घरमा काम गर्दा विद्यार्थीले कसरी पाउँछन् नम्बर ? पाठ्यक्रम विकास केन्द्रले थाल्यो तयारी


२१ पुष २०८१, आईतवार २०:२४ मा प्रकाशित

पुस २१, काठमाडौं ।। के तपाईंले कतै सुन्नुभएको छ ? विद्यार्थीले घरको काम गर्दा पनि विद्यालयले नम्बर दिन्छ भनेर । अबदेखि पाठ्यक्रम विकास केन्द्रले विद्यार्थीले घरमा गरेको कामको पनि मूल्यांकन गरी नम्बर दिने पाठ्यक्रम परिमार्जन गर्ने तयारीमा जुटेको छ ।

Advertisement

नयाँ पाठ्यक्रम लागू भएपछि विद्यार्थीले खेतबारीमा काम गरे, घाँस काटे, खाना पकाए, भाईवहिनीको हेरचाह गरे, बजारमा किनमेल गर्न अभिभावकलाई सहयोग गरे पनि नम्बर पाउने भएका हुन् । परिमार्जित पाठ्यक्रम आगामी शैक्षिक शत्र २०८२ देखि कार्यान्वयन गर्ने तयारी रहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

३ घण्टाको परीक्षामा लेखेको आधारमा मात्र मूल्याङ्कन गर्न नहुने भन्दै मन्त्रालयले घरमा गरेको कामलाई पनि मूल्याङ्कनमा जोड्न लागेको मन्त्रालयका प्रबक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए ।

श्रमलाई सम्मान गर्न सिकाउनको लागि ‘नम्बर’

हाम्रो समाजमा अझै पनि पढेको मान्छे काम गर्नुहुँदैन भन्ने भाष्य विद्यमान छ । जसका कारण बालबालिकामा पनि पढे लेखेको मान्छेले घरको काम गर्नुहँुदैन भन्ने मानसिकताको सिर्जना भैरहेको छ । कतिपय अभिभावकले त आफ्ना छोराछोरीलाई सामान्य दैनिक क्रियाकलाप समेत सिकाउँदैनन् । जस्तै आफैं खाना खान, जुत्ताको लेस बाध्न, कपडाको वटम लगाउन जस्ता साना साना कुरा पनि सिकाइँदैन । विद्यार्थीहरुलाई पढाईमा मात्र सिमित राख्नुहुँदैन ।

प्याब्सनका महासचिव आरबि कटुवालले भने, ‘विद्यार्थीलाई जिवनसँग पनि जोड्नुपर्छ । विद्यार्थीको क्षमता अनुसार के गर्न सक्छ, सोहीअनुसार व्यवहारिक शिक्षा दिने कुरा राम्रो हो तर विद्यार्थीले काम गरेको छ कि छैन भनेर तथ्य पत्ता लगाउन कठिन हुने पो होकी भन्ने प्रश्नको सिर्जना पनि हुन्छ ।’

विद्यार्थीको सिपलाई प्राथमिकता दिएर विद्यालयले नम्वर दिने कुरा समयको माग भएको नेपाल हभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताए । तर लेवल टेस्टको लागि बलियो संयन्त्र बनाउन सकियो भने अझ प्रभावकारी हुनेमा जोड दिए ।

ठुलो हुँदै गएपछि पनि उसलाई त्यही बानी पर्छ र सबै कुरामा अरुमा निर्भर हुन्छ । त्यस्तो बालबालिकाले श्रमको सम्मान पनि गर्न जानेको हँुदैन । त्यसैले बालबालिकालाई शिक्षा सँगसँगै संस्कार पनि दिन आवश्यक छ । काम गर्दै सिक्ने मात्र नभई श्रमको सम्मान गर्न सिकाउनलाई पनि पाठ्यक्रम परिमार्जन गर्न लागेको पाठ्यक्रम विकास केन्द्रले जानकारी दिएको छ ।

के छ त पाठ्यक्रम विकास केन्द्रको तयारी ?

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालयको अनुसार मूल्याङ्कनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ । मूल्याङ्कनको विधि बनाउनको लागि मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रलाई जिम्मा दिएको छ । मन्त्रालयले विज्ञसँग छलफल गरेर १५ दिनभित्र विधिको प्रस्ताव ल्याउन केन्द्रलाई निर्देशन दिएको छ ।

विद्यार्थीले घरमा काम गरेको आधारमा पनि नम्वर दिने गरी पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम परिमार्जन गर्न लागेको हो । शैक्षिक शत्र २०८१ देखि लागू हुने गरी पाठ्यक्रम परिमार्जन गरिने केन्द्रले जनाएको छ ।

कसरी पाउने छन् विद्यार्थीले नम्बर ?

विद्यार्थीले घरमा गरेको कामको रिपोर्ट शिक्षकलाई गर्नुपर्नेछ । विद्यार्थीले घरमा आज यस्तो काम यति समय गरेको भनेर शिक्षकलाई जानकारी गराउनुपर्छ । सोही अनुसार शिक्षकले कुन विद्यार्थीले कति काम कति समयसम्म गरे भन्ने रेकर्ड राख्नुपर्ने हुन्छ ।

विद्यार्थीले शिक्षकलाई काम गरेको रेकर्ड राखेर मात्र हुँदैन । शिक्षकले अभिभावकसँग समन्वय पनि गर्नुपर्छ । विद्यार्थीले घरमा गरेको काम र कति समय गरेको पुष्टि भए पछि मात्र शिक्षकले मूल्यांकन गरी नम्बर दिने गरी पाठ्यक्रम विकास केन्द्रले तयारी गरिरहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठले जानकारी दिए ।

केन्द्रले मूल्यांकनको लागि पाठ्यक्रम परिमार्जनको खाका बनाउने तयारीका लागी जुटे पनि कुन कामको लागि कति नम्बर दिने कुराको टुंगो भने लागिसकेको छैन ।

यो व्यवस्था कति प्रभावकारी होला ?

लामो समयदेखि विद्यालय तहको शिक्षालाई गरिखाने शिक्षा बनाउनुपर्छ भन्ने बहस चल्दै आएको छ । यसै सन्दर्भलाई केन्द्रविन्दुमा राखेर पाठ्यक्रम विकास केन्द्रले नयाँ अभ्यासको थालनी गर्ने तयारीमा छ ।

केन्द्रले परिमार्जन गर्न लागेको पाठ्यक्रम अनुसार विद्यार्थीले घरमा काम गरेवापत पनि विद्यालयले नम्वर दिनेछ । पाठ्यक्रम विकास केन्द्र र शिक्षा मन्त्रालयको उक्त निर्णय सुन्दा सामान्य लागेता पनि कार्यान्वयनमा भने झन्झटिलो हुने पो होकी भन्ने उब्जिएको छ । यसरी विद्यार्थीको अभिभावक संग तपाईको छोराछोरीले काम गरे कि गरेनन् भनेर प्रश्न गर्दा नम्वर पाउछ भनेर नगरेको कामलाई पनि गरेको भन्ने सम्भावना धेरै हुन्छ ।

त्यसैले कसरी मापन गर्दा प्रभावकारी हुन्छ त्यसमा पनि पाठ्यक्रम विकास केन्द्रले ध्यान दिन आवश्यक छ । कक्षा ४ देखि ८ सम्म ५० नम्बरको आन्तरिक र ५० नम्बरको बाह्य परीक्षा हुन्छ । कक्षा ९ देखि १२ सम्म २५ को आन्तरिक र ७५ को बाह्य परीक्षा हुन्छ । आन्तरिक मूल्याङ्कनमा केही अंक छुट्टाएर घरको कामलाई नम्बर दिने गरी पाठ्क्रम विकास केन्द्रले तयारी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here