माघ १, झापा ।। गोर्खा मेमोरियल फण्ड युकेका अध्यक्ष सहितको टोलीलाई आज एक कार्यक्रमकाबिच एमिटी पब्लीक स्कुलले स्वागत सम्मान गरेको छ ।
मेचीनगर ६ काँकरभिट्टाको बर्मेली टोलमा रहेको स्कूलले गोर्खा मेमोरियल फण्ड युकेका अध्यक्ष धनकिरण गुरुङ, फण्डका कार्यक्रम संयोजक तथा फोक्सटन सिटीका वाणिज्य अध्यक्ष रे जनसन, गोर्खा मेमोरियल फाउण्डेसन नेपालका अध्यक्ष गंगालाल गुरुङ लगायतको टोलीलाई स्कूलमा स्वागत गरेको हो ।
स्कूलका फाउण्डर प्रिन्सिपल सुवर्ण भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्याथीहरुले पानी सुद्धिकरण, पीएच जाँच, लार्भा जाँच गर्ने तरिकाको प्रयोगात्मक प्रस्तुती गरेको थिए । कार्यक्रममा ड्युक अफ इडनबर्ग इन्टरनेसनल एवार्डका बारेमा स्कुल क्याप्टेन जेनिस भट्टराईले जानकारी गराएका थिए । त्यसै गरी एमिटी प्रकृति क्लबका तर्फबाट अध्यक्ष सौजल ओझाले र एवार्डले विद्यार्थीमा पारेको सकरात्मक प्रभावबारे स्कुल भाइस क्याप्टेन प्रनिसा लामाले जानकारी गराएकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि गोर्खा मेमोरियल फण्ड युकेका अध्यक्ष धनकिरण गुरुङले विद्यालयलाई आफले सकेको सहयोग गर्ने बताउनु भयो । मेचीनगरका विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने आफ्नो लक्ष्य रहेको बताउँदै अध्यक्ष गुरुङले एमिटी पब्लीक स्कूलसँग सहकार्य गर्न सकिने बताउनु भयो । सोहि कार्यक्रममा फण्डका सहयोगी तथा कार्यक्रम संयोजक रे जनसनले विद्यालयको प्रगति देखेर खुसी लागेको बताउनु भयो । कार्यक्रममा गोर्खा मेमोरियल फाउण्डेसन नेपालका अध्यक्ष गंगालाल गुरुङले विद्यालयले धेरै अप्ठेराहरु पार गर्दै आएको र अब विस्तारै सक्षम बन्दै गएको बताउनु भयो ।
विद्यालयले सञ्चालन गरेका कार्यक्रम र अवस्थाका बारेमा प्रिन्सिपल सुवर्ण भट्टराईले प्रष्ट पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षिका सिता अधिकारीले गर्नु भएको थियो ।