मौनता


२३ जेष्ठ २०७८, आईतवार ११:३२ मा प्रकाशित

।। कथा ।।
तीर्थ सिग्देल ।।

Advertisement

प्रिय मौनता,
तिम्रा मौन आवाजमा कति शक्ति रहेछ, आज म महसुस गर्दैछु । तिम्रो आँशुमा कति बल रहेछ, आज म अनुभूति गर्दैछु । नबोलेरै पनि संसार जितिने रहेछ । हारेर पनि जितिने रहेछ । हार त एउटा क्षणिक कुरा मात्र रहेछ । जित्न त दौडनु पर्छ । प्रायः जित्नेहरुले दौडेरै जितेका हुन् । तर, जित्नु मात्र जीवन होइन । हारेर पनि जितको अनुभूति गर्न सकिन्छ ।
कतै पढेको थिएँ । मौन आवाजका चित्कार शीर्षकको कविता । कतै सुनेको थिएँ, मौनताबारेको गीत, गजल । आखिर ऊ पनि त मान्छे हो । तिमी पनि मान्छे नै हौ, उस्तै मान्छे । आखिर मान्छे मनको कैदी त रहेछ ।
तिम्रा मनका भावना, तिम्रा मनका चाहना र अब्यक्त भावहरु । तिम्रो नबोल्ने ओठ, कुरा नफड्कार्ने जिब्रो र हाउभाउ बुझ्छु म । मुखले नबोलेर के भो र ? आखिर मनको भाव आँखाले बोल्छ । ओठले संकेत नगरेर के भो र ? निधारले खोल्छ, मनको कुरा ।
प्रकृति पनि स्वार्थी हुन सक्दो रहेछ । धर्ति पनि बाँझो हुन सक्दो रहेछ । यी दुबैले कसैलाई अन्याय गर्दैनन् भनेको सुनेको हो । तर, यहाँ यो नियम लागु भएन । सामाजिक मूल्य र मान्यताले पनि चिरेन, तिम्रो मौनतालाई । चिनेन तिम्रो महानतालाई, तिम्रो क्षमता र योग्यतालाई ।
के तिमी साँच्चै बोल्न सक्दिनौं ? के तिम्रो मन र मुटु छैन ? तिम्रो मनले कुनै आशाको संचार गराउँदैन ? के तिम्रो मनले पिडा, खुशी र दुःखलाई आत्मसात गर्न सक्दैन ? तिमी पनि त मान्छे नै हौ । तिम्रा पनि कथाहरु छन् । बस…नलेखिएको मात्र त हो । तिम्रा पनि बेदना छन् । कविहरुले वर्णन नगरेका मात्र त हुन् । तिम्रा पनि त सपना छन् । कुनै इन्जिनियरले नकोरको मात्र हो । तिम्रो पनि त ओठ छ । बस… नबोलेको मात्र हो ।
प्रिय मौनता,
तिम्रो त्यो मुहार देखेर, कुनै चलचित्रको निर्देशक मख्ख पर्न सक्छ । तिम्रा दन्तलहर हेरेर, उसले कुनै दाँतको बिज्ञापनमा खेलाउन सक्छ । तिम्रा ती केशराशि, कुनै नायिकाको भन्दा कम छैन । तिम्रो त्यो हेराइमा, जो कोही पनि मोहित हुन सक्छ । तैपनि तिमी बोल्दिनौ ?
अब त बोल मौनता । तिम्रो मौनताले हद गरिसक्यो । मानिसहरु अब आफैँ बोल्न थाले तिम्रोबारे । नानाथरीका कुरा काट्न थाले, तिम्रो सुन्दरताको बारेमा । तिम्रो महिमाको जताततै चर्चा मात्र छ । तिम्रो मौनताको…।
चौरस्तामा बसेर पनि कोही बोल्न सक्छ ? रात बिरात, अन्धकारमा, घाम, जून र वर्षायाममा । चोकबजार र गल्लि नेर, हल्लिएर र रल्लिएर बसेका हुलका हुल मान्छेहरुका माझ । भट्टीहरुबाट, चलचित्रघरहरुबाट । गिर्जाघर, मठ मन्दिर, गुम्बा र मस्जिदहरुबाट फर्केका मान्छेहरुले तिमीलाई दिनदहाडै गिज्याउँछन् । दिनभर निदाएर, रातभर भुक्ने कुकुरहरुले तिम्रै समिपमा सु… गर्दा पनि तिमी बोल्दिनौं । जँड्याहाहरु, हुल्याहाहरु, श्रीमतीको डरले घर नपुगी तिमै्र समिपमा निदाउँदा पनि तिमी बोल्दिनौं ? केही भन्दिनौ ।
थाहा छ, तिमी त एउटी नारी हौ । नारी हुनुको खास पिडा तिमीलाई थाहा छ । म त एउटा पुरुष हूँ, पुरुष । पुरुषप्रति कतिपय महिलाहरुको रिजर्वेसन छ । खासगरेर फेमिनिष्टहरुको । फेमिनिष्टहरु महिलाबादी हुन् । तिमी पनि महिला नै हौं । तर, खोइ ? आज ती फेमिनिष्टहरु । तिम्रो बोलीमा लगाम लाग्दा । उनीहरु किन बोल्दैनन् ?
