मंसीर ५, झापा ।। एसियन हाइवे पूर्वपश्चिम राजमार्ग निर्माणको प्रगति सुस्त देखिएको छ । निर्माण सुरु भएको २२ महिना पूरा हुँदा २८ प्रतिशतमात्रै प्रगति देखिएको हो । संझौता अनुसार ३६ महिनामा पूरा हुनु पर्ने सडक २२ महिना बितिसक्दासम्म २८ प्रतिशतमात्रै प्रगति भएको छ । निर्माण कार्य धमाधम भइरहेको देखिए पनि प्रगतिको ग्राफ भने तल नै देखिएको छ । सममयका हिसाबले यतिबेलासम्म ५० प्रतिशत कार्य प्रगति हुनु पर्ने हो । तर २८ प्रतिशतमात्रै प्रगति भएको छ । काँकरभिट्टादेखि लौकहीसम्मको निर्माणाधिन सडक अन्तर्गत आयोजनाको पूर्वी खण्ड काँकरभिट्टादेखि पाडाजुँगीसम्मको ४५ किलोमिटरमा २८ प्रतिशत काम भएको पूर्व खण्डका आयोजना प्रमुख सुनिलबाबु पन्तले जानकारी दिनु भयो ।
२०८० माघ २० गते देखि निर्माण सुरु गरेको ठेकेदार कम्पनीले २०८२ कार्तिक मसान्तसम्म २८ प्रतिशत मात्रै काम भए पनि अब भने निर्माण कार्यले रफ्तार लिने आयोजना प्रमुख पन्तले बताउनु भयो । पन्तका अनुसार अहिले कामले रफ्तार लिएको छ । अहिले बाँकी रहेका कल्र्भटको निर्माण सम्पन्न गर्ने, माटो पुर्ने, सब बेसको काम र कालोपत्रेका लागि प्राइम बेस राख्ने काम भइरहेको पन्तको भनाई छ ।
पूर्वी खण्डमा पहिलो प्याकेज अन्तर्गत सडक निर्माणका लागि १० अर्ब ६ करोड खर्च हुनेछ भने दोस्रो प्याकेट अन्तर्गत तीन वटा ठुला पुलहरु निन्दा, बिरीङ र कन्काईको पुल निर्माणका लागि ५ अर्ब ७५ करोड खर्च हुने गरी ठेक्का लागेको आयोजना प्रमुख पन्तले जानकारी दिनुभयो । आयोजना सम्पन्न हुने मिति २०८३ साल माघ १९ गते सकिनेछ ।






