माघ ६, काठमाडौं ।। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो चरणको युद्धविराम सफल नभए हमासविरुद्धको युद्ध पुनः सुरु गर्न आफ्नो देश तयार रहेको चेतावनी दिएका छन् ।
गाजा युद्धविराम र बन्धक रिहाई सम्झौताको कार्यान्वयनअघि शनिबार राति एक टेलिभिजन भाषणमा नेतान्याहुले युद्धविराम अस्थायी भएको र इजरायलले गाजामा फेरि आक्रमण गर्ने अधिकार राखेको बताए ।
नेतान्याहुले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प यसमा आफूसँगै रहेको पनि बताएका छन् ।
हमास नेता याह्या सिनवारको हत्याको सन्दर्भमा उनले विगत १५ महिनामा इजरायली सेनाको सफलताको चर्चा गरे ।
‘हामीले मध्यपूर्वको अवस्था परिवर्तन गरेका छौं । हमास अब पूर्णतया एक्लो छ,’ उनले दाबी गरे ।
नेतान्याहुले यसअघि हमासद्वारा रिहा गर्ने बन्धकहरूको सूची प्राप्त नगरेसम्म इजरायलले सम्झौता कार्यान्वयन नगर्ने बताएका थिए ।
‘इजरायलले सम्झौताको उल्लंघन सहने छैन,’ उनले थपे ।
हमासले रिहा गर्ने ३३ बन्धकहरूको सूची इजरायली मिडियाले यसअघि नै जारी गरिसकेको छ । तर अधिकारीहरूले भने यसको पुष्टि गरेका छैनन् ।
इजरायली अधिकारीहरूले आइतवार रिहा हुने तीनजना बन्धकको नाम अझै प्राप्त नभएको बताएका छन् ।
यता हमासले बुधबार युद्धविराम सम्झौता घोषणा गरेपछि इजरायली हवाई आक्रमणमा १२० जनाको ज्यान गएको बताएको छ ।
सहमतिअनुसार आगामी केही हप्तामा इजरायलले ३३ इजरायली बन्धकहरूको सट्टामा १ हजार ८९० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ ।
युद्धविराम तीन चरणमा लागू हुनेछ बीबीसको समाचारमा उल्लेख छ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासद्वारा बन्धक बनाएका इजरायलीहरूलाई रिहा गरिनेछ ।
त्यसपछि इजरायली सेना विस्तारै गाजाबाट हट्नेछ र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ ।
इजरायल र हमासबीचको युद्धविराम सम्झौता स्थानीय समयअनुसार आज (आइतबार) बिहान ८ बजेदेखि लागू हुनेछ ।