मेचीनगर, ३० कात्तिक । युथ फर सोसाइटीले अनलाइनबाट मतदाता परिचय पत्रका लागि नाम दर्ता गर्न शुक्रवारदेखि मेचीनगरका विभिन्न क्षेत्रमा हेल्प डेस्क सञ्चालन गरी नयाँ मतदातालाई निशुल्क फोटो खिचेर सघाउन थालेको छ ।
निर्वाचन आयोगले राष्ट्रिय परिचय पत्रका आधारमा नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेपछि मेचीनगरका युवाहरुको संगठन युथ फर सोसाइटीले हेल्प डेस्क सञ्चालन गरेको हो । यसै क्रममा आज आइतवार विहान १० बजेदेखि मेचीनगर वडा नम्बर ६ लाई लक्षित गरी भट्टराई चोकमा डेस्क स्थापना गरेर नाम दर्ता गर्न थालिएको सोसाइटीका सदस्य कसिस भण्डारीले जानकारी दिएका छन् । मेचीनगर क्षत्रबाट यस अघि शुक्रवार र शनिवार गरेर करिब ३०० जनाले हेल्प डेस्कबाट नाम दर्ता गराइसकेको भण्डारीले बताए । मतदाता नावमली दर्ताका लागि निर्वाचन आयोगले मंसीर ५ गतेसम्म समय थप गरेको छ । युथ फर सोसाइटीले पनि मंसीर ५ गतेसम्म नै हेल्प डेक्स सञ्चालन गर्ने बताएको छ ।







