असार २०७८, आईतवार १९:२८ मा प्रकाशित

विराटनगर, २० असार ।। आफ्ना सांसद मोहन खड्कामाथि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले प्रदेशसभा बैठकमै संसदीय मर्यादाविपरीत गालीगलौज गरेको भन्दै नेकपा माओवादी केन्द्रले प्रदेश १ को प्रदेशसभा बैठक आज पनि अवरुद्ध पारेको छ ।

Advertisement

असार १४ गते बसेको प्रदेशसभा बैठकका क्रममा सांसद खड्कालाई ‘तपाईँ भिजन भएको नेता होइन’ भन्दै व्यक्तिगत रुपमा गालीगलौज गरेका थिए । मन्त्री गुरुङको यस्तो अभिव्यक्ति मर्यादाविपरीत भएकाले उनले क्षमायाचना गर्नुपर्ने तथा उनको अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट समेत हटाउनुपर्ने माग गर्दै सांसद खड्काको पार्टी नेकपा माओवादी केन्द्रले असार १५ गते बसेको प्रदेशसभा बैठक पनि अवरुद्ध गरेको थियो । बैठक बसेको तीन मिनेटमै स्थगित गर्दै प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले आजका लागि बैठक तय गरेका थिए । तर आजको बैठकमा पनि माओवादी केन्द्रले अवरोध गरेको हो । मन्त्री गुरुङको क्षमायाचना र अभिव्यक्ति रेकर्डबाट हटाउने विषयमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीसँग काठमाडौँ र मुख्यमन्त्री शेरधन राईसँग विराटनगरमा भएको छलफलमा सत्तापक्ष क्षमा याचनाका लागि तयार नभएपछि आफूहरुले बैठकमा अवरोध गरेको माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।

गालीगलौज गर्ने मन्त्री गुरुङ र गाली खाने सांसद खड्का एउटै जिल्ला ओखलढुङ्गाका सांसद हुन् । माओवादी केन्द्र र एमाले संयुक्त रूपमा चुनावी अभियानमा जाँदा ओखलढुङ्गा को ‘क’बाट गुरुङ र ‘ख’बाट खड्का निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here