कसरी सम्भव भयो दक्षिण कोरियाको तीव्र आर्थिक विकास


२३ श्रावण २०८०, मंगलवार ०८:५१ मा प्रकाशित

एउटै देश विभाजित भएर फरक शासन प्रणाली स्थापित हुँदा आर्थिक विकासमा कति ठूलो भिन्नता आउने रहेछ भन्ने राम्रो उदाहरण उत्तर र दक्षिण कोरियाबाट लिन सकिन्छ । दक्षिण कोरिया भूमण्डलीकरण प्रक्रियामा सामेल छ भने उत्तर कोरियाले बन्द समाज र अर्थतन्त्रको नीति लिएको छ ।

Advertisement

विश्वमा तीव्र आर्थिक विकास भएका पछिल्ला देशको नाम लिँदा– सिंगापुर र दक्षिण कोरियाको नाम सबैभन्दा धेरै दोहोरिन्छ । सन् १९६० को दशकमा यी दुवै साना, गरिब र कमजोर देश मानिन्थे ।

तर, करिब ३ दशकभित्रै सन् १९९० तिर आइपुग्दा संसारका सर्वाधिक धनी देशभित्र गणना हुन थालेका थिए । सिंगापुरसँगै दक्षिण कोरियाको आर्थिक विकासलाई विश्व अर्थतन्त्रमा एक उल्लेखनीय सफलताको कथा मानिन्छ आज । सन् १९६० मा दक्षिण कोरियाको प्रतिव्यक्ति आए मात्र ७० डलर थियो । कृषि अर्थतन्त्र आधारित गरिब मुलुक मानिन्थ्यो । सन् १९९० मा ८,३५० डलर पुगेका थियो भने अहिले ५६,७०६ डलर छ ।

करिब १ लाख वर्गकिमी क्षेत्रफल र करिब ५ करोड मात्र जनसंख्या भएको दक्षिण कोरिया क्षेत्रफलमा १०७औं र जनसंख्यामा २८औैं ठूलो मुलुक हो । तर, एसियाको चौथो र विश्वकै एघारौै ठूलो अर्थतन्त्र हो । सिंगापुरको जस्तै दक्षिण कोरियाको उदाहरणले पनि के पुष्टि गर्दछ भने बलियो अर्थतन्त्र र समृद्ध देश हुन क्षेत्रफल र जनसंख्या ठूलो हुन जरुरी छैन।

दक्षिण कोरिया अहिले जी–२० राष्ट्रभित्र पर्दछ । अझ रोचक पक्ष दक्षिण कोरियासँग अमेरिका, रुस, चीन भारत बेलायतपछि करिब ६ लाखको विश्वको सातौं ठूलो सेना पनि छ।

कसरी गर्न सक्यो दक्षिण कोरियाले यति तीव्र तथा चामत्कारिक आर्थिक विकास ? यो नेपालका लागि पनि प्रेरणादायी प्रसंग हो । यस आलेखमा हामीले दक्षिण कोरियाको आर्थिक विकासको इतिहासलाई खोतल्ने प्रयत्न गरेका छौं ।

कोरिया युद्ध

सन् १९५०–२०५३ को कोरिया युद्धअघि कोरिया एउटै देश थियो । उत्तर र दक्षिण कोरियामा विभाजन भएको थिएन । सन् १९१० मा जापानी साम्राज्यले कोरियालाई अधिनस्थ गरेको थियो । दोस्रो विश्वमा जापानको आत्मसपर्मण र युद्धको अन्त्यपछि सन् १९४५ मा कोरिया जापानी साम्राज्यबाट मुक्त त भयो तर स्थीर हुन सकेन ।

दोस्रो विश्वयुद्धका विजयी शक्तिहरूबीच कोरियाको भविष्यलाई लिएर तनाव उत्पन्न भयो । उत्तरी क्षेत्रमा किम इल सुङ नेतृत्वको कोरियाली श्रमिक पार्टीको प्रभाव थियो भने दक्षिणी क्षेत्रमा अमेरिकी सेनाको प्रभाव थियो । कोरियाली श्रमिक पार्टीलाई सोभियत संघको समर्थन र सन् १९४९ को कम्युनिस्ट क्रान्तिपछिको चीनले पनि श्रमिक पार्टी र उसको नेतृत्वमा भएको जनसेनालाई सहयोग र समर्थन गर्‍यो ।