कैयौपटक उनीहरु यही बाटो भएर गए । नेताहरुले यही चौबाटोमा मञ्च बनाए । भाषण कुर्लिए, नाटकहरु देखाइए । महिला अधिकारको नारा उर्लियो । सत्ता र भत्ताका लागि थरिथरिका आन्दोलनहरु गरिए । तिनै मान्छेहरु मन्त्री भए । हिजो मात्र एउटा डन मन्त्री भयो । ऊ आज यही बाटो भएर गयो ।
खासमा तिमीले नचाहेर नबोलेकी होइन । बोल्न नसकेर हो । मलाई थाहा छ । तिम्रो ओठ कोमल छैन । तिम्रो जिब्रो मासुको हैन । सोच्न सक्ने मगज छैन । बुझ्न सक्ने क्षमता छैन । तिम्रा आँखाले देख्दैनन् । फर्काउन सक्ने विवेक छैन । तिम्रो मुटु ढुंगाले बनेको छ । किनभने तिमी मान्छे हैनौं किनभने तिमी त ढुङ्गाको मूर्ति हौ । तिमी त चौरस्तामा सिङ्गमर्मरबाट कुदिएकी फगत एउटी नबोल्ने मूति हौ । मौनतामा अल्झिएकी एउटी पात्र हौ ।
बिर्स मलाई…तिम्रो मुटु छैन ।
ढुङ्गाको मुटु हुनेहरु, बोल्न सक्दैनन् । गुच्चाको आँखा हुनेहरु, देख्न सक्दैनन् । उनीहरुको मन पनि हुदैन । हेर्दा उस्तै लागेपनि उनीहरुको मन र मुटुले काम गर्दैन । उज्यालो अनुहार भित्र लुकेको पिडाले कुरा खोल्न सक्दैनन् । मान्छेहरुले त तिमीलाई उस्तै देख्लान् । आफ्नै ठान्लान् तर त्यो उनीहरुका लागि एउटा भ्रम मात्र हुनेछ ।
केवल तिमी उनीहरुप्रति उदार बन्न सकौली । उनीहरुप्रति आदरभाव दर्साउली तर मान्छेहरुले तिम्रो भावना बुझ्दैनन् । तिम्रो सुन्दरतामा मोहित होलान् तर प्रेम गर्न सक्दैनन् । मनैदेखि चाहन सक्दैनन् किनभने उनीहरुको आफ्नै मुटु छ । मन पनि छ । इच्छा र चाहना छ किनभने उनीहरु त आफूजस्तै सँग मात्र रहन सक्छन् । आफूजस्तै शरीर, मन र आवाज भएकाहरुसँग मात्र मिल्न सक्छन् । उनीहरुसँग मात्र प्रेम गर्छन् ।
मानौं, तिमी मान्छे नै हौं । तरपनि उनीहरुले तिमीलाई अपनाउन सक्दैनन् । किनभने तिमी बोल्न सक्दैनौं । मान्छे जति नै जान्ने भएपनि, जति नै ज्ञानी भएपनि उसले अभिब्यक्ति गरेन भने केही अर्थ हुन्न । नबोल्नेको पीठो पनि बिक्दैन, बोल्नेको चामल पनि बिक्छ भनेको सुनेकै होला ।
खासमा तिमी त दर्शक मात्र रहेनौं । मुकदर्शक नै भयौं । दर्शकले त प्रतिक्रिया दिन्छ । मुकदर्शकले अरुकै मुख ताक्छ र आफू बोल्दैन । ऊ अरुकै गुलाम बन्छ । अरुकै भरिया बन्छ । उसले आफ्नो बारेमा सोचेकै हुँदैन । अरुले के भन्लान् भनेर मात्र बसेको हुन्छ । के तिमी त्यस्तै हौ र ?
