कान्तिपुरकर्मी बानियाँको दु:खद निधन


२८ श्रावण २०७७, बुधबार १५:२५ मा प्रकाशित

२८, साउन । काठमाडौँ ।। दुई दिनदेखि बेपत्ता भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको दुःखद निधन भएको छ ।

Advertisement

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।

अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेउबाट स्वीच अफ भएको थियो ।

अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए । बाटो छेउबाट हिलैहिलो उनी हिँडेको देखेपछि स्थानीयले त्यता नजान भनेका थिए ।

खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो । खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् ।

पत्रकार बानियाँ कान्तिपुर दैनिकमा सहायक सम्पादक पदमा कार्यरत थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here