मेचीनगरले देखायो विकासको नयाँ नमुना, असारे विकास पछि भदौरे झरीमा धमाधम कालो पत्रे


५ भाद्र २०७७, शुक्रबार १७:५२ मा प्रकाशित

५ भदौं । मेचीनगर ।। मेचीनगर वडा नम्बर ६ स्थित एउटा सडकमा दर्के पानी परिरहेकै बेला कालो पत्रे भईरहेको छ । सामान्यतया पानी परेका बेला कालो पत्रे गर्न नहुने भनिए पनि मेचीनगरको अनुगमन अभावमा ठेकेदारले झरी मै कालो पत्रे गरेको हो । नगरको कमजोरी र ठेकेदारको लापरवाहीका कारण बजेटको दुरुपयोग बढ्दो छ ।
गत असारमै मर्मत सुरु भएको मेचीनगर ६, मेची वस व्यवसायी संघ अगाडिको बाटो मर्मत गर्ने कार्य अझै सकिएको छैन । १ महिनासम्म डोजर सडकमै बसेको थियो । केही दिनदेखि फेरी मर्मत कार्य सुरु भयो । यसै क्रममा शुक्रवार दिउँसो दर्के पानी पर्यो तर मर्मत कार्य भने रोकिएन । यसरी मर्मत भएका सडकहरुको गुणस्तर जाँच गर्ने निकायलाई भने यसको कुनै पर्वाह देखिएको छैन । यस अघि असारे विकास (बजेट सक्ने) बेला पानी परिरहकै समयमा कालो पत्रे गर्ने गरेको देखिन्थ्यो । यो भने असार सकिएको १ महिना पछि फेरी झरीमै कालो पत्रे भइरहेको छ । यस्तो किन भयो भनेर बुझ्दा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याङ्गले यस्तो नहुनु पर्ने, भएको भए त्यस्तो कार्य रोक्न लगाउने बताए । असारमै फस्यौट भई आन्तरिक सहमतिमा तानिएका योजनाहरुलाई जसरी पनि सक्ने प्रचलनभित्र यो योजना पनि परेको हो भन्ने प्रश्नमा अधिकृत खाम्याङ्गले भने –“होइन, यस्ता केही योजनाहरुको म्याद थपिएकोछ ।” कुन कुन योजना र कति योजनाको म्याद थपिएको छ भन्ने बारेमा चाहि उनले बताउन सकेनन् ।

Advertisement


मेचीनगरले गत आर्थिक वर्षमै सम्पन्न गर्ने गरी मेचीनगरका कालो पत्र सडक मर्मत गर्न १ करोड ४० लाख खर्च विनियोजन गरेको अधिकृत खाम्याङ्ग बताउछन् । यहि रकम भित्र यी र यस्ता सडकहरुको मर्मत भइरहेको छ । यसरी मर्मत भएका सडकहरु १ वर्ष पनि नटिक्ने र पुन अर्को वर्ष मर्मत गर्नु पर्ने अवस्था आइरहेको छ । बजेट सक्ने तर कामको गुणस्तर नहुने यस्ता कार्यमा सरोकारवाला पक्षको ध्यान जान जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here