हरेक दिन म त्यही बाटो भएर काममा जान्छु । म नियाल्छु तिमीलाई । तिम्रा क्रियाकलापको सुक्ष्म अध्ययन गर्छु । तिम्रा गतिबिधिलाई नियाल्छु । उही रुप, उही चाल, उही ढाल, उही सौन्दर्य, उही हेराइ, उही पर्खाइ, उही ब्यग्रता र उही कल्पना । फर्कदा पनि हेर्छु, त्यसरी नै तिमीलाई । उस्तै उस्तै देख्छु ।
फरक त्यत्ति हो, बिहान तिमीलाई अलिक चम्किलो देख्छु र बेलुका फुस्रो फुस्रो । बिहान घामको किरणले तिमीलाई चम्काउँदो रहेछ । बेलुका धूलो मैलोले पुर्दो रहेछ । यो कुरा पत्ता लगाउन धेरै दिन लाग्यो मलाई । पानी परेको रातपछिको बिहानीमा त तिमी झनै चम्किएकी थियौ ।
त्यस दिन मैले सम्झें, मान्छे भएको भए तिमी बोल्ने थियौं । दुःख, सुख, उमङ्ग, इच्छा, आकाँक्षा, चासो, चिन्ता, आगो, पानी, झरी, घाम, घर, परिवार, बालबच्चा, सासु र ससुराको बारेमा सोच्ने थियौ । तिमीलाई चोट लाग्दा रुने थियौ ।
पानी पर्दा चिसो महसुस गर्ने थियौ । घाम लाग्दा पोल्ने थियो तिमीलाई । धुँवा, धूलो र मैलोले छोप्दा तिम्रा आँखा रसाए होलान् । सहरमा भिड बढ्दा, सवारीका साधनको चाप बढ्दा, तिनीहरुले बजाउने हर्नले तिम्रा कान कमजोर भैसके होलान् । तैपनि तिमी सहरको मध्यबिन्दुमा एक्लै उभिएकी छौं ।
निरीह बनेर । मौनतामा अल्झिएकी एउटी पात्र बनेर ।
कसले तिमीलाई यसरी ठड्यायो ? कसले तिमीलाई यस्तो बनायो ? कसले तिमीलाई यसरी यातना दियो ? अबको मेरो खोज यसमा केन्द्रित छ ।
तिम्रो बारेमा खोज्दै जाँदा मैले सुनें, तिमी कुनै उच्च घराना कि थियौ । तिम्रा बाबुआमा अत्यन्तै धनी थिए । जमिन थुप्रै थियो उनको । तिमी हुर्कदै गएपछि तिम्रो बिहे त्यस्तै ठुलै घरानामा भयो । तिम्रा श्रीमान्ले पनि तिमीलाई चाहेकै रहेछन् । तर, दुःखको कुरा सन् २०२० तिर आएको कोरोना (कोभिड–१९) महामारीले तिम्रो ज्यान लिएछ ।
त्यसपछि तिम्रा श्रीमान्ले तिम्रो यादलाई जीवन्त राख्न तिमीलाई चौरस्तामा उभ्याइदिएछन् । थाहा छ ? तिम्रा सन्तान भएका रहेनछन् । तिमी निःसन्तान रहेछौ । जतिबेला तिमीले संसार छाड्यौ नि…, त्यसबेला बेला संसारमा झण्डै एक करोड जति मान्छे मरेछन् । कोरोना महामारीले विश्वलाई नराम्ररी गाँज्यो रे । नेपालमा पनि घरघरै मान्छे मरे अरे । न अस्पताल पुग्न भ्याए, न भरमै उपचार सम्भव थियो । कतै केही भएनछ । त्यो बेलाको सरकार पनि सत्ता स्वार्थ मै अल्झिएको रहेछ । मुखले मात्र बोल्ने मन्त्रीहरु, काम केही गर्दैनथे रे ।
के थाहा तिमीलाई यो कुरा ? तिमी त मरिसकेको मान्छे हौ । मन र मुटु नभएको ढुङ्गाको मान्छे । मुटु भएको भए, रिस, आवेग र उत्तेजना भएको भए, बिरोध गर्ने थियौ । सहने थिएनौ, तिम्रा श्रीमान्को त्यो हर्कत । मरिसकेको मान्छेलाई यादहरुमा सजाउने हो, सडकमा होइन । मन र मुटुमा राख्ने हो, चौरस्तामा होइन ।
भन्ने थियौ, ‘भो म मान्छेहरुको भिडमा बस्न सक्दिन । बस… मलाई हजुरको मनमा बस्न दिनुस्’ ।
त्यही त नबोल्ने मान्छेको मनको कुरा बुझिदैन । बोल्नेहरु धेर बोलेर बिग्रन्छन् होला, नबोल्नेहरु नबोलरै भने तिमी त्यस्तै हौ । एउटी निरीह पात्र । तर, तिमी निश्चिन्त बन । म मुक्ति दिलाउने छु तिमीलाई, यो दासताबाट । उन्मुक्ति मिल्नेछ तिमीलाई केही समयपछि । तिमी ढुक्क बन । तिमीलाई यो बन्धनबाट मुक्त राख्न म अभियान थाल्नेछु । नारीलाई यसरी बन्धनमा राख्ने बिरुद्ध म अदालत जानेछु । जनअदालत गुहार्ने छु ।
आमसभा राख्नेछु र भन्नेछु, ‘ …नारी बन्धन र मुक्तिको कथा । सुनाउनेछु… तिम्रा दुःख र पिडाको कहानी’ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here