आर्थिक वर्ष २०७८/०७९ का लागि बिर्तामोडको बजेट १ अर्ब ३१ करोड


११ असार २०७८, शुक्रबार १३:१० मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब ३० करोड ७७ लाख ७९ हजार ५०० रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

Advertisement

आज सुरु भएको सातौं नगरसभा बैठकमा नगरपालिकाका उपप्रमुख पवित्रादेवी महतारा प्रसाईंले उक्त अंकको बजेट प्रस्ताव गरेकी हुन् । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता तथा प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा नगरसभा बैठक सुरु भएको हो ।

नगरसभामा प्रस्तुत बजेटमा चालूखर्च तर्फ ४४ करोड ३५ लाख १४ हजार र पूँजीगत खर्चतर्फ ६६ करोड ४२ लाख ६५ हजार ५०० हुने अनुमान गरिएको छ भने सामाजिक सुरक्षा वापत २० करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

प्रस्तावित बजेटमा आन्तरिक स्रोतबाट १५ करोड, घरजग्गा रजिष्ट्रेशन बाँडफाँडबाट १० करोड, लागत सहभागितामा १ करोड, संघीय सरकारबाट वित्तीय समानीकरण अन्तरगत प्राप्त हुने २२ करोड ४९ लाख अनुमान गरिएको छ । यसरी नै राजश्व बाँडफाँडबाट ११ करोड ९ लाख ४६ हजार, सशर्त अनुदान ४२ करोड ८४ लाख, विशेष अनुदान १ करोड ९९ लाख, समपुरक अनुदान २ करोड ८५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट वित्तीय समानीकरण अन्तरगत १ करोड ३३ लाख ७२ हजार प्राप्त हुने अनुमान गरेको छ । यसरी नै राजश्व बाँडफाँडबाट १ करोड १७ लाख ११ हजार ५०० रुपैयाँ, सशर्त अनुदान ५० हजार, समपुरक अनुदान १ करोड र सामाजिक सुरक्षा वापत २० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख पवित्रा महतरा प्रसाईंले खर्चतर्फ पूर्वाधार विकासको क्षेत्रमा ५६ करोड १४ लाख ५० हजार विनियोजन गरेको जानकारी दिइन् । यसैगरी, आर्थिक विकासमा २८ करोड २७ लाख, सामाजिक विकासमा ३८ करोड २ लाख १४ हजार ५००, वातावरण तथा विपद व्यवस्थापनमा ७५ लाख ५० हजार र सार्वजनिक सेवा तथा क्षमता विकासका लागि ३२ करोड ९८ लाख १५ शजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

नगरसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १५१ बुँदे नीति तथा कार्यक्रमसहित बजेट प्रस्ताव गरिएको हो । नगरपालिकाले गतवर्षबाटै सञ्चालित धेरैवटा कार्यक्रमहरुलाई निरन्तरता दिने नीति अगाडि सारेको छ ।

बिर्तामोड नगर अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा मिर्गौलाको डायलोसिस सेवा सुरु गर्ने, नगर अस्पतालाई स्वास्थ्य बीमा कार्यक्रमको प्राथमिक विन्दूको रुपमा सेवा बिस्तार गरिएकाले एक हजार विपन्न परिवारको निशुल्क बीमा गरिदिने कार्यक्रम अघि सारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here