यो तनाव बढ्दै जाँदा सन् १९४८ मा दुईवटा फरक देश घोषणा भए । उत्तर कोरिया र दक्षिण कोरिया । सन् १९५० मा दुई देशबीच युद्ध भड्कियो । कोरिया युद्धको अन्त्य अहिले पनि भएको छैन । यो युद्ध कुनै विजय वा सम्झौतामा टुंगिएको हैन । सन् १९५३ को जुलाई २७ मा दुई देश भएको युद्ध विरामलाई दुवै देशले पालना गरेका मात्र हुन् । युद्धको अन्त्य, विजय वा सम्झौताविनै युद्धविरामको आधारमा दुई फरक देश बनेको र करिब ७० वर्षदेखि युद्धविराम कायम रहेको यो संसारकै अनौठो उदाहरण हो ।

कस्तो छ उत्तर कोरिया ?

दुई देश बन्नुअघि दुवै कोरियाको हालत झण्डै उस्तै थियो । तर, वितेका ७० वर्षमा दक्षिण कोरियाले तीव्र तथा चामत्कारिक आर्थिक विकास गर्दा उत्तर कोरियाले भने गर्न सकेन ।

उत्तर कोरिया क्षेत्रफलमा दक्षिण कोरियाभन्दा केही ठूलो छ । करिब १ लाख २० हजार वर्ग किमिको छ । तर, जनसंख्यामा भने सानो छ । उत्तर कोरियामा करिब २ करोड ६१ लाख मात्र जनसंख्या छ । यसको प्रतिव्यक्ति आय ६४० डलर मात्र छ । यो एकदलीय कम्युनिस्ट शासन भएको मुलुक हो । सोभियत संघ र चीनको समर्थनमा स्थापित भएको किम वंशको शासन यहाँ अहिले पनि कायम छ । किम–इल सुंगपछि उनका छोरा किम–इल जोङले शासन गरे भने सन् २०११ यता उनका नाति किम जोङ उनले शासन गरिरहेका छन् ।

एउटै देश विभाजित भएर फरक शासन प्रणाली स्थापित हुँदा आर्थिक विकासमा कति ठूलो भिन्नता आउने रहेछ भन्ने राम्रो उदाहरण उत्तर र दक्षिण कोरियाबाट लिन सकिन्छ । दक्षिण कोरिया भूमण्डलीकरण प्रक्रियामा सामेल छ भने उत्तर कोरियाले बन्द समाज र अर्थतन्त्रको नीति लिएको छ ।

पार्क चुङ हीको युग 

उत्तर कोरियाले एकदलीय कम्युनिस्ट प्रणाली अवलम्बन गर्दा दक्षिण कोरियाले प्रारम्भदेखि नै बहुदलीय लोकतान्त्रिक प्रणालीको बाटो हिँड्न खोजेको थियो । तर, सन् १९५३ को युद्ध विरामपछिको दक्षिण कोरिया राजनीतिक रूपमा निरन्तर अस्थिर रह्यो । यही अस्थीरताका बीच सैनिक जर्नेल पार्क चुङ हीले सन् १९६१ मे १६ को सैनिक ‘कु’ मार्फत् सत्ता हत्याए । यस सैनिक विद्रोहलाई पार्क चुङ हीले दोस्रो गणतन्त्रको अन्त्य र एक नयाँ क्रान्तिको संज्ञा दिएका थिए ।

उनले सैनिक शासकका रूपमा २ वर्ष मात्र शासन गरे । सन् १९६३ मा नयाँ चुनाव भयो र उनी राष्ट्रपति निर्वाचित भए । पार्क राष्ट्रपति निर्वाचित भएसँगै दक्षिण कोरिया तेस्रो गणतन्त्रमा प्रवेश गर्‍यो ।

पार्क योजनाबद्ध आर्थिक विकासका पक्षधर थिए । उनले योजनाबद्ध ढंगले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र संरक्षण दिने, औधोगिकीकरणलाई व्यापक बनाउने, भूमिको वर्गीकरण गर्ने, ठूला र आधारभूत पूर्वाधार विकास गर्ने, उत्पादन र निर्यातमुखी अर्थतन्त्रलाई जोड दिने, प्राविधिक शिक्षा र शासन-प्रशासनको प्रभावकारितामा जोड दिने नीति लिए । दक्षिण कोरियाको आर्थिक विकासमा पार्क चुङका यी नीतिहरूको निकै ठूलो प्रभाव परेको मानिन्छ ।

