अविरल बर्षाको प्रभाव : बेलैमा सावधानी नअपनाए मेची मेलम्ची बन्ने खतरा


१९ असार २०७८, शनिबार १५:०६ मा प्रकाशित

मेचीनगर, १९ असार ।।अविरल बर्षाका कारण नदीमा वहाव बढेपछि नदी आसपास बसोवास गरेका नागरिक जोखिममा पर्ने देखिएको छ । झापा मेचीनगर नगरपालिकाका भित्रका नदी किनारमा बसोवास गर्ने सयौ घर परिवारहरु बर्षासँगै त्रसित भएर दिन काटिरहेका छन् । मेची, निन्दा र पालिया नदी किनारका बासिन्दा जुनसुकै बेला कटानमा पर्न सक्ने देखिएको छ । मेचीनगरका वडा नम्बर ६ अन्तरगत पर्ने मेची पुल उत्तर पट्टिको क्षेत्रमा बसोवास गर्ने करिब १ सय घर परिवार र पालिया खोलाको किनारमा बसोवास गरेर बसेकाहरु उच्च खोजिममा देखिएका छन् । खोला किनारमा रहेको गाउँमा नै जुनसुकै बेला खोलाको बहाब पस्न सक्ने खतरा रहेको स्थानीयबासीले बताएका छन । त्यसै गरी वडा नम्बर दुईमा पर्ने मीनि माउण्टेन पर्यटकीय क्षेत्र समेत निन्दाको कटानमा परेको छ । सो क्षेत्रमा बसोवास गर्ने ११ घर परिवार समेत जोखिममा परेका स्थानीयवासीले बताएका छन् । पर्यटकीय क्षेत्र मिनिमाण्टेन सहित ११ घर बसोबास रहेको क्षेत्रमा निन्दा खोला जुनसुकै बेला पस्न सक्ने स्थानीय नारद ढुंगानाले बताउनु भयो ।

Advertisement

‘निन्दा खोलाले धार परिवर्तन गरेर गाउँ तिर पस्न खोजेको छ’ ढुंगानाले भन्नुभयो, ‘स्थानीयबासीले नै ९० हजार रुपैया संकलन गरेर जेसिबि मार्फत खोला सिधा पार्ने काम त गरेका छौं तर बाढी ठुलो आयो भने खोला गाउँ पस्छ ।’

निन्दा खोलाले धार परिवर्तन गरेर पुर्व तर्फ लाग्यो भने मिनिमाण्टेन पर्यटकीय क्षेत्र पुरै बगरमा परिणत हुने ढुंगानाले बताउनु भयो । वहाँले भन्नुभयो, ‘११ घर त पुरै डुबाउँछ नै त्योसंगै मिनिमाण्टेनको पिकनिक खाने क्षेत्र पनि बगर बनाउँछ ।’ खोला गाउँ पस्न खोज्दा समेत पनि नगरपालिकाले खोला सिधा पार्न सहयोग नगरेको स्थानीयहरुले गुनासो गरेका छन ।

असार पहिलो हप्तादेखि आएको वर्षाका कारण मेलम्चीको हेलम्बुमा बाढी पहिरोले ठुलो धनजनको क्षति भएको थियो । त्यस यताको निरन्तर वर्षाका कारण मेचीनगरका नदीहरुमा बढेको वहानका कारण नदी किनारका बसोवासीहरु प्रभावित हुने देखिएको छ । बेलैमा सचेत र सावधानी नअपनाउने हो भने मेची नदीले मेलम्ची दोहोर्यान सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here