बेबी बुमर्स, मिलेनियल्स, जेन जी, जेन अल्फा पछिको अहिलेसम्मको कान्छो पुस्ता हुन्, जेन बेटा । यो पुस्ता युवा मिलेनियल्स र पाको जेन जीका सन्तान हुन् वा हुनेछन् ।
सन् २०२५ मा जन्मिने बच्चाको लागि जेन बेटा नाम दिइएको छ । जेन बेटा अहिलेको नयाँ पिंढी हो, जो नयाँ वर्षसँगै नामकरण गरिएको छ । सामाजिक अनुसन्धानकर्ताका अनुसार नयाँ पिंढीलाई यो नामकरण दिनु भनेको एक नयाँ अध्यायको सुरुवाती संकेत हो ।
जेन बेटा ती पिंढी हुन् जो प्रविधिको युगमा जन्मिए वा जन्म लिंदैछन् । यी बच्चा स्मार्टफोन, रोबोट र एआईबाट घेरिने छन् । यो विश्व तीव्र रूपमा परिवर्तन भइरहेको समय हो । जसको प्रमाण अब जन्मिने बच्चा हुनेछन् ।
अल्फा पछिका जेन बेटा
नयाँ पिंढी सन् २०२५ देखि २०३९ सम्म जन्मिने बच्चालाई जेन बेटा भनिनेछ । यसअघि सन् २०१० देखि २०२४ सम्म पैदा भएकालाई अल्फा भनियो । त्यसअघि सन् १९९७ देखि २०१२ सम्म जन्मिएकालाई जेन जेड । हरेक पुस्ता आफ्नो समयको सांस्कृतिक, प्राविधिक र आर्थिक अवस्थाले प्रभावित हुन्छ ।
यीमध्ये जेन बेटा डिजिटल संसारमा जन्मिने पुस्ता हो, जहाँ जलवायु समस्या र विश्वव्यापीकरणको प्रभाव अझ सशक्त हुनेछ । यो पुस्ता ‘डिजिटल नेटिभ’ हुनेछ, जसले जीवनका हरेक पक्ष प्रविधिसँगै जोडिनेछन् ।
यसरी दिइयो नाम
यी नाम दिने एक तरिका छ । जेन अल्फाबाट सुरु गरी ग्रीक वर्णमालाको अक्षर प्रयोग गरी यी पिंढीहरूको नाम राख्न सुरु भयो । यसरी नै जेन अल्फा र त्यसपछि जेन बेटाको नाम दिइयो । र, त्यसपछिको पिंढीलाई फरक नाम दिइनेछ ।
प्रविधिसँगै हुर्किनेछन् बेटा बच्चा
प्रविधि एकपछि अर्को तरक्की गरिरहेको बेला जन्मिएको जेन बेटा बच्चादेखि बुढेसकालसम्म स्मार्ट फोनबाट नै चल्छन् । पहिलेका बच्चा पढ्ने, लेख्ने र खेल खेल्ने गर्थे । अहिले यस्ता कुरा पनि प्रविधिका कारण छायाँमा परिरहेका हुन्छन् ।
अबका बालबालिकाले प्रविधिको प्रयोग व्यापक गर्नेछन्, जहाँ घर, विद्यालय र खेल सबैमा आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स र अटोनोमस सिस्टमको प्रयोग सामान्य हुनेछ ।

यस्तोमा अनुमान लगाउन सकिन्छ कि अबका बच्चा ठूलो भएर यस्तो विश्वमा रहन्छन् जहाँ गाडी आफैं चल्छ । स्वास्थ्यको ख्याल राख्ने विशेष खालको कपडा हुन्छ । शिक्षाको स्वरूप पूर्ण रूपमा डिजिटल हुनेछ।
भर्चुअल र वास्तविक शिक्षण वातावरण बीचको दूरी कम हुनेछ । प्राविधिक उपकरण, जस्तै स्मार्ट होम असिस्टेन्ट र अनलाइन प्लेटफर्म, बालबालिकाको सिकाइ अनुभवलाई सरल र व्यक्तिगत बनाउने छन् ।कम्प्युटरको सहाराले उनीहरू विश्व घुम्नेछन् । अर्थात्, सबै कुरा प्रविधिमै निर्भर रहने खालको जीवनस्तर हुनेछ ।
नयाँ हुनेछन् सिक्ने, सिकाउने र खेल्ने तरिका
म्याकक्रिन्डलका अनुसार जेन जी अल्फा स्मार्टफोन, कम्प्युटर र रोबोट जस्ता स्मार्ट डिभाइससँग हुर्किरहेका छन् । जेन बेटाहरूको लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन हरेक स्थानमा हुनेछ ।
जसरी मोबाइल फोन विना रहन सक्दैनौं त्यस्तै, भविष्यमा एआई र मेसिन हाम्रो जीवनको विशेष हिस्सा हुनेछ ।
यो नयाँ प्रविधि हाम्रो पढ्ने, काम गर्ने, खेल्ने र बिरामी हुँदा मद्दत गर्नेसम्मको काम गर्नेछ । धेरैजसो कामहरू स्वचालित हुनेछन् । जसले मानव श्रमको आवश्यकतालाई घटाउनेछ ।
साधारण सीपभन्दा विशिष्ट ज्ञान र सृजनात्मक क्षमताको माग बढ्नेछ ।
सहजसँगै चुनौती पनि
सन् २०२५ मा जन्मने बच्चाहरूले एक क्लिक गर्दा चाहेको कुरा पाउने स्थानमा हुन्छन् । उनीहरूसँग हरेक खालका प्रविधियुक्त मेसिनहरू हुन्छन् । जस्तो कि स्मार्टफोन, ल्यापटप र रोबोट ।
यी उपकरणले हरेक काम सहज पार्छन् । यसको साथै कैयौं चुनौतीको पनि सामना गर्नुपर्ने हुन सक्छ । जस्तो कि पृथ्वीको तापक्रम पहिलेको भन्दा बढ्दै जाने, शहरको बस्ती बढ्ने र प्राकृतिक सम्पत्ति नासिंदै जानेछ ।
विश्वभरमा जनसंख्याको चाप थेग्नै नसक्ने गरी बढ्नेछ । सामाजिक सञ्जालको अत्यधिक प्रयोग, प्रविधिमा निर्भरता र द्रुत गतिमा बदलिंदो संसारले मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्छ । यी समस्यासँग लड्न जेन बेटा सतर्क, होशियार र मिलनसार बन्नैपर्ने हुन्छ ।
यसको बाबजुद बदलिंदो परिवर्तनसँगै आफूलाई ढाल्न सिक्नुपर्ने हुन्छ । दोस्रोलाई मद्दत गर्न पनि सिक्नुपर्छ । भर्चुअल संसारको बढ्दो प्रभावले पारिवारिक र सामाजिक सम्बन्धको स्वरूप परिवर्तन गर्नेछ ।
जेन बेटाका लागि डिजिटल र वास्तविक सम्बन्धको सन्तुलन महत्वपूर्ण हुनेछ । जेन बेटासँग धेरै सुविधा हुनेछ । भैपरी आउने चुनौतीको सामना गर्न पनि तयार रहनै पर्छ ।
-एजेन्सीको सहयोगमा