विश्व चर्चित तीन कम्पनी

दक्षिण कोरियाको आर्थिक विकासमा तीन ठूला कम्पनी सामसुङ, एलजी र हुन्डाईको ठूलो भूमिका छन् । सामसुङको स्थापना सन् १९६९ मा भएको थियो । एलजी सन् १९४७ मै स्थापित भइसकेको थियो भने हुन्डाई सन् १९६७ मा स्थापित भएको हो । यी कम्पनीले दक्षिण कोरियालाई इलेक्ट्रिोनिक सामान र मोटर कारको ठूलो निर्यात गर्ने देश बनाइदिए ।

यसका अतिरिक्त दक्षिण कोरियामा सयौं साना ठूलो कम्पनी बने, जसले रोजगार, निर्यात र वैदेशिक मुद्राको आर्जनको क्षेत्रमा ठूलो योगदान गरे । सन् १९६० पछि दक्षिण कोरियाको आर्थिक वृद्धिदर निरन्तर ८ प्रतिशतभन्दा माथि थियो । सन् १९६२ देखि सन् १९८९ को बीचमा अर्थतन्त्र ८० गुणाले विस्तार भएको थियो । औधोगिक क्षेत्रको वृद्धिदर १५ प्रतिशत थियो । सन् २०१९ मा दक्षिण कोरिया विश्वकै आठौं ठूलो निर्यात गर्ने राष्ट्र बन्यो ।

राजनीतिक स्थिरता, आर्थिक विकास र लोकतन्त्र

सैनिक ‘कु’ गरेर सत्तामा आए पनि पार्क चुङ हीले दुई वर्षभित्रै नयाँ चुनाव गराएर आफूलाई लोकतान्त्रिक शासकसिद्ध गर्न खोजे । पार्कको शासनकालका प्रारम्भिक वर्षमा उनी निकै लोकप्रिय थिए । सन् १९७५ पछि उनको लोकप्रियता घट्न थाल्यो । पार्कको उदय ‘तनाशाही’ र शासनशैली ‘नरम अधिनायकवादी’ थियो । उनको शासनकालका कयौं खराब पक्षहरू थिए तर राजनीतिक स्थिरता दिए र आर्थिक विकासको जग बसाले ।

दक्षिण कोरियाली उदाहरणको एक शिक्षा के हो भने आर्थिक विकासको जग बसाल्न राजनीतिक तथा नीतिगत स्थायित्व चाहिन्छ । साथै, शासन प्रशासन स्वच्छ र प्रभावकारी हुनुपर्दछ । राज्यले निजी क्षेत्रलाई उत्साहित गर्न र संरक्षण दिन आवश्यक पर्दछ । साथै, भूमण्डलीकरणको अवसरलाई उपयोग गर्न सक्ने प्रतिस्पर्धी निर्यातमुखी अर्थतन्त्र निर्माण गर्न सक्नुपर्दछ ।

तर, राजनीतिक स्थिरता र आर्थिक विकासले मात्र स्वतन्त्रता र लोकतन्त्रको महत्त्व कम हुँदैन भन्ने कुरा पार्क शासनको उत्तरार्द्धले पुष्टि गर्दछ । कोरियालीहरू आर्थिक रूपमा जति समृद्ध हुँदै गए, उति नै पार्कका विरोधी हुँदै गए । उनलाई लोकतन्त्रको विरोधीमा रूपमा चित्रण गर्दै विरोध र निन्दा गर्न थालियो । विपक्षी दल र विचारप्रति उनले कठोर नीति लिएका थिए, जसले गर्दा उनीप्रतिको विरोध पनि तीव्र र उग्र हुँदै गयो ।

उनको शासनकालको अन्तिम वर्ष सन् १९७९ मा आन्दोलन र विरोध प्रदर्शन उग्र हुँदै गयो । अक्टोबरको ६ दिन लामो राष्ट्रियव्यापी ठूला प्रदर्शनले कुनै न कुनै नयाँ राजनीतिक मोडको माग गरिरहेको थियो । यस्तो राजनीतिक संकटको अन्त्य कसरी हुन्छ कसैले अनुमान गर्न सकेको थिएन । सन् १९७९ अक्टोबर २९ मा जासुसी संस्थाका एक अधिकारी किम जाई ग्युले गोली हानी उनको हत्या गरिदिए । ग्युले उनलाई ‘लोकतन्त्र विरोधी भएको र देश गतिरोधमा पुग्दा पनि कुनै राजनीतिक निकास नदिएको’ आरोप लगाएका थिए ।

सन् १९९० पछि

सन् १९९० पछि विश्वभरि जस्तै उदारीकरणको प्रभाव दक्षिण कोरियामा पनि पर्‍यो । राज्यले अझ उदार र खुल्ला अर्थनीति लिन थाल्यो । राज्य संरक्षित उद्योग धन्दालाई प्रतिस्पर्धी बनाउँदै लगिए । वैदेशिक पुँजीको मात्रा पनि बढ्दै गयो । श्रम सघनता भएका उद्योगहरू पुँजी तथा प्रविधि सघन हुँदै गए । साना र मध्यम आकारका सहयोगी उद्योग र कम्पनीहरूको विस्तारमार्फत् रोजगार वृद्धि गर्ने नीति लिइयो ।

सन् १९९७ तिर दक्षिण कोरियाली अर्थतन्त्रमा वैदेशिक पुँजी पलायन तथा वैदेशिक मुद्रा संचितीको संकट पनि आएको थियो । यो संकटपछि दक्षिण कोरियालाई निरपेक्ष उदारीकरणका कतिपय पक्षलाई नियन्त्रण गर्न थालेको थियो।

सन् २००० यता दक्षिण कोरियाली अर्थतन्त्रको सबैभन्दा ठूलो चुनौती ‘प्रतिस्पर्धामा जीत’ हासिल गर्न पर्ने क्षमतालाई मान्न थालिएको छ । कुनै समयको विश्वको सबैभन्दा ठूलो निर्यातक राष्ट्र जापान आज कोरिया र चीनभन्दा पछाडि धकेलिएको छ भने युरोपेली र अमेरिकी बजारमा इलेक्ट्रिोनिक तथा उपभोक्ता वस्तुको प्रतिस्पर्धा चिनियाँ र कोरियाली कम्पनी र वस्तुहरूबीच भइरहेको छ ।

आठौं राष्ट्रपति किम दाइ जुङ उदारीकरण युगका प्रभावशाली नेतृत्व सावित भए । सन् १९९५–२००० को बीचमा दक्षिण कोरियाली आर्थिक वृद्धिदर करिब ११ प्रतिशतसम्म पुगेको थियो । तर, अमेरिकाको सेप्टेम्बर ११ को घटना र सन् २००८ को विश्व वित्तीय संकटका प्रभाव दक्षिण कोरियायाली अर्थतन्त्रमा पनि परे । सन् २०००–२०१० बीच विश्व बजारमा वस्तुको माग घटेको कारण दक्षिण कोरियाली निर्यात र उत्पादन पनि घटेको थियो र यसको असर आर्थिक वृद्धिदरमा पनि परेको थियो ।

दक्षिण कोरियाबाट नेपालजस्ता देशले सिक्नुपर्ने पाठ यो हो कि सानो भूगोल र जनसंख्या आकार भएर पनि आर्थिक गतिशीलताको राम्रो उपयोग गर्न सकियो भने देश र जनतालाई धनी र गौरवशाली बनाउन सकिन्छ ।

नेपाल दक्षिण कोरियाभन्दा भूगोलमा डेढ गुणा ठूलो छ । करिब ३ करोड जनसंख्यालाई पनि धेरै सानो मानिँदैन । तर, नेपाल दक्षिण कोरियाको छेउछाउमै छैन । यसको मुख्य कारण यहाँको रानजीतिक तथा प्रशासनिक नेतृत्व र शासनप्रणाली नै हो । निरन्तरको राजनीतिक अस्थिरताले नीतिगत स्थीरता र विश्वासनीयता हासिल हुन दिएको छैन । सुशासन र शासकीय प्रभावकारिताको उत्तिकै अभाव छ । औधोगिकीकरणलाई बाधा पार्ने गरी हामीले आर्थिक, मौद्रिक तथा भूमिनीति अख्तियार गर्दै आएका छौं । हाम्रा औधोगिक क्षेत्रहरू नाम मात्रका छन्।

कोरियाको कुल ग्रार्हस्थ उत्पादनमा औधोगिक क्षेत्रको योगदान ३५ प्रतिशत छ, नेपालमा १० प्रतिशत पनि छैन । ठीक कोरियाकै जस्तो औद्योगिक विकासको नीतिबाट नेपालले आर्थिक विकास गर्न सक्दछ भन्ने हैन, तर, राजनीतिक अस्थिरता, शासकीय प्रबन्धन क्षमता, सुशासन, साना तथा मध्यम उद्यमशीलताको विकासमार्फत् रोजगारीको अभिवृद्धि, प्राविधिक शिक्षामा जोड, भूमण्डलीकरण अवसरको उपयोग नेपालले दक्षिण कोरियाबाट सिक्न सक्ने कुरा हुन् ।

नेपाल भ्युजबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here