पुण्यप्रसाद खरेल
प्रिय मित्र अमुक !
तिम्रा शब्दहरु सुनिरहेको छु । विदेशको त्यस कुनामा पुग्दा पनि तिमीले आफ्नो गाऊँघरलाई सम्झिरहेको, आफूलाई भन्दा पनि घर–परिवार र छरछिमेकको पिर गरिरहेको थाहा पाएँ । आजसम्म लामो परदेश नगएकाले र अलिक लामो समय, अर्थात् वर्ष–दुई वर्ष परदेशमा श्रम गरेर बिताउन नपाएकाले कतिको मातृभूमिको, घरपरिवारको चिन्ताले सताउँछ त्यो अनुभव गर्न मैले भने पाएको छुइनँ । उही तिमीले बोलेका शब्द जोखेर अनुमान गरेको मात्र हुँ ।
म यताको खवर त के बताउँ मित्र ? बाहिरबाहिर हेर्दा पनि घाउ ठुलै छ मेरो देशको अहिले । कोरोनाको कहर त पृथ्वीवासी सबैजसोले भोग्दै नै छन् । तिमीले थाहा पाएकै छौ । सलह पनि आए अहिले हाम्रो देशमा । हाम्रो पिंढीले ‘सलह’ शब्दमा मात्र सुनेको थियो । यथार्थमा त देखेको थिएन । यसपल्ट मध्यतराईले मज्जाले देख्न पायो । बाढी–पैह्रो त साल–दुई सालमा जाने नै हो । असार–साउनमा भल–पैह्रो चल्नु, केही घर बग्नु, केही जन बित्नु, बेपत्ता हुनु गरेकै हो । पीडितहरुलाई पीडा पनि पुग्ने नै हो, शासकहरुलाई मह काढ्न अवसर पनि हुने नै हो । तिमीले पनि अलिअलि त थाहा पाएकै हौ । जब बाढी–पैह्रो जान्छ, जब भैंचालो या आँधीहुरीले गाउँ तहस–नहस पार्छ अनि सिनो वरिपरि गिद्धहरु उडेझैं हेलिकप्टरहरु उड्छन् । ती हेलिकप्टर उड्दा राष्ट्रको कति पैसा उड्छ र त्यो पैसा कहाँ गएर काँठो लाग्छ अनुमान अलिअलि भएकै हो । कसैको पानीटेङ्कीका पिँधमा पोको परेर रहेको हुन्छ भने कसैको बाथरुमहुँदी काँठो लागेको हुन्छ । अब त त्यो काँठो लागेर करोडमा हुँदैन, अरबमा हुन्छ । अचेल बाथरुम र पानीटेङ्कीमा काँठो लाग्न पनि के पाओस् ! बित्तीय संस्थाको विगविगी छ ।
कोरोनाको कहरले पनि मह काड्न मद्दत नै गर्यो । सरकारी भाइहरु, भतिजा–छोराहरु ओम–सोम के–के बनाए ओरे पड्काए पो ! नेपाली काङ्ग्रेसका नेताहरु पनि तीन छक्क परे । ‘यी कम्निस्ट हुन् ! यिनले यस्ता तिकिडिम् जानेकै छैनन्’ भनेर ढुक्क थिए । आफूभन्दा कति सिपालु रहेछन् भनेर छक्कै परे ।
अँ तिमीलाई अहिलेको सरकारी कम्निस्ट पार्टीको खवर त मैले लेख्नु पर्दैन नै होला । यो ‘वर्गसङ्घर्ष’ डिलिट गरेको कम्निस्ट पार्टी हो, यो नेताहरुले सर्वहारा संस्कृति परित्याग गरेको र सामन्ती जीवनशैली अपनाएको कम्निस्ट पार्टी हो । यो लेनिनवादी सङ्गठन शैली वा जनवादी केन्द्रीयता होइन, महाराज शैली अपनाउने, अध्यक्षको आदेशमा चल्ने र अध्यक्षलाई कसैले सिधा हेर्न नपाउने शैलीको पार्टी हो । यो पार्टी भाषणमा भ्रष्टाचारको विरोध गर्ने पनि हो ।
कम्निस्ट पार्टी जतिसुकै सामन्तीको पार्टी जस्तो भएपनि यसको जन्मजात बिरोध गर्ने अन्य पार्टी त यहाँ छँदैछन् । अहिले अरुअरु दलकालाई आफ्नो बिरासत, आफ्नो सामन्तीतन्त्र लुटे यी ‘कम्निस्ट’को मखुण्डो लगाएकाहरुले भनेर खप्नुखानु भएको छैन । उनीहरु त्यसैपनि तीललाई पहाड बनाएर उखपात गर्न चाहने नै हुन् । तर उनीहरु अहिले भने बिलखबन्दमा परेका छन् । उनीहरु तीललाई पहाड बनाउन नपाएर हैरान छन् । पहाडै पहाड भएपछि कुन तीललाई पहाड बनाऊन् ? के गरुन् विचराहरु !
मित्र अमुक ! हाम्रो देश अहिले लगभग प्रतिपक्षी नै नभएको जस्तो पार्टीले सरकार चलाएको देश हो । तिमीलाई थाहा छँदैछ, धेरै शक्ति भएपछि कोही पनि कस्तो हुन्छ भनेर । जर्खरिएका तिघ्रा, मुर्रिएका पाखुरा र उर्जाले भरिएको शरीर भएको मान्छे त्यसैपनि सडकमा हिंड्दा अरुलाई पाट्ट पिट्ट लाउँदै, जिस्क्याउँदै, चलाउँदै हिड्छ है । ऊ कहाँ अरुतिर आँखा पनि नलगाई लुमुलुमु हिड्छ त ? उसलाई अहमत्याइँले गाँज्नु एकदम स्वभाविक हुन्छ । उसलाई अब आफूलाई दुःख–विमार लाग्ला, कमजोरर होइएला, दुब्लाइएला भन्ने नै लाग्दैन । अब यतिकै सधैं चल्छ, आफू सदावर्ती बलियै रहिन्छ र यी अरु दुब्लाहरु सधैंका लागि कमजोर भएरै बाँचिरहन अभिशप्त छन् भन्ने लाग्छ । यस्तै छ हाम्रो आजको सरकार । हुन पनि सरकार भनेको त सरकारै हो नि त ! उसमा अभिमान हुनु, उसमा अहं हुनु, ऊ निरंकुश हुनु अनिवार्यतै पनि त हो नि ! सरकार हुनु अनि निम्जो हुनु कहाँ सुहाउँछ ? यो त १०४ वर्षसम्म राणाहरुले शासन गरेको संस्कृति भएको, त्यसपछि निरंकुश राजतन्त्रले तिसौं वर्ष शासन गर्ने परम्परा र संस्कृति भएको देश हो नि त !
अँ मित्र अमुक ! तिमीसँग यो सम्वाद गर्ने क्षण भने अनौठो परेछ । ‘यति वटा शव भेटिए’, ‘आजसम्म यति जना पुगे’ भनेर ‘यति वटा शवका बाकस आइपुगे, अझै यति आउन बाँकी’ भनेर गन्ती हुँदैछ यहाँ । घरपरिवारबाट आफ्ना मान्छेको शव ल्याउन सहजीकरण गरिदिन भनेर अश्रुपूर्ण रोदनसँग गुहार गर्नेको समाचार त्यस्तै छ । जेहोस्, खवर राम्रै छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी मिलाएर हाम्रो देशको गौरवशाली नक्सा छापिएको त तिमीले पनि देख्यौ नै । अहिलेको अहिले टिभीले देखाइ हाल्छ । प्रथमा मैले पो के बाठो भै टोपल्नु र ! मैले भनेका कुरा तिमीले थाहा पाइसकेकै कुरा त होलान् !
उही तिम्रो साथी समुक