एमाले बैठक: एमालेको ‘गाउँ पस्ने’ तीन महिने कार्ययोजना : ७ लाख सदस्य थपिने लक्ष्य


२३ पुष २०८१, मंगलवार १९:०४ मा प्रकाशित

पुस २३, काठमाडौँ । आगामी तीन महिना गाउँ पस्ने कार्ययोजना बनाउँदै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

Advertisement

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गर्नुका साथै पार्टी निर्माणका लागि गाउँ पस्ने कार्यायोजना बनाएर बैठक सकिएको हो । तीन दिन बसेको बैठकले १४ समसामयिक प्रस्ताव समेत पारित गरेको छ ।

पारित प्रस्तावमा कांग्रेस एमाले सम्मिलित संयुक्त सरकार गठनपछि राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन र सम्मृद्धितर्फ आशा जगाएको उल्लेख छ । त्यस्तै देशमा युवाहरूले अवसर नपाएर पलायन हुनुपर्ने अवस्थाप्रति एमालेले चिन्ता प्रकट गरेको छ ।

देशभित्र केही गरौँ भन्ने हुटहुटी बोकेका युवाहरूलाई प्रोत्साहन, सहयोग र स्वरोजगारीमा जोड्न र सूचना प्रविधिलगायत क्षेत्रमा प्राप्त अवसरलाई सदुपयोग गर्ने उपयुक्त वातावरण निर्माण गर्न सरकार सफल होस् भन्ने एमालेको कामना छ । त्यसैगरी भ्रष्टाचार नियन्त्रणमा सरकारले सुरु गरेका कदमलाई सकारात्मक भनेको एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको छानबिन गरेर निष्कर्षमा पुर्‍याउन तथा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

एमालेले निर्णायक राष्ट्रिय शक्ति निर्माण मुलुकको अहिलेको आवश्यकता रहेको ठहर गर्दै यस्तो शक्ति निर्माण भएमात्र राष्ट्रहीत, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता तथा सम्मृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा हुनसक्ने बताएको छ । त्यस्तो शक्तिको निर्माण नेकपा एमालेको नेतृत्वमा मात्र सम्भव हुने भन्दै पार्टी विभाजनलगायतका कारणले बाहिर रहेका नेता कार्यकर्ताहरुलाई नेकपा एमालेमा फर्कन आह्वान गरेको छ ।

‘अभियानलाई सफल बनाउन पार्टी विभाजनलगायत कारणले पार्टी बाहिर रहनुभएका सबै कमरेडहरू र स्वतन्त्र ढङ्गले क्रियाशील रहनुभएका मित्रहरूलाई नेकपा एमालेमा फर्कन, यसमा आबद्ध हुन र सक्रिय हुन बैठक आह्वान गर्दछ’, बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘बैठकले महँगी नियन्त्रण, दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति, कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।’

केन्द्रीय सदस्य पदम गिरीले बैठकपछि एमाले सुदृढ र एकताका साथ अघि बढ्ने आधार तयार भएको बताए । उनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा व्यवहारमा कार्यान्वयन गर्न एमालेलाई राष्ट्रिय निर्णायक शक्ति बनाउने बैठकले सङ्कल्प गरेको बताए ।

‘त्यसका लागि मिसन २०८४ मा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने एमालेको निर्णय हो’, गिरीको भनाइ छ । एमालेले मिसन ८४ का १८ वटा कार्ययोजना यसअघि नै सार्वजनिक गरिसकेको छ ।

यसबाहेक केन्द्रीय कमिटी बैठकले विशेष गरी तीन महिने वडा केन्द्रित कार्य योजनालाई महत्त्व दिएको छ ।

बैठकले तीन महिने वडा केन्द्रित कार्ययोजना अनुमोदन गरेको छ । जसअनुसार एमाले नेता कार्यकर्ताहरू माघदेखि चैतसम्म तीन महिनासम्म वडा केन्द्रित कार्यक्रममा जुट्नेछन् । जसलाई एमालेले ‘एमाले गाउँ पस्ने योजना’ समेत भनेको छ ।

यसअघि एमाले सङ्गठन विभागले माघदेखि चैतसम्म ३ महिने वडा केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरेको थियो ।

सोही प्रस्तावका आधारमा आठौँ केन्द्रीय कमिटी बैठकले तीन महिने कार्ययोजनासहितको कार्यक्रम बनाएको पोलिटब्युरो सदस्य विशाल भट्टराईले जानकारी दिए ।

‘देशभरका साबिकका सबै वडामा खटाएको नेतृत्व पुग्छ । जसअनुसार सदस्यता अनलाइन अपडेट, नवीकरण, नयाँ सदस्यता वितरण र कमिटी तथा जनसङ्गठनहरू व्यवस्थापन गर्ने कामलाई कार्य योजनामा प्राथमिकता दिइएको छ’, भट्टराईको भनाइ छ । 

बैठकमा दुवै नेताको प्रतिवेदनमाथिको छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले पार्टीमा देखिएको गुटबन्दीको प्रभाव तल्लो तहसम्म परेकाले त्यसलाई नियन्त्रण गर्न सुझाव दिएका छन् ।

तल्लो तहमा गुटबन्दी हुने गरेका गुनासाहरू बैठकमा आएपनि माथिबाट संरक्षित नभएकाले त्यसको समाधान निस्कने भट्टराईको भनाइ छ । उनका अनुसार राजनीतिक प्रतिवेदनबारे केन्द्रीय सदस्यहरूले मिश्रित धारणा राखेका छन् ।

‘प्रतिवेदनबारे मिश्रित भनाइ आएको छ । कतिले राम्रो छ भनेका छन् भने कतिले परिमार्जन गर्न सुझाव दिएका पनि छन्’, भट्टराईले भने, ‘सांगठानिक प्रतिवेदनमा आगामी कार्ययोजना केन्द्रित भएकाले कार्य योजनाअनुसार हामी माघ, फागुन र चैतमा देशभरका वडा, टोल र बस्तीमा पुग्छौ ।’

यस पटकको बैठकको मुख्य निर्णय नै एमाले गाउँ पस्ने भएको भट्टराईको भनाइ छ ।

तीन महिने वडा केन्द्रित कार्यक्रम राम्रो भएपनि त्यसको कार्यान्वयन पक्षमा नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा सदस्यहरूको सुझाव छ । गाउँको जिम्मेवारी लिने र सहरमा बस्ने प्रवृत्ति रहेको भन्दै नेताहरूको शहर मोहले गाउँमा सङ्गठन बिस्तारको काम सोचेजति हुन नसकेको सहभागीहरूको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here