बालेन शैलीको अनुमोदन


२८ भाद्र २०८०, बिहीबार २१:३७ मा प्रकाशित

भदौ २८, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका रुपमा बालेन शाहले डेढ वर्षमा शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा राम्रो सुरुवात गरेका छन् । सँगै, खुलामञ्चमा भूमिगत पार्किङ बनाउने उनको घोषणा र फुटपाथ खाली गर्ने नाममा नगर प्रहरीबाट साना व्यापारीमाथि भएको दुर्व्यवहारको आलोचना पनि भइरहेको छ ।

Advertisement

तर उनको लोकप्रियता नेपालका अरु नेताको तुलना निकै माथि छ । कतिसम्म भने ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने अराजनीतिक र गैरजिम्मेवार अभिव्यक्तिमा समेत साथ दिनेहरु थुप्रै देखिए । बालेनको त्यही उक्लँदो ग्राफलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले पनि आवश्यक स्थान दिइरहेका छन् ।

अमेरिकाको प्रतिष्ठित म्यागजिन टाइमले बुधबार राति ‘टाइम्स १०० नेक्स्ट’ सार्वजनिक गरेको छ, जसमा बालेन पनि अटाएका छन् ।

बालेन अप्रत्यासित रुपमा काठमाडौंको मेयर निर्वाचित भएको भन्दै टाइमले भनेको छ, ‘२०१५ को विनाशकारी भूकम्पबाट भएको क्षतिसँग अहिले पनि जुधिरहेको शहरमा शाहले सरल तर निकै जरुरी अभियान थालेका छन् ।’ उनले शहरी विकाससँगै फोहोर व्यवस्थापन, सुरक्षित खानेपानी, सफा सडक र साँस्कृतिक सम्पदा संरक्षणमा काम गरिरहेको टाइमले उल्लेख गरेको छ ।

यसअघि मे २०२३ मा अमेरिकाको पत्रिका न्यूयोर्क टाइम्सले पनि बालेनको ‘रक स्टारदेखि काठमाडौंको मेयर यात्रा’ बारे समाचार लेखेको थियो । निकटवर्तीहरुका अनुसार टाइम म्यागजिनले विश्वकै उदीयमान १०० नेताको सूचीमा समावेश गरेपछि मेयर बालेनलाई धेरैले बधाई दिएका छन्, बालेन पनि खुसी छन् ।


‘यसले बालेनलाई अझ व्यापक रुपमा रुपमा काम गर्न सक्ने स्पेस छ भन्ने सन्देश दिएको छ’ बालेन निकटका एक व्यक्ति भन्छन्, ‘त्यो भन्दा ठूलो चाहिँ आममान्छेले हामीले पनि अन्तर्राष्ट्रिय स्तरमा रिकगनाइज हुने मान्छे ल्याउन सक्ने रहेछौं भनेर बुझे भने यो सूचीमा पर्नुको महत्व अझ बढ्नेछ ।’

नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा मेयर बालेनबाट भएका केही प्रयास नितान्त नौलो र अरु भन्दा फरक प्रकृतिको भएकाले टाइम म्यागजिनको ध्यान तान्न सफल भएको बताउँछन् । ‘उहाँले प्रस्तुत गरेको घोषणापत्र अरुको भन्दा अलि फरक थियो । अव्यवस्थित बसोबास व्यवस्थापन, पार्किङ समस्या सम्बोधन लगायत शहरी मामिलाका विषयमा उहाँको रुचीले ध्यान तानेको देखियो’, देवकोटा भन्छन्, ‘उहाँका एकाध कामहरु सफल नभए पनि सुरुवाती प्रयास राम्रो भएको देखियो ।’

बालेनका कामको लेखाजोखा

काठमाडौं महानगरको दाबी मान्ने हो भने वैशाख २०७९ को स्थानीय चुनावमा गैरदलीय उम्मेदवार रहेका बालेन मेयर भएपछि करिब १०० रोपनी सार्वजनिक सडक र जग्गासहित सम्पदा क्षेत्रमा भएका अतिक्रमण हटेको छ । नक्सा विपरीत र नक्सा पास नगरी बनेका संरचनाहरु हटाउने क्रम चलिरहेको छ ।

महानगरले निजी स्वास्थ्य संस्थाले कानुन अनुसार विपन्न वर्गलाई दिनुपर्ने १० प्रतिशत बेड निशुल्क दिएको वा नदिएको अनुगमनलाई तिब्रता दिएको छ । फिजिसियन डाक्टरसहित ९ जना स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरेर शहरी स्वास्थ्य केन्द्रलाई शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका रुपमा रुपान्तरण थालेका छन् । १० वटा वडामा सुरु भइसकेको र बाँकी वडामा हुन लागेको यो कामले वडास्तरका सर्वसाधारणलाई स्वास्थ्य सेवाको पहुँच सहज बनाउन सहयोग पुग्नेछ ।

सामुदायिक विद्यालयहरुमा शुक्रबार ‘बुक फ्रि डे’ सुरु गरिएको छ, जस अन्तर्गत हरेक शुक्रबार विभिन्न सीपयुक्त तालिमका कक्षा हुनेछ । शिक्षामा राजनीतिकरण रोक्ने, निजी शिक्षण संस्थाले दिने छात्रवृत्ति पद्धतिमा हस्तक्षेप गरी खुला प्रतिस्पर्धाबाट जेहेन्दार विद्यार्थी छनोटजस्ता कामले उनको प्रभाव देखिएको छ ।

राज्यको स्रोतसाधन नै प्रयोग नगरी सार्वजनिक शौचालयको व्यवस्थापन एउटा नौलो प्रयोग हो, जुन अपेक्षा गरेजस्तो सफल नभए पनि आम मानिसमा छाप परेको छ ।

काठमाडौंको धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक सम्पदाको संरक्षणलाई बालेनले प्राथमिकता दिएका छन् । शहरभित्र विरुवा रोप्ने अभियान चलाउन ‘हरियाली प्रवद्र्धन आयोजना’ सञ्चालन गरेका छन् । यसबाहेक शहरी सौन्दर्यीकरणका केही प्रयास, सार्वजनिक स्थानमा फोहोर फाल्नेमाथि भइरहेको कारवाही र खेलकुद क्षेत्र प्रवद्र्धनमा देखाएको रुचिलाई धेरैले मन पराएका छन् ।

नदी सभ्यतामाथि भएका अतिक्रमणमाथि उनी निर्मम देखिएका छन् । तर बिना तयारी र हचुवाका भरमा टुकुचा खोतल्ने अभियान चलाउँदा मुद्दा खेप्नेदेखि आलोचनामा पर्ने क्रम निरन्तर छ । विना तयारी र योजनाका साथ टुकुचा, बाग्मती, विष्णुमती, धोबीखोला, सामाखुसी लगायत खोला नदीको सार्वजनिक बहाब क्षेत्र खाली गर्ने उनको अभियान विवादमा छ ।

टुकुचा खोला खोतल्दै महानगरपालिकाको डोजर ।

संघर्षपूर्वक सडकमा सामान बेचेर जीविकोपार्जन गरिरहेका निम्न वर्गमाथि नगरप्रहरी अमानवीय रुपमा प्रस्तुत हुने गरेको छ । अझ बेलाबेला स्वयं बालेनको अभिव्यक्ति कानुन र संविधान भन्दा माथि आफूलाई राख्ने प्रवृत्तिका छन् ।

महानगर र यसको नेतृत्व गरेका मेयरको शैलीमा प्रश्न गर्ने ठाउँ भएपनि टाइमले सम्भावनाको विषयलाई महत्व दिएको हुन सक्ने नगरपालिका संघका कार्यकारी निर्देशक देवकोटा बताउँछन् । ‘कुनैपनि नवआगन्तुक नेताको संघर्ष र प्रयासलाई उसले हेरेको हो’, उनी भन्छन्, ‘सफल भइसकेको भन्दा पनि उदीयमान र अबका दिनमा केही गर्छ कि भन्ने आशायुक्त नेताको रुपमा टाइमले उहाँलाई चयन गरेको देखिन्छ ।’

कुनैपनि मुलुकको प्रशासनिक र आर्थिक राजधानीको मेयरले भोलि त्यो देश नै हाँक्ने सम्भावना राख्छ भन्ने मान्यता राखिन्छ । चीनको सांघाइ, अमेरिकाको न्यूयोर्क, फिलिपिन्सको मनिला त्यसका उदाहरण हुन् । जे जस्तो विधिबाट भएपनि संघीय राजधानी भएको महानगरको मेयर भएर केही आशा देखाएकाले टाइम म्यागजिनले बालेनलाई उदीयमान नेताका रुपमा छनोट गरेको हुनसक्ने नेपाल सरकारका एक पूर्व कर्मचारी बताउँछन् ।

उनका सामु कानुनको परिपालना, सौम्य र अराजनीतिक अभिव्यक्ति नियन्त्रणमार्फत् थप जिम्मेवार मेयरको रुपमा आफूलाई अझै परिमार्जित गर्नुपर्ने चुनौती भने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ पनि टाइम्स १०० नेक्स्टमा पर्नुले बालेन जनमानसलाई डोर्‍याउन सक्ने व्यक्तित्व हो भन्ने स्थापित गरेको बताउँछन् । तर स्थानीय सरकारको प्रमुख रहेका बालेन ठूलो जिम्मेवारीमा पनि बाँधिएको भन्दै उनले भनिन्, ‘त्यो जिम्मेवारीलाई सँगै लिएर जान सक्यो भने जुन जनविश्वास पाएको छ, त्यसको सदुपयोग हुनसक